प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता घटक नेपाली कांग्रेसबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री बनेका पूर्णबहादुर तामाङ (कान्छाराम) लाई पदबाट बर्खास्त गरिदिएका छन्।
कांग्रेस सभापति शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि भन्दै थाइल्याण्डको बैंककमा रहेका बेला प्रधानमन्त्री ओलीले राज्यमन्त्री तामाङलाई बर्खास्त गरेका हुन्।
कांग्रेसको २०७८ मा भएको १४ औं महाधिवेशनबाट रामेछाप सभापति तथा २०७९ मंसिरमा भएको प्रतिनिधि सभा चुनावबाट प्रतिनिधि सभा सदस्य निर्वाचित तामाङ २०८१ साउन १८ गते राज्यमन्त्री नियुक्त भएका थिए।
तामाङलाई के कारणले राज्यमन्त्रीबाट बर्खास्त गरिएको हो भन्ने विषयमा प्रधानमन्त्री ओलीले मुख खोलिसकेका छैनन् भने उनको सचिवालयले पनि कारण दिइसकेको अवस्था छैन।
साथै उनको पार्टी कांग्रेसले पनि यसबारे औपचारिक धारणा दिएको छैन।
तर राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको सिफारिसमा बुधबार २०८१ असार ३१ गते गठित मौजुदा मन्त्रिपरिषद हेरफेर गरेका छन्।
जसमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तलाई नियुक्त गरिएको छ भने राज्यमन्त्रीको सूचीबाट तामाङको नाम हटेको छ।
कांग्रेस सांसद तामाङ ९ महिनामात्रै राज्यमन्त्री भए। उनको बिदाइ सुखद रहेन।
राज्यमन्त्रीबाट बर्खास्त भएका तामाङलाई हामीले किन बर्खास्त गरिएको हो भनेर सोधेका छौं। उनले एउटै कारण दिए- त्यो हो कुलमान घिसिङको पक्षमा बोल्नु।
नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक रहँदा घिसिङमाथि ऊर्जा मन्त्री दीपक खड्काले पटक-पटक स्पष्टीकरण सोधेका थिए। त्यसबेला ऊर्जा राज्यमन्त्री तामाङ भने घिसिङलाई पूरा कार्यकाल कार्यकारी निर्देशक बनाउनुपर्ने पक्षमा उभिएका थिए।
मन्त्रिपरिषदले नै घिसिङमाथि स्पष्टीकरण सोध्यो, उनले जबाफ पनि दिए। तैपनि घिसिङलाई कार्यकारी निर्देशकबाट गत चैतमा हटाएर सरकारले हितेन्द्रदेव शाक्यलाई नयाँ कार्यकारी निर्देशकमा नियुक्त गरिसकेको थियो।
तामाङले बताएअनुसार कुलमान घिसिङलाई पदबाट हटाउनुअघिदेखि नै प्रधानमन्त्री केपी शर्मा ओली उनीसँग असन्तुष्ट देखिन्थे। प्रधानमन्त्रीले यो कुरा परराष्ट्र मन्त्रीसमेत रहेकी कांग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवा र गृहमन्त्री रमेश लेखक लगायतलाई पनि भनेका थिए।
कुलमान घिसिङलाई कार्यकारी निर्देशकबाट हटाएको विषयमा प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) सहित प्रतिपक्षी दलहरूले सदन अवरोध गरे, प्रधानमन्त्रीबाट जबाफ मागे। लामो रस्साकस्सीपछि प्रधानमन्त्रीले संसदको रोस्टममा उभिएरै घिसिङलाई हटाउनुपर्नाका कारण दिनुपरेको थियो अनि संसद चलेको थियो।
यतिमात्र होइन, सडकमा पनि घिसिङको समर्थनमा प्रदर्शन भइरहेका थिए। तर यो प्रकरण सेलाउँदै गएको थियो तर बुधबार एक्कासि तामाङलाई बर्खास्त गरिएको हो।
‘म मन्त्री क्वार्टर नगई घरमै बसिरहेको थिएँ, आज अपराह्न पौने ५ बजेतिर गृहमन्त्री रमेश लेखकजीले फोन गर्नुभएको थियो- प्रधानमन्त्रीज्यूले तपाईंको राजीनामा मागिरहनु भएको छ, राजीनामा दिनुपर्यो भन्नुभएको थियो,’ तामाङले भने, ‘केपी ओलीले मलाई राज्यमन्त्री बनाएको होइन, मलाई कांग्रेस पार्टीले बनाएको हो, प्रधानमन्त्रीले माग्दैमा मैले किन राजीनामा दिने भनेर गृहमन्त्रीजीलाई भनेको थिएँ।’
कांग्रेस पार्टीले राजीनामा दिनु भनेका खण्डमा मात्रै आफूले राज्यमन्त्रीबाट राजीनामा दिने कुरा उनले गृहमन्त्रीलाई बताएका थिए। ‘मैले राजीनामा दिन्न भनेको थिएँ, हटाए होलान्, मलाई थाहा पनि छैन,’ उनले भने।
राज्यमन्त्रीबाट हटाएको अद्यावधिक विवरण राष्ट्रपति कार्यालयको विज्ञप्तिमा आइसकेको विषय उल्लेख गरेपछि तामाङले आफूलाई हटाउनुका कारण खुलाए।
‘मैले कुलमान घिसिङको पक्षमा बोलिदिएको थिएँ, हटाउन हुन्न भनेर मैले भनिदिएको हो,’ उनले भने, ‘सभापति शेरबहादुर देउवाज्यू थाइल्याण्ड जाने बेला बिदाइ गर्न गएको थिएँ, त्यसबेला सभापतिले केही भन्नु भएन।’
त्यसभन्दा अघि नै परराष्ट्र मन्त्री आरजु राणा देउवाले भने आफूलाई केही सुझाव दिएको उनले बताए।
‘परराष्ट्र मन्त्री आरजु राणाज्यूले चाहिँ तपाईं प्रधानमन्त्रीसँग माफी माग्न जानुस् भन्नुभएको थियो, यो कुलमान हट्नुभन्दा अघि कै कुरा हो,’ तामाङले भने, ‘केपी ओलीसँग माफी मागेर म मन्त्री खान्न भनेर भनिदिएको थिएँ।’
यसबीच ऊर्जा राज्यमन्त्री तामाङले ऊर्जा मन्त्रालयका सचिव सुरेश आचार्यलाई स्पष्टीकरण सोधेका थिए। चैत २८ गते सचिव आचार्यलाई २४ घन्टे स्पष्टीकरण सोधे पनि सचिवले स्पष्टीकरण बुझाएका थिएनन्।
चैत २५ गते सिँचाइ दिवसमा राज्यमन्त्री तामाङ प्रमुख अतिथि रहने गरी कार्यक्रम भएको थियो। आफू उपस्थित कार्यक्रममा सचिव आचार्य आसनग्रहण गर्न नमानेको भन्दै उनले स्पष्टीकरण सोधेका थिए।