सामुदायिक विद्यालयका शिक्षकहरू काठमाडौंमा भेला भएर आन्दोलन चर्काइरहेका बेला शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएकी छिन्।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोमबार अपराह्न भेटेर मन्त्री भट्टराईले राजीनामा बुझाएकी हुन्।
सोमबार साँझ मन्त्रिपरिषद बैठक बस्दै थियो। मन्त्रिपरिषद बैठकअघि प्रधानमन्त्री ओली र शिक्षामन्त्री भट्टराईबीच छलफल पनि भएको थियो।
तर मन्त्रिपरिषद बैठक बस्नुअघि नै मन्त्री भट्टराईले राजीनामा दिइन्। मन्त्री भट्टराईका स्वकीय सचिव अशेष पोखरेलले स्वास्थ्यका कारण मन्त्री भट्टराईले राजीनामा दिएको बताए।
‘मन्त्रीज्यूले आफ्नो स्वास्थ्य अवस्थाका कारण राजीनामा दिनुभएको हो। उहाँले प्रधानमन्त्रीज्यूलाई भेटेर राजीनामा दिनुभएको छ,’ उनले सेतोपाटीसँग भने।
विगतमा सरकारसँग भएका सहमति समेट्दै तत्काल विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै नेपाल शिक्षक महासंघको आह्वानमा शिक्षकहरू चैत २० गतेदेखि काठमाडौंकेन्द्रित आन्दोलनमा छन्।
वैशाख ११ गतेदेखि कक्षा १२ को परीक्षा पनि आउँदैछ। शिक्षकहरूको आन्दोलन निष्कर्षमा नपुग्दै शिक्षा मन्त्री भट्टराईले राजीनामा दिएकी छन्।
के कारणले शिक्षा मन्त्री भट्टराईले राजीनामा दिएकी हुन् भन्ने प्रधानमन्त्री, उनको सचिवालयले बताइसकेको छैन। मन्त्री भट्टराईको सचिवालय भने स्वास्थ्यको कारण भनिरहेको छ।
यद्यपि मन्त्री भट्टराई विद्यालय शिक्षा विधेयकमाथि संसदको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिले बनाएको उपसमितिले गर्ने छलफलमा दिनहुँजसो सहभागी हुँदै आएकी थिइन्।
समितिका एक सांसदका अनुसार विधेयक छलफलमा मन्त्री र शिक्षा मन्त्रालयका सचिवबीच कुरा बाझिने गरेको देखिन्थ्यो।
‘शिक्षामन्त्री अहिले नै नेपालको शिक्षा प्रणाली बदल्नका लागि उपयुक्त समय भएकोले विधेयकमा कतिपय परिवर्तन गरेर जान तयार हुनुहुन्थ्यो, तर प्रत्येकचोटि शिक्षा सचिवले स्रोत साधनले पुग्दैन, अहिले सम्भव छैन भन्दै टार्नुहुन्थ्यो,’ ती सांसदले सेतोपाटीसँग भने, ‘उहाँ सचिव परिवर्तनका लागि प्रधानमन्त्रीसँग आग्रह गर्दै हुनुहुन्थ्यो।’
एमालेकै अर्का एक सांसदका अनुसार मन्त्री भट्टराईले शिक्षकको माग सम्बोधन गर्न प्रधानमन्त्रीसँग कुराकानी गर्ने र प्रधानमन्त्री तयार नभए राजीनामा दिने संकेत गरेको बताए।
‘चैत २० गतेदेखि आन्दोलनरत नेपाल शिक्षक महासंघसँग मन्त्रीज्यूले ७ बुँदामा सहमतिको ड्राफ्ट तयार पार्नुभएको थियो, उहाँले आजै ती प्रस्ताव मन्त्रिपरिषदमा लैजाने तयारी पनि गर्नुभएको थियो,’ मन्त्री भट्टराईनिकट ती सांसदको भनाइ छ, ‘त्यस विषयमा उहाँले मन्त्रिपरिषद बैठकअघि प्रधानमन्त्रीसँग कुराकानी पनि गर्नुभयो।’
