नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा खगराज भट्टको पुनरागमन भएपछि १५ महिनाभन्दा लामो समयदेखि जारी विवादले समाधान भेटेको छ।
अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सहित केन्द्रीय पदाधिकारीहरूको दलको बिहीबारको बैठकले मानबहादुर धामीलाई हटाएर भट्टलाई फेरि दलको नेता बनाएको हो।
माओवादी नेताहरूले स्थायी कमिटी सदस्यसमेत रहेका भट्ट दलको नेता भएपछि लामो विवाद अन्त्य भएको दाबी गरिरहेका छन्।
यद्यपि २०८० माघ १२ मा भट्टलाई हटाएर धामीलाई दलको नेता बनाउन लागेका माओवादी सांसदहरूले भने विवाद ‘तत्कालका लागि साम्य भएको’ प्रतिक्रिया दिएका छन्।
‘कमरेड प्रचण्डको विशेष उपस्थितिमा खगराज भट्टलाई दल नेतामा पुनःस्थापना गर्ने निर्णय हिजो डडेलधुरा बैठकबाट भएको छ,’ सुदूरपश्चिम प्रदेशका माओवादी सांसद अक्कलबहादुर रावलले भने, ‘विवाद तत्कालका लागि समाधान भएको छ। पार्टी केन्द्रको सर्कुलर कार्यान्वयन भएको छ।’
अछामका माओवादी सांसद रावल यसअघि मानबहादुर धामीलाई दलको नेता बनाउन पहल गर्नेमध्येका एक हुन्। उनले ‘तत्कालका लागि’ विवाद समाधान भएको बताएर समस्या फेरि बल्झिन सक्ने संकेत गरेका छन्।
शुक्रबार सुरू भएको मध्यपहाडी लोकमार्गकेन्द्रित अभियानमा आफूहरू व्यस्त रहेको भन्दै रावलले यसबारे थप कुरा गर्न चाहेनन्।
तर सुदूरपश्चिमबाटै पार्टी केन्द्रमा प्रतिनिधित्व गर्ने केही नेताले भने पछिल्लो निर्णयले सुदूरको संसदीय दलमा कायम रहेको विवादको आगोमा घिउ थप्ने काम गरेको प्रतिक्रिया दिएका छन्।
प्रदेश संसदीय दलको विवाद बढाउन पार्टी केन्द्र र भट्ट स्वयंम भूमिका निर्वाह गरेका कारण यो समस्या पेचिलो बनेको नेताहरू बताउँछन्।
माओवादी केन्द्रका एक जना केन्द्रीय सदस्यले दिएको जानकारी अनुसार २०८० माघ ११ मा हुन लागेको राष्ट्रिय सभा चुनावको मुखैमा सुदूरपश्चिम संसदीय दलभित्र भाँडभैलो सुरू भइसकेको थियो।
‘११ जना सांसद भएको दलभित्र बहुमत सांसदले दलको नेता फेरेको माइन्युट नै गरिसकेका थिए,’ ती केन्द्रीय सदस्यले भने, ‘चुनाव नै प्रभावित हुने स्थिति भएपछि त्यो निर्णय सार्वजनिक हुनबाट रोकियो। ११ मा चुनाव सकियो, १२ गते निर्णय बाहिरियो। खासमा त्यो पहिल्यै निर्णय भइसकेको थियो।’
प्रदेश संसदीय दलले आफूलाई दलको नेताबाट हटाएर मानबहादुर धामीलाई सो जिम्मा दिएपछि स्थायी कमिटी सदस्यसमेत रहेका पार्टी प्रदेश इञ्चार्ज भट्ट नयाँ अफर लिएर काठमाडौं गएको सुदूरका नेताहरू बताउँछन्।
‘उहाँ त्यसबेला लेखराज भट्टले गर्दै आएको पावर एक्सरसाइज गर्ने ठाउँमा हुनुहुन्थ्यो, दलको नेता, इन्चार्ज पनि आफै हुनुहुन्थ्यो,’ ती केन्द्रीय सदस्यले थपे, ‘विवाद बढेपछि दलले नेताको पद खोस्यो, इञ्चार्ज चाहिँ उहाँ आफैले केन्द्रलाई बुझाउनुभयो।’
आफू इन्चार्ज त्याग्न तयार रहेको तर दलको नेतामा कसैगरी पुनःस्थापित गर्नुपर्ने भट्टको प्रस्तावपछि कुरा बिग्रेको ती नेताको भनाइ छ।
‘उहाँको त्यो कमजोरीले बिना मगर सहइन्चार्ज बन्न पुग्नुभयो, त्यसपछि सुदूरमा असन्तोष चुलियो, सिनियरहरू रुष्ट भए’, उनले भने, ‘पछिल्लो पटक सहइन्चार्जहरू सबै हटाउने निर्णयको मुख्य कारण पनि सुदूरको यही विवाद थियो।’
