जम्मू–कश्मिरको पहलगाममा भएको आतंकवादी आक्रमणको जबाफ भारतले बुधबार बिहानै पाकिस्तानमाथि हवाई आक्रमण गरेर दिएको छ।
यो घटनाले आणविक हतियार भएका दुई छिमेकी राष्ट्रबीच 'पूर्ण' युद्ध हुने खतरा बढाएको छ।
पहलगामको पर्यटकीय क्षेत्रमा अप्रिल २२ को दिन आतंककारी हमला हुँदा बुटवलका सुदीप न्यौपानेसहित २६ जनाको मृत्यु भएको थियो।
त्यसलगत्तै भारत र पाकिस्तानले एकअर्कालाई उडानमा प्रतिबन्ध लगाए। एक देशका नागरिकलाई अर्को देश आउजाउ गर्न र आयात-निर्यातमा रोक लगाए। भारतले नदीको पानी बाँडफाँट सन्धि निलम्बन गर्दै सीमापार जाने पानीको प्रवाह रोक्यो। त्यही क्रममा भारतको सैनिक अभ्यास, पाकिस्तानको मिसाइल परीक्षण हुँदै बुधबार भारतको जबाफी हमला भएको हो।
भारतीय विदेश सचिव विक्रम मिस्रीले प्रेस ब्रिफिङमा आतंकवादको जबाफ दिन पाउने अधिकारअनुसार पाकिस्तानभित्र प्रहार गरेको बताएका छन्।
'अपरेसन सिन्दुर' नाम दिइएको यो सैन्य कारबाही भारतीय समयअनुसार बिहान १:०५ देखि साढे १ बजेसम्म चलेको भारतले जनाएको छ।
पहलगामको आतंकवादी हमलामा भर्खर बिहे गरेर श्रीमतीसहित 'हनिमुन' मनाउन गएका भारतीय नौसेनाका एक अधिकृतको मृत्यु भएको थियो। ती अधिकृतकी नवदुलही र अरू मृतकका श्रीमतीको गुमेको सिन्दुरको सम्मानमा 'अपरेसन सिन्दुर' नाम दिइएको मानिन्छ।
प्रेस ब्रिफिङमा दुई महिला सैनिक अधिकारी — लेफ्टिनेन्ट कर्नल सोफिया कुरेशी र वायुसेनाकी विङ कमान्डर व्योमिका सिंहले सैन्य कारबाहीबारे जानकारी दिएका थिए। सोफियाले हिन्दीमा र व्योमिकाले अंग्रेजीमा बोलेकी थिइन्।
भारतले 'अपरेसन सिन्दुर' नाममा थप जोड दिन पनि महिला अधिकारी अघि सारेको हुनसक्छ।
पहलगामका आक्रमणकारीले धर्म सोधेर गैर–मुसलमानहरूलाई मारेका थिए। त्यसैको जबाफ दिन मुस्लिम महिला अधिकृतलाई प्रेस ब्रिफिङमा छानिएको हो। यसबाट भारतले धार्मिक सहिष्णुताको सन्देश दिन खोजेको देखिन्छ।
प्रेस ब्रिफिङमा पाकिस्तान-नियन्त्रित कश्मिरका पाँच र पाकिस्तानका चार स्थानमा आक्रमण गरेको भारतले पुष्टि गरेको छ। विस्फोटको भिडिओ फुटेज पनि सार्वजनिक गरिएको थियो।
हमला गरिएका पाकिस्तानी स्थानमा पन्जाब प्रान्तका बहावलपुर, मुरिद्के र शियालकोट पर्छन्।
भारतले मसूद अजहर नेतृत्वको अतिवादी समूह 'जैश-ए-मोहम्मद' को बहावलपुरस्थित शिविरमा हमला गरेको जनाएको छ। सन् १९९९ डिसेम्बरमा काठमाडौंबाट दिल्ली उडेको इन्डियन एयरलाइन्सको 'आइसी-८१४' जहाज अपहरण हुँदा भारतले तीन जना आतंकवादी रिहा गरेकोमा मसूद अजहर एक थिए।
मसूदले बुधबार बिहानको भारतीय हमलामा आफ्नो परिवारका सदस्य र सहयोगीहरू मारिएको बताएका छन्। (हेर्नुहोस्: काठमाडौंबाट अपहृत 'आइसी–८१४' सँग जोडिएका मसूद अजहर र आज भारतले पाकिस्तानमा गरेको हमलाको कनेक्सन)