मन्त्री भट्टराईले प्रस्ताव गरेको ७ बुँदामा प्रारम्भिक बाल विकासका शिक्षकको तलब १७ हजार ३०० बनाउने, यस्ता शिक्षकहरूलाई सामाजिक सुरक्षा कोषको प्याकेज बनाउने र समावेश गर्ने, दुर्गम भत्ता उपलब्ध गराउने, ग्रेड समायोजन गर्ने, मर्यादाक्रम कायम गर्ने, हाललाई निजामती अस्पतालबाटै शिक्षकहरूको उपचारमा छुटको व्यवस्था गर्ने कुरा थिए।
यो प्रस्ताव तयार पारेर शिक्षामन्त्री भट्टराईले अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग पनि कुराकानी गरेकी थिइन्।
‘यो प्रस्ताव मन्त्रिपरिषदमा लैजानुअघि उहाँले स्रोत सुनिश्चित गर्न अर्थमन्त्रीसँग पनि हिजो बेलुकी कुराकानी गर्नुभएको थियो,’ मन्त्री भट्टराईनिकट स्रोतले भन्यो, ‘तर अर्थमन्त्रीज्यूले ती प्रस्ताव कार्यान्वयन गर्न बजेट दिन नसक्ने भन्नुभयो। उहाँहरूबीच नोकझोक नै भयो।’
७ बुँदे प्रस्तावका लागि स्रोत सुनिश्चित गर्न सक्ने अवस्था नरहेको अर्थमन्त्री पौडेलको भनाइ थियो।
‘आफूले समस्या समाधानका लागि पहल गरे पनि सरकार र पार्टीबाट सहयोग नपाएको भनेर उहाँले राजीनामा दिनुभएको हो,’ मन्त्री भट्टराईनिकट स्रोत भन्छ, ‘काम गर्न रोक्ने हो भने किन सरकारमा बसिरहने?’
शिक्षकहरूले आफूलाई घेराबन्दी गरिरहेका बेला सरकार, अर्थमन्त्री, एमालेबाट साथ नमिलेको पनि निकटहरूसँग मन्त्री भट्टराईले गुनासो गर्दै आएकी थिइन्। उनले सोमबार बिहानैदेखि राजीनामाको मनस्थिति बनाएकी थिइन्।
‘शिक्षकहरूले घेराबन्दी गरिरहेका छन्, यस्तो अवस्थामा समस्या समाधान गर्न सहयोग नगर्ने हो भने म राजीनामा दिन्छु भनेर उहाँले प्रधानमन्त्रीलाई भेटेर राजीनामा दिनुभएको हो,’ उनीनिकट स्रोतले भन्यो।
एमालेका एक नेताले दिएको जानकारीअनुसार प्रधानमन्त्री ओलीले एमालेकै सांसदलाई नयाँ शिक्षा मन्त्री बनाउने तयारी गरेका छन्। ‘अब राष्ट्रिय सभा सदस्य अन्जान शाक्यलाई शिक्षा मन्त्री बनाउने पार्टीभित्र चर्चा छ,’ ती नेताले भने।
प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालय स्रोतले पनि अन्जान शाक्यलाई शिक्षा मन्त्री बनाउने तयारी रहेको दाबी गरेको छ।
एमालेका एक पदाधिकारीका अनुसार प्रधानमन्त्री ओली र मन्त्री भट्टराईको सम्बन्ध पछिल्लो समय सुमधुर थिएन।
‘शिक्षकहरू काठमाडौंकेन्द्रित आन्दोलनमा आउनुअघि नै शिक्षामन्त्रीले प्रधानमन्त्रीलाई भेट्न खोज्नु भएको थियो तर सचिवालयले समय मिलाइदिएन। प्रधानमन्त्रीलाई फोन गर्दा स्वकीय सचिव राजेश बज्राचार्यले उठाए, प्रधानमन्त्रीलाई फोन दिनुस् भन्दा कुरा भन्नुस् म नै सुन्छु भन्ने जबाफ दिएका थिए,’ ती पदाधिकारीले भने, ‘प्रधानमन्त्रीलाई फोन नदिएपछि रिसाउँदै शिक्षा मन्त्रीले म राजीनामा दिने हो भनेर फोन राखिदिनुभएको थियो।’
आफूलाई प्रधानमन्त्री, प्रधानमन्त्री सचिवालय र पार्टीका नेताहरूबाट सहयोग नभएको र प्रधानमन्त्रीलाई भेट्नसमेत नपाएकोमा उनले अपमानित भएको महसुस गरिरहेको ती पदाधिकारीको भनाइ छ।
साथै यसबीचमा शिक्षक महासंघसँग कुराकानी गर्दा आफूलाई प्रधानमन्त्रीले थाहा नै नदिएको गुनासो पनि मन्त्री भट्टराईको थियो।