सिके राउत नेतृत्वको जनमत पार्टीकी लुम्बिनी प्रदेश सभा सदस्य गीता गुरूङले पदबाट राजीनामा दिएकी छन्।
उनले मंगलबार प्रदेश सभा सदस्य पदबाट राजीनामा गरेको उल्लेख गर्दै सभामुख तुलाराम घर्ती मगरलाई पत्र लेखेकी छन्।
उक्त पत्र सभामुखकहाँ पुगिसकेको छैन। तर सामाजिक सञ्जालतिर उनले दिएको राजीनामा पत्रको चर्चा छ।
राजीनामाबारे सोध्न खोज्दा सांसद गुरूङसँग सम्पर्क हुन सकेन, उनको फोन अफ छ।
गुरूङ जनमत पार्टीकी समानुपातिक सांसद हुन्।
सांसद गुरूङले सभामुख तुलाराम घर्तीमगरलाई पठाएको पत्रमा जनताले तिरेको करबाट पाउने पारिश्रमिक लिन उपयुक्त छैन भन्ने लागेर राजीनामा दिएको उल्लेख छ।
सभामुख घर्तीमगरले भने सांसद गुरूङले राजीनामा दिएकोबारे आफूलाई कुनै पत्र प्राप्त नभएको बताए।
प्रदेश सभा सचिवालयका सचिव दुर्लवकुमार पुनले पनि सांसद गुरूङको राजीनामा पत्र सचिवालयमा प्राप्त नभएको बताए।
तर सांसद गुरूङले आफ्नो लेटरप्याडमा लेखेको हस्तलिखित राजीनामा पत्र सार्वजनिक भएको छ।
उनले लेखेको राजीनामा पत्रमा राष्ट्र देश जनताभन्दा माथि कोही नहुने भएकोले प्रदेश सांसद पदबाट राजीनामा दिएको उल्लेख छ।
जनमत पार्टीका लुम्बिनी प्रदेशसभा संसदीय दलका नेता चन्द्रकेश गुप्ता (सिके) ले सांसद गुरूङले राजीनामा दिएकोबारे आफूलाई जानकारी नगराएको बताए।
‘उहाँले राजीनामाबारे पार्टीलाई जानकारी गराउनुभएको छैन, मैले पनि समाचार र पत्रकारहरूबाट थाहा पाउँदैछु,’ उनले भने।
गुप्ताले सांसद गुरूङ निक्रिय रहेको बताए।
‘पार्टीमा र संसदमा पनि उहाँ निक्रिय हुनुहुन्छ, बैठकमा बोलाए पनि आउनु हुन्न, फोन पनि श्रीमानलाई उठाउन दिनुहुन्छ,’ उनले भने, ‘पार्टी र जनताप्रति सम्पर्कमा नरहे मान्छे जनप्रतिनिधि चाहिँ कसरी बनिराख्नु हुन्छ र!’
सांसद गुरूङका श्रीमान कैलाश गुरूङ केही समय पहिले जनमत पार्टी परित्याग गरी जसपा प्रवेश गरेका थिए।
त्यसैले उनी पनि जसपा प्रवेशका लागि सांसदबाट राजीनामा दिएको हुन सक्ने चर्चा भइरहेको छ। ‘उहाँले पार्टी पनि छोड्दै हुनुहुन्छ होला,` संसदीय दल नेता गुप्ताले सेतोपाटीसँग भने।
पार्टीले भने गुरूङलाई राजीनामा दिन नभनेको उनको दाबी छ।
‘हामीले सांसद पदबाट राजीनामा दिनु भनेर चाहिँ उहाँलाई भनेका थिएनौं, पार्टीको दबाबले होइन उहाँले राजीखुसी नै राजीनामा दिनुभएको होला,’ उनले भने।