त्यस्तै, मुरिद्केमा रहेको हफिज सइद नेतृत्वको 'लश्कर-ए-तइबा' को शिविरमा पनि हमला गरेको भारतले जनाएको छ। पहलगाम हमलाको जिम्मेवारी लिएर पछि फिर्ता भएको 'रेजिस्टेन्ट फ्रन्ट' (आरटिएफ) समूह 'लश्कर-ए-तइबा' कै अंग भएको भारतीय पक्षको दाबी छ।
भारतले पाकिस्तानी सेना र सर्वसाधारण कसैलाई निशाना नबनाई 'आतंकवादीले प्रयोग गर्ने संरचना' मा मात्र प्रहार गरेको जनाएको छ। भारतीय भूमिबाटै अचुक निशानायुक्त हतियार हानिएको उसको भनाइ छ। कति हताहत भए र आफ्नो सेनातर्फ कति क्षति भयो भनेर केही जानकारी दिएको छैन।
पाकिस्तानले भने मस्जिद लगायत स्थानमा सर्वसाधारणमाथि प्रहार गरिएको आरोप लगाएको छ। महिला र बालबालिकासहित घटीमा २६ जनाको मृत्यु भएको उसको दाबी छ। भारतका पाँचवटा फाइटर जेट खसालेको दाबी पनि पाकिस्तानले गरेको छ।
विमान खसालेको पाकिस्तानी दाबीबारे भारतले प्रतिक्रिया दिएको छैन। स्वतन्त्र पुष्टि हुन बाँकी छ। पुष्टि भयो भने, भारतीय सेनाका लागि दशकौंपछिको सबभन्दा ठूलो क्षति हुनेछ।
एक भारतीय अधिकारीले तीन विमान दुर्घटना भएको पुष्टि गरेको तर त्यसको कारण प्रस्ट नभएको जनाए भनेर 'द न्यूयोर्क टाइम्स' ले लेखेको छ। दुई अरू भारतीय सुरक्षा अधिकारीले पनि केही लडाकू विमान खसालिएको भनेको तर विस्तृत केही नभनेको भनेर टाइम्सले उल्लेख गरेको छ।
भारतीय आक्रमणपछि दुई पक्षबीच गोली हानाहानका खबर आइरहेका छन्। धेरै ठाउँमा आक्रमण-प्रत्याक्रमण भइरहेको बताइन्छ।
हवाई आक्रमणपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलले अमेरिकी विदेशमन्त्री मार्को रूबिओलाई फोन गरेर ब्रिफिङ गरेका थिए। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले माइक वाल्जलाई हटाएपछि रूबिओले राष्ट्रिय सुरक्षा सल्लाहकारको जिम्मेवारी पनि सम्हालेका छन्। रूबिओसँग पाकिस्तानी राष्ट्रिय सुरक्षा सल्लाहकार जनरल मोहम्मद असिम मलिकले पनि कुरा गरेका छन्।
भारतले अमेरिकासँगै बेलायत, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स र रूसलाई पनि बुधबारको हमलाबारे ब्रिफिड गरेको छ।
यसबीच संयुक्त राष्ट्रसंघ, अमेरिका, चीन, रूस, फ्रान्स लगायत धेरै देशले भारत र पाकिस्तान दुवैलाई संयम अपनाउन आग्रह गरेका छन्। युद्ध नभएका बेला भारतले पाकिस्तानमाथि गरेको सबभन्दा ठूलो हमला भएकाले 'पूर्ण' युद्ध सुरू हुनसक्ने खतरा महसुस गरेर उनीहरूले यस्तो आग्रह गरेका हुन्।
यसअघि सन् २०१६ मा कश्मिरको उरीस्थित सैनिक क्याम्पमा भएको आतंकवादी हमलामा १९ जना भारतीय सैनिकको ज्यान गएपछि भारतले 'सर्जिकल स्ट्राइक' भन्दै पाकिस्तान-नियन्त्रित कश्मिरमा रहेका आतंकवादी शिविरमा प्रहार गरेको थियो।
