गएको फागुन २७ मा कोशी प्रदेश सभालाई सम्बोधन गरेयता कम्तीमा तीन वटा कार्यक्रममा आउन भनेर पनि प्रधानमन्त्री केपी शर्मा ओली विराटनगर आएनन्।
यसपटक यो क्रम रोकियो।
कोशी प्रदेश सरकारले आयोजना गरेको पहिलो प्रदेश लगानी सम्मेलन उद्घाटन गर्न प्रधानमन्त्री ओली सेनाको हेलिकप्टरबाट बिहीबार बिहान विराटनगर ओर्लिए।
प्रधानमन्त्री ओलीका विश्वासपात्र मानिने मुख्यमन्त्री हिक्मत कार्कीसहितको टोलीले उनलाई न्यानो स्वागत गर्यो। र, २०७२ को भूकम्पपछि पहिलो पटक कुनै सार्वजनिक कार्यक्रम आयोजना भइरहेको विराटनगरस्थित वीरेन्द्रसभा गृहमा उनलाई प्रमुख अतिथिका रूपमा प्रदेश सरकारले स्वागत गर्यो।
कार्यक्रमको सुरूमै मुख्यमन्त्री कार्कीले प्रदेशमा लगानीको ढोका खुला गर्न सम्मेलन आयोजना गरिएको र केही योजनामा सम्झौताको तयारी भइरहेको जानकारी दिए।
‘सुखी नेपाली, समृद्ध नेपाल प्रधानमन्त्रीज्यूको अभियान हो। यो अभियानमा प्रदेशबाट एउटा भए पनि इँटा थप्न र योगदान गर्न यो सम्मेलन आयोजना गरेका छौं,’ कार्कीले यति भूमिका बाँधेपछि भने, ‘यहाँ उपस्थित लगानीकर्तालाई प्रधानमन्त्रीज्यूले हौसला प्रदान गर्नुहुनेछ। हामीलाई हौसला दिनुहुनेछ।’
लामो राजनीतिक यात्रामा सदा आफ्नो सहयोगी रहेका र आफ्ना विश्वासपात्रसमेत रहेका मुख्यमन्त्रीले आफूबाट खोजेको ‘हौसला’ प्रदान गर्नमा प्रधानमन्त्रीले कुनै कन्जुस्याइँ गरेनन्।
उनले कोशीमा किन लगानी गर्ने भनेर धेरै वटा कारण पेस गरे।
कोशी प्रदेश लगानीका लागि किन उपयुक्त छ भन्ने लगानीकर्ताहरूलाई बुझाउन प्रधानमन्त्री ओलीले केही गलत अनि वैज्ञानिक रूपमा प्रमाणित हुनै नसकेका तथ्यांक र प्रसंग पनि अघि सारे।
गलत तथ्यांक पनि सत्य हो जत्तिकै गरेर आत्मविश्वासपूर्वक प्रस्तुत गरेका प्रधानमन्त्रीले सहभागीहरूलाई पौराणिक प्रसंग सुनाएर कोशी प्रदेशको महिमा ‘विराट’ रहेको सन्देश दिए। झण्डै ४५ मिनेट बोलेका ओलीले आफ्नो मन्तव्यका क्रममा प्रयोग गरेको गलत तथ्यांक राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा कोशी प्रदेशको योगदान बारेमा थियो।
त्यसअघि कोशीको भूगोल, हिमालहरूको परिचयात्मक व्याख्यान दिइसकेपछि प्रधानमन्त्रीले कोशीका नागरिकको पनि प्रशंसा गरेका थिए।
‘कोशीका जनता शिक्षित र मिहेनती छन्,’ भन्दै उनले भने, ‘त्यसैले नेपालको जिडिपीमा कोशी प्रदेश एक्लैको योगदान ३८ प्रतिशत छ।’
प्रधानमन्त्रीले नै प्रशंसा गरेपछि सभाहलमा ताली गुन्जियो। यद्यपि प्रधानमन्त्रीले कुन अध्ययन प्रतिवेदनका आधारमा जिडिपीमा कोशीको योगदान ३८ प्रतिशत हो भन्ने प्रष्ट पारेनन्।
