गत चैत १६ गते नागरिक उन्मुक्ति पार्टी (नाउपा) सुदूरपश्चिम प्रदेशका सांसद लक्ष्मणकिशोर चौधरीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीबाट राजीनामा दिएका थिए।
घुस मागेको अडिओ बाहिरिएपछि उनी विवादमा परेका थिए। त्यसपछि उनले पदबाट राजीनामा दिए।
उनले राजीनामा दिएको डेढ महिना बितिसक्दा पनि नाउपाले पार्टीबाट अर्को मन्त्री पठाउन सकेको छैन।
बरू मन्त्री कसलाई तोक्ने भनेर पार्टीभित्र रडाको मच्चिएको एक सांसदले जानकारी दिए।
उनका अनुसार मन्त्री पठाउन शुक्रबार दिउँसो २ बजेलाई नाउपा सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक बोलाइएको छ। त्यस बैठकले मन्त्री कसलाई बनाउने भनेर तय गर्नेछ।
ती सांसदका अनुसार पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले कैलाश चौधरीलाई मन्त्री बनाउन निर्देशन दिइसकेकी छन्। गत वैशाख ३० गते प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीलाई पत्रमार्फत् निर्देशन दिँदै उनले कैलाशलाई मन्त्री बनाउन भनेकी थिइन्।
प्रदेश संसदीय दलले मन्त्री तोक्न केन्द्रसमक्ष आग्रह गरेकाले सोहीअनुसार निर्देशन दिएको उनले बताएकी थिइन्।
‘उपर्युक्त सम्बन्धमा नागरिक उन्मुक्ति पार्टी संसदीय दलको कार्यालय धनगढी कैलालीको पत्रानुसार तहाँको निर्णय बमोजिम सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्री सिफारिसका लागि केन्द्रबाट आधिकारिक पत्र पठाइदिने अनुरोध भइआए बमोजिम सुदूरपश्चिम प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रीमा कैलाली निर्वाचन क्षेत्र नम्बर १ (१) बाट निर्वाचित प्रदेश सभा सदस्य कैलाश चौधरीलाई पार्टीको निर्देशन बमोजिम कामकाज गर्न भनी सिफारिस गरिएको जानकारी गराउँदछु,’ अध्यक्ष श्रेष्ठले पठाएको पत्रमा भनिएको थियो।
रञ्जिताले पत्र पठाएपछि पार्टी संरक्षक रेशम चौधरी पक्षधर सांसदहरूले विरोध जनाएका छन्।
केन्द्रलाई प्रदेशको मन्त्री तोक्ने, त्यसबारे निर्णय गर्ने अधिकार नरहेको भन्दै उनीहरूले विरोध गरेका हुन्। पार्टी संरक्षक रेशम पक्षले घनश्याम चौधरीलाई मन्त्री बनाउन चाहेको छ।
‘प्रदेश संसदीय दल स्वायत्त निकाय हो। मन्त्री कसलाई पठाउने भनेर यहाँकै संसदीय दलले निर्णय गर्छ,’ सांसद खुशीराम चौधरीले सेतोपाटीसँग भने, ‘अहिले २ बजे संसदीय दलको बैठक बस्दैछौं। त्यसपछि नाम पठाउँछौं।’
पार्टीको विधान, स्थापित अभ्यासले पनि केन्द्रबाट मन्त्री तोक्न नभन्ने हुँदा संसदीय दलले नै यसबारे निर्णय लिने बताउँदै उनले अध्यक्ष रञ्जिताले पठाएको पत्र कार्यान्वयन नहुने संकेत गरे।
मन्त्रीबाट राजीनामा दिएका लक्ष्मणकिशोर चौधरीले आफूले मार्ग प्रशस्त गरे पनि दलले मन्त्री तोक्न नसकेको बताए।
‘मैले मार्ग प्रशस्त गरिदिएँ। दलले मन्त्री पठाउनुपर्ने हो। अहिलेसम्म निर्णय गर्न सक्नुभएको छैन,’ उनले भने।
सुदूरपश्चिममा नाउपाका सात सांसद छन्। त्यहाँ पार्टी संरक्षक रेशम पक्षकै बहुमत रहेको सांसदहरू बताउँछन्।