त्यस्तै, २०१९ मा पुलवामामा भएको आतंकवादी हमलामा ४० जना भारतीय अर्धसैनिकको ज्यान गएपछि भारतले बालाकोटमा हमला गरेको थियो। बालाकोट पाकिस्तान-नियन्त्रित कश्मिरभन्दा बाहिर पर्छ। यो खैबर पख्तुनख्वा प्रान्तको दुर्गम क्षेत्रमा पर्छ।
यसपटक भारतले पाकिस्तानको मुटु मानिने पन्जाब प्रान्तका चार ठाउँमा हमला गरेको छ। त्यसबाहेक पाकिस्तान-नियन्त्रित कश्मिरका पाँच ठाउँमा प्रहार गरिएको छ। पाकिस्तानले पनि २४ वटा भारतीय हतियार प्रहार गरिएको पुष्टि गरेको छ। यो हमलापछि पाकिस्तानले पन्जाब प्रान्तमा 'आपतकालीन स्थित' घोषणा गरेको छ।
सन् २०१६ को 'सर्जिकल स्ट्राइक' र २०१९ को बालाकोट हमलाभन्दा बुधबारको हमला केही अरू कारणले पनि फरक छ।
सर्जिकल स्ट्राइक र बालाकोट हमला सांकेतिक प्रहार मात्र थिए। यसपटक भने प्रधानमन्त्री मोदीलाई अझ ठूलो प्रहार गर्ने दबाब थियो। त्यसैले पहलगाम आक्रमणलगत्तै पाकिस्तानमाथि हमला गर्ने खालको अभिव्यक्ति भारतले दिँदै आएको थियो।
यसपटक भारतले लडाकू विमान सीमापारि नपठाएर आफ्नै भूमिबाट अचुक निसाना लाग्ने हतियार प्रयोग गरेको छ। नौसेनाले पनि लामो दुरीका हतियार प्रहार गरेको भारतीय मिडियाले लेखेका छन्।
सन् २०१९ को बालाकोट हमलामा पाकिस्तानले एउटा भारतीय लडाकू विमान खसालेर एक जना पाइलट कब्जामा लिएको थियो। त्यही भएर पनि यसपटक भारतले आफ्नै भूमिबाट प्रहार गरेको हुनसक्छ। ती पाइलटलाई पछि पाकिस्तानले रिहा गरेर भारत फिर्ता पठाएको थियो।
पाकिस्तानले यसपटक भारतीय हमलाको जबाफ दिने भनिसकेको छ।
पाकिस्तानको अहिलेका सेना प्रमुख जनरल सइद असिम मुनिर कट्टरपन्थी मानिन्छन्। पहलगाममा आतंकवादी हमला हुनुभन्दा ६ दिनअघि राजधानी इस्लामाबादको एक कार्यक्रममा बोल्दै उनले 'कश्मिर पाकिस्तानको घाँटीको नशाजस्तो संवेदनशील भएको' बताएका थिए र 'कश्मिरी दाजुभाइको संघर्षमा उनीहरूलाई एक्लै नछाड्ने' प्रतिबद्धता पनि जनाएका थिए।
भारतले पाकिस्तानी सेना प्रमुखको त्यही अभिव्यक्ति औंल्याउँदै पहलगामको आतंकवादी हमलामा पाकिस्तान संलग्न रहेको आरोप लगाउँदै आएको छ।
पाकिस्तानले उक्त आरोप खण्डन गरेको छ। पाकिस्तानी सेना प्रमुख मुनिरले 'भारतको भन्दा कडा हमला गरेर जबाफ दिने' बताउँदै आएका छन्।
उनले भारतलाई हमलाबाट रोक्न मात्र त्यसो भनेको कतिपयको भनाइ थियो। बुधबार बिहानको भारतीय हमलापछि भने अब सेना प्रमुख मुनिरमाथि दबाब बढेको छ। भारतको भन्दा कडा जबाफ नदिए पनि झन्डै त्यही अनुपातको हमला गर्नुपर्ने दबाब उनीमाथि छ।
पाकिस्तानमा सेना शक्तिशाली भए पनि सबै सेना प्रमुखले सार्वजनिक रूपमा धेरै आक्रामक बोल्दैनन्। मुनिरले भने पहलगाम हमला अघिदेखि नै भारतप्रति आक्रामक अभिव्यक्ति दिइरहेका छन्। खुलेआम अतिवादीहरूको भाषा बोलिरहेका छन्।