कोशी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयमा प्रधानमन्त्रीकै दल एमालेका नेता रामबहादुर मगर मन्त्री छन्। उनकै नेतृत्वमा रहेको मन्त्रालयले गरेको आर्थिक सर्भेक्षणको तथ्यांकले भने प्रधानमन्त्रीको दाबीको खण्डन गर्छ।
कोशी सरकारले गरेको आर्थिक वर्ष २०८०–८१ को प्रादेशिक आर्थिक सर्भेक्षण अनुसार राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा कोशीको योगदान १५ दशमलव ८ प्रतिशत छ।
मन्त्रालयले आफ्नो वेभसाइटमा राखेको सर्भेक्षण प्रतिवेदनमा यही तथ्यांक उल्लेख छ। यसअघि नेपालमा पाइने एक सिंगे गैंडा ‘राइनोज’ नभएको बरू ‘गैंडाज’ भएको, डाँफेबारे पनि त्यस्तै दाबी गरेर ‘डाँफेज’ भनिसकेका प्रधानमन्त्रीले उही शैलीमा ‘सगरमाथा इज सगरमाथा’ भन्दै त्यसलाई ‘माउन्ट एभरेष्ट’ भनिरहन नपर्ने घोषणा गरे।
‘माउन्ट एभरेष्टको समगरमाथाको कुनै लिनदिनु छैन, त्यसकारण यो नक्कली नाम हो,’ प्रधानमन्त्रीले थपे, ‘हामीले सगरमाथा नै भन्नुपर्छ, प्रपर नाउन भनेको अर्को हुँदैन, त्यसैले सगरमाथा इज सगरमाथा। मुख्यमन्त्री हिक्मत कार्कीजीको अर्को नाम हुन्छ?’
माउन्ट एभरेष्ट भनेर सगरमाथाको नाम जसको नाममा राखिएको हो उनले न सगरमाथा पत्ता लगाएको न शिखर चढेको भन्दै ओलीले सुनाए ‘ब्रिटिस एभरेष्ट नाम गरेका व्यक्ति हुन्, ती व्यक्तिले सगरमाथा होइन, ल्होत्सेचाहिँ अग्लो छ भनेर हिसाब निकालेका थिए।’
प्रधानमन्त्रीले नेपाली नामबाटै सर्वोच्च शिखरको ब्राण्डिङ गर्न आग्रह गरेका हुन्। यद्यपि हिमालबारे चासो राख्ने विश्व समुदायले भने सगरमाथालाई ‘माउन्ट एभरेष्ट’ कै रूपमा चिन्दै आएको छ।
सन् १८५६ मा यसको नामकरण ‘माउन्ट एभरेष्ट’ भनेर गरिएको विभिन्न पुस्तकहरूमा उल्लेख छ। इस्ट इन्डिया कम्पनीका सर्भेयर जनरल जर्ज एभरेष्टको नामबाट एभरेष्ट भनिएको तर वि.सं. २०१३ सालमा इतिहासकार बाबुराम आचार्यले ‘सगरमाथा’ भनेर नेपाली नाम दिएको प्रसंग पुस्तकहर"मा उल्लेख छ।
त्यसो त चोमोलुङ्मा भनेर पनि सगरमाथालाई चिन्ने गरिन्छ।
प्रधानमन्त्रीले हिमालहरूको चर्चा गर्नुपछिको मुख्य कारण कोशीमा पर्यटन क्षेत्रमा लगानीको सम्भावना प्रचुर रहेको बताउनु थियो। त्यसक्रममा ८ हजार मिटरभन्दा माथिका कति वटा चुुचुरो प्रदेशमा छन् भन्ने पनि उनले विस्तृतमा खुलाएका थिए।
‘यहाँ प्रशस्त पर्यटकीय थलो छन्। सगरमाथा, ल्होत्से, कन्चनजंघा, मकालु ८ हजार मिटरभन्दा माथिका हिमाल हुन्। कन्चनजंघा छ, कुम्भकर्ण छ। कन्चनजंघा भन्दा एउटा मात्रै पिक छैन, चार वटा पिक छन्। त्यस्ता अनेक छन्। कहिलेकाहीँ त सगरमाथा कुन हो भनेर गजबको भ्रम पार्दिन्छ, हेर्दा सगरमाथा भन्दा अग्लो अर्को देखिन्छ,’ उनले भने, ‘यसले पनि देखाउँछ, यहाँ पर्यटनमा लगानीको सम्भावना कति छ भन्ने। त्यसैले यहाँ जहाँ लगानी गरे पनि हुन्छ।’