त्यसबेलासम्म उपमहासचिव जनार्दन शर्मानिकट मानिने भट्टले इञ्चार्ज पद आफै केन्द्रमा बुझाएपछि वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ समूहले उनलाई साथ दिएको चर्चा माओवादीभित्र छ।
दलको नेतामा पुनःस्थापित गरिदिने श्रेष्ठ समूहको वचन र पहल अनि जनार्दन शर्माहरूले पनि भट्टकै पक्ष लिएपछि प्रचण्डले सुदूरपश्चिम दललाई दुई पटकसम्म नेता फेर्न निर्देशन दिएका थिए।
यद्यपि उनको निर्देशन कार्यान्वयन हुन आलटाल भइरहेका बेला बिहीबार वरिष्ठ उपाध्यक्ष श्रेष्ठ, उपाध्यक्ष अग्नि सापकोटा, महासचिव देव गुरुङसहित बैठकमा प्रचण्ड पनि सहभागी भएर धामीलाई हटाउँदै भट्टलाई पुरानै पदमा पदासिन गराएका थिए।
बिहीबारको बैठकपछि दलको नेता पद गुमाएका मानबहादुर धामीले सार्वजनिक रुपमा यसबारे कुनै प्रतिक्रिया दिएका छैनन्।
२०८० माघ १२ मा भट्टलाई हटाएर धामीलाई दल नेता बनाउने निर्णयलाई पार्टी स्थायी कमिटीले अनुमोदन गरेको भन्दै धामी निकट एक सांसदले स्थायी कमिटीको निर्णय अध्यक्ष एक्लैले उल्ट्याउन नसक्ने बताए।
उनको या अभिव्यक्तिले पनि सुदुरपश्चिम माओवादीमा विवाद अन्त्य भएको भन्ने दाबीलाई चुनौती दिन्छ।
‘खगराजलाई संसदीय दलको नेताबाट हटाउने प्रदेशका बहुमत सांसदको निर्णयलाई यसअघि पार्टी स्थायी कमिटीले अनुमोदन गरेर सर्कुलर नै पठाइसकेको थियो,’ ती सांसदको भनाइ छ, ‘पछि स्थायी कमिटीको त्यो सर्कुलर उल्ट्याउन हेडक्वाटरबाट दुईपटक अर्को सर्कुलर आयो। स्थायी कमिटीको सर्कुलर अध्यक्ष एक्लैको सर्कुलरले उल्ट्याउन सक्छ?’
ती सांसदले स्थायी कमिटीको निर्णय कि स्थायी कमिटी कि केन्द्रीय समितिले मात्रै उल्ट्याउन सक्छ। २०७९ को चुनावपछि दलको नेता बनेका भट्टले जिम्मेवारी अनुसार प्रभावकारी काम गर्न नसकेको, मुख्यमन्त्री दाबी गरिरहेको दलको नेता बिना विभागीय मन्त्री बन्न दौडेको, दलभित्र समन्वय नगरेको जस्ता आरोप लगाउँदै बहुमत सांसदहरुले उनलाई नेताबाट हटाएका थिए।
उनलाई दलको नेताबाट हटाउन अध्यक्ष प्रचण्डले इशारा दिएको नेताहरु बताउँछन्।
‘स्थायी कमिटी सदस्य, पार्टी प्रदेश इन्चार्जलाई हेडक्वाटरको इसारा बिना हटाउन कसरी सम्भव हुन्छ’, ती नेताको भनाइ छ, ‘पछि त्यही कुराले ठूलो विवाद हुने भएपछि प्रचण्डले भट्टलाई पुनःस्थापित गरेका हुन्। यो विवाद जुनसुकै बेला बल्झिनसक्छ।’
केही समयअघि मात्रै सुदूरपश्चिमका सभामुख भीमबहादुर भण्डारीले अध्यक्ष प्रचण्डलाई भेटेर दलको नेता फेरेको फेर्यै गर्न नहुने बताएका थिए।
‘उहाँले आवश्यक परे सभामुखबाट राजीनामा दिएर भए पनि धामीलाई दलको नेता बनाउन पहल गर्नसक्छु भनेर अध्यक्षलाई भन्नुभएको छ’, धामीनिकट ती सांसदले भने, ‘सभामुख बनाउने बेलामा दल नेताका रुपमा भट्टले उहाँलाई जिताउन भूमिका नै गर्नुभएन। त्यो तिक्तता अझै घटेको छैन। त्यही जानकारी अध्यक्षलाई दिनुभएको हो।’
सुदूरका माओवादी नेता र सांसदहरूको यस्ता भनाइले त्यहाँको विवाद अन्त्य भएको होइन, तत्कालका लागि स्थगन मात्रै भएको प्रष्ट देखाउने नेताहरू बताउँछन्।
माओवादी संसदीय दलभित्रको गणित पनि रोचक छ। जतिबेला भट्टलाई हटाएर धामीलाई नेता बनाइँदै थियो त्यसबेला ६ जना एकातिर र ४ जना अर्कातिर थिए। अहिले अवस्था फेरिएर ५–५ जनाको भएको छ।
‘यस्तोमा आफू निर्णायक हुने सभामुखको भनाइ छ, त्यसैले उहाँले केन्द्रमा त्यस्तो जानकारी पठाउनुभएको हो,’ ती नेताले भने।