मुनिर यसअघिका सेना प्रमुखभन्दा कट्टर मानिन्छन्। देशका सबभन्दा लोकप्रिय नेता इमरान खानलाई जेलमा कोचेर दुई प्रमुख दलले सत्ता चलाइरहेको पाकिस्तानमा अहिले आर्थिक स्थिति खराब छ। सेनाको लोकप्रियता खस्कँदो छ। यस्तोमा पाकिस्तानमाथि भएको हमलापछि सारा पाकिस्तानी जनता एक ढिक्का छन्। यही मौकामा भारतलाई कडा जबाफ दिए आफू झन् लोकप्रिय हुन सक्ने लोभ मुनिरलाई छ। यसरी एकअर्कालाई जबाफी हमला गर्ने चक्र जारी रहे दुई देशबीच 'पूर्ण' युद्ध हुने खतरा मडारिएको छ।
यति मात्र होइन, भारतले पन्जाब प्रान्तमा हमला गरेकाले पाकिस्तानले पनि कश्मिरबाहेक भारतका अन्य स्थानमा हमला गर्न सक्ने अनुमान गरिएको छ। भारतले पाकिस्तानी सेनामाथि प्रहार नगरेकाले उसले पनि भारतीय सेनालाई निशाना नबनाउन सक्छ। तर भारतले पाकिस्तानका मस्जिदमा हमला गरेको भन्दै पाकिस्तानले भारतका मन्दिरमा प्रहार गर्यो भने स्थिति बिग्रिन सक्छ।
पाकिस्तानभित्र मस्जिद र मदरसामा आतंकवादीहरूले अखडा जमाउँछन् भनेर भारतले आरोप लगाउँदै आएको छ। पछिल्लो हमलामा पनि आतंकवादीले मस्जिद प्रयोग गरेको भन्दै भारतले त्यहाँ प्रहार गरेको मानिन्छ। यसलाई पाकिस्तानले 'आतंकवादीमाथिको प्रहार' नभनेर 'धर्ममाथिको प्रहार' ठान्यो भने भारतका मन्दिरमा हमला गर्ने खतरा रहन्छ।
अहिलेसम्मको स्थिति हेर्दा भारत र पाकिस्तानबीच 'पूर्ण' युद्धको सम्भावना भने कम छ।
सन् १९७१ मा बंगलादेशको स्वतन्त्रताका लागि भएको लडाइँपछि भारत र पाकिस्तान पूर्ण युद्धमा गएका छैनन्। सन् १९९९ मा पाकिस्तानले कश्मिरको कारगिलमा हमला गरेपछि युद्ध भए पनि त्यो त्यही क्षेत्रमा सीमित रह्यो। दुई देशको अरू ठाउँमा युद्ध फैलिन पाएन।
युद्धको सम्भावना कम हुनुको अर्को कारण भारतले सेना र सर्वसाधारणलाई निशाना नबनाई आतंकवादीमाथि मात्र प्रहार गरेको भनेर जोड दिनु हो। आफ्नो कारबाही केही स्थानमा मात्र केन्द्रित भएको र तनाव थप नबढ्ने गरी हमला गरिएको भारतले बताइरहेको छ।
पाकिस्तानले पनि आफ्ना जनता खुसी हुने र भारतसँग युद्ध पनि नहुने गरी जबाफ फर्काउने अपेक्षा गरिएको छ।
अर्थतन्त्र तुलनात्मक रूपमा बलियो भएकाले भारतले केही समयका लागि युद्धको खर्च धान्न सक्ला। तर अर्थतन्त्र धराशायी भएको पाकिस्तानले युद्ध धान्न सक्दैन। पाकिस्तानलाई भरथेग गर्ने चीन पनि अहिले ट्रम्पले सुरू गरेको व्यापार युद्ध कसरी अन्त्य गर्ने भन्नेमा केन्द्रित छ। भारत आफै पनि अमेरिकासँग व्यापार वार्तामा व्यस्त छ।
यति हुँदाहुँदै मोदी र मुनिर दुवै जना आफ्नो बलियो छवि बनाउने ध्याउन्नमा रहेका कट्टरपन्थी हुन्। त्यसैले आजको हमलाले कुन परिणाम ल्याउँछ भन्ने यसै ठोकुवा गर्न सकिँदैन।
***