कोशी लगानीका लागि बहुतै ‘फेभरेबल’ प्रदेश भएको बताउँदै ओलीले सबैभन्दा ठूलो कुरा सडक सन्जालले प्रदेशलाई सबैतिरबाट छोएको उल्लेख गरे।
प्रधानमन्त्रीले यसबारे थपे ‘पूर्वाधारका हिसाबले यस प्रदेश सडक सन्जालसँग जोडिएको छ। सबभन्दा दक्षिण बोर्डरको छेउछेउबाट हुलाकी राजमार्ग लगभग तयारी अवस्थामा छ। कमलाको पुल भासिएको छ। त्यो प्राविधिक त्रुटि हो, अब कनकाइको पुल बाँकी छ। ती चिज बनाउनेबित्तिकै हुलाकी सडकको कनेक्टिभिर्टी चितवनसम्मै पुग्छ। मास्तिर ६ लेनको एसिशयन स्टयाण्डरको हाइवे बन्दैछ। यहाँका उत्पादन बजार पठाउने बेलासम्ममा (पूर्व–पश्चिम राजमार्ग) मेचीदेखि महाकालीसम्मै सिक्स लेनको भइसक्छ। कथम कदाचित केही परेमा वा कुनै अवरोध आउने स्थिति परेमा मदन भण्डारी हाइवे ठ्याक्क माथि छ। त्यसैले यहाँ कहिल्यै पनि सामान ल्याउन लान हिसाबले केही रोकिन्न।’
कुनाकुनासम्म सामान लैजान सकिने अवस्था रहेको उल्लेख गर्दै उनले जोडे ‘तमोर करिडोर, अरूण करिडोर, कोशी करिडोर धमाधम बन्दैछ। टिपताला, किामथांका जस्ता नाका र अनेक बाटाहरू बनिरहेका छन्। आफ्नो उत्पादनको बजार कुनाकुनासम्म पुर्याउन तयारी र कच्चा पदार्थ ल्याउन लैजान कुनै समस्या छैन।’
चन्द्रगढी र विराटनगर विमानस्थल राति पनि चल्न थालेको बताउँदै उनले विराटनगर एयरपोर्टलाई विस्तार गर्नुपर्ने र त्यो गरिने जानकारी दिए।
‘अरूले समुद्रमाथि पुलैपुल बनाउँछन् भने एउटा बुढीखोला पर्छ भनेर हुन्छ? बरु बुढी खोला फराकिलो पारौं, बलियो पुल बनाऔं’, प्रधानमन्त्रीको भनाइ थियो, ‘कोशीमा अनेक हिसाबले लगानीमैत्री वातावरण छ। जुनसुकै क्षेत्रमा लगानी गर्नुहोस्। कच्चापदार्थ पनि ल्याउन सक्छौं, तयारी वस्तु पनि। हिमालबाट पनि ल्याउन सक्छौं, मित्रराष्ट्रबाट पनि।’
आफू अघिल्लो पटक प्रधानमन्त्री हुँदै कोशीका सबै जिल्लामा अपिटकल फाइबर पुर्याएको दाबी गर्दै उनले भने, ‘आजको समयमा इन्टरनेट पुर्याएको छ। दुर्गममा पनि पुर्याइएको छ। डाँडाको टुप्पामा पनि पुग्या छ। हामी विजुली सँगै अघि बढ्या छौं। पहिले बजार–बजारमा मात्रै बत्ती बल्थ्यो, अहिले गाउँभरि बत्ती नै बत्ती छ। कुन बजार कुन गाउँ छुट्याउन गाह्रो छ। त्यसकारण लगानीका लागि यो प्रदेश उपयुक्त छ।’
यसअघि पानीजहाजको सपना देखाएको भनेर आलोचनाको भुंग्रोमा परिसकेका ओलीले नदीको बाटोबाट सामान र मानिसको आवतजावत गर्न सक्ने अवस्थामा पुगिएको दाबी दोहोर्याए।
‘यहाँबाट कलकतासम्म नदीको बाटो आवतजावत र सामान ल्याउन लान सकिन्छ,’ उनले भने, ‘हनुमान नगरमा पोर्ट राखेर गंगाको बाटो हुँदै। गंगामा भारतले चलाइसकेको छ। गण्डकी–कोशीमा छिटै चल्नेछ। त्यसकारण कोशी लगानीका लागि उपयुक्त छ।’
नेपालमा लगानीका लागि उपयुक्त वातावरण हुनुको अर्को कारणमा उनले लगानीकर्ता, सरकार र श्रमिकका बीच कुनै समस्या नहुनु पनि एउटा भएको बताए।
‘आइएलओका सिद्धान्तहरू श्रमिक, रोजगारदाता र सरकारका प्रतिनिधिहरूबीचको प्रभावकारी समन्वयले सफल कार्यान्वयन भइरहेको छ’ उनले भने, ‘ट्रेड युनियन भएन भने कोसँग वार्ता गर्ने, असन्तुष्टि छरपष्ट हुन्छ। यहाँ ट्रेड युनियन छ। असन्तुष्टि छरपष्ट हुन पाउँदैन। विचारहरू संगठन मार्फत नै आउँछ। यसकारण पनि यहाँ लगानीको वातावरण छ।’
राजनीतिक कारणले पनि लगानी गर्न उपयुक्त भएको उनको सिफारिश छ।
‘नेपालमा लोकतन्त्र आएको धेरै भएको छैन। संघीय लोकतान्त्रिक गणतन्त्र पनि धेरै भएको छैन। यस्तोमा विस्थापित तत्वहरू ब्युँतिन सकिन्छ कि भनेर जमर्को गरिरहेका छन्। तिनले प्रयास गर्छन्। ती प्रयासहरूको नेपालमा कुनै सम्भावना छैन,’ ओलीले राजावादीतिर निशाना साँधे, ‘आफ्नो क्यारेक्टर देखाउने काम गरे चैत १५ मा। उनीहरूको आचरण देखिएको छ। विदेशीहरूले पनि नेपाल आउँदा ढुक्क हुन्छ भन्छन्। कुनै खतरा छैन। शान्त छ। ढुक्कको वातावरण छ। यहाँ ढुक्कले लगानी गर्न सक्नुहुन्छ।’
पौराणिक पात्र र कथाप्रति विशेष रुचि देखाउने प्रधानमन्त्रीले यसअघि प्रदेशसभामा सम्बोधन गर्दा सुनाएको पौराणिक महत्व यसपटक पनि दोहोर्याए।
यसअघि अर्घाखाँची पुगेर पाणिनी ऋषि अर्घाखाँचीमा जन्मेको बताएका ओलीले राम चितवनको ठोरीमा जन्मेको दाबी गरिसकेका छन्।
‘विराट राजाको दरबाबर यहीँ छ। दरबारका भग्नावशेषका छ, जहाँ पाँच पाण्डवहरू आएर बसेका थिए। उनीहरुले गाईलाई पानी खुवाउने बर्जु ताल यहीँ सुनसरीमा छ,’ उनले भने, ‘पर्यटकनको राम्रो गन्तव्य हो त्यो। चतराधाम छ। मन्त्रहरुको पनि महाहान्त्र गायत्री ओम भू भवस्वह.....। यही कोशी किनारमा रचना भएको थियो। विश्वामित्रले रचना गर्नुभएको थियो।’
प्रधानमन्त्रीले भनेको विराट राजाको दरबार यहाँ थियो कि थिएन भन्ने ऐतिहासिक तथा पुरातात्विक अध्ययनले अहिलेसम्म पुष्टि गरेको छैन। पुरातत्व विभागले अहिले विराट राजाको दरबार थियो भनिएको क्षेत्रमा प्राचीन मानव बस्ती भएको भने प्रमाणित गरिसकेको छ। यसपटक प्रधानमन्त्रीले विश्वामित्रका छोरा विश्वका पहिलो सर्जन भएको दाबीसमेत गरे।
‘उनका छोरा विश्वका पहिलो सर्जन भए। चाणक ऋषि यहीँका थिए। कौशिकी ऋषि यहीँका, कोशीको किनारमा बस्ने भएकाले कौशिकी नाम राखिएको थियो,’ उनले थपे, ‘विष्णु पनि यहीँका थिए। भष्मासुरको अन्त्य यहीँ भएको थियो। पाथिभरा यहाँ छ। बराहको अवतार भएको ठाउँ अहिलेको धरान क्षेत्रमा भएको थियो।’
प्रधानमन्त्री यत्तिमै रोकिएनन्, ‘शिवजीको जन्मथलो, कर्मथलो, अध्ययनथलो आविष्कार थलो सबैथलो यहीँ छ। द्वापर मात्रै हैन, सत्य युगदेखिको सभ्यता यहीँ छ। यहाँ जुन क्षेत्रमा लगानी गरे पनि हुन्छ।’