प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का संसदीय दल नेता पुष्पकमल दाहाल 'प्रचण्ड'ले सत्तमा रहेकाहरूले लोकतन्त्रको मूल्य मान्यताको उपेक्षा गरेको आरोप लगाएका छन्।
मंगलबार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको अनुपस्थितलाई लिएर सत्ताशीनहरुले लोकतान्त्रिक मूल्य मान्यताको उपहास गरेको आरोप लगाएका हुन्।
उनले प्रधानमन्त्रीको लगातार उपस्थितीबारे पनि प्रश्न गरे।
'प्रमुख प्रतिपक्षी दलको नेता रोस्ट्रममा उभिँदा प्रधानमन्त्रीको अनुपस्थिति निरन्तर कायम रहनु घमण्ड हो कि संस्कारहिनता हो कि कुण्ठा हो। त्यसको जवाफ पनि आफै खोज्नुहोला,' उनले भने।
यसअघि माघ २४ गतेको बैठकलाई प्रचण्डले सम्बोधन गर्दा पनि प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित थिएनन्।
त्यतिबेला पनि उनले प्रधानमन्त्रीलाई संसद बैठकमा खोजेका थिए।
संसदमा प्रधानमन्त्रीले सम्बोधन गर्दा प्रमुख प्रतिपक्षी दल नेता र प्रमुख प्रतिपक्षी दल नेताले सम्बोधन गर्दा प्रधानमन्त्री उपस्थित हुने प्रचलन छ।
प्रधानमन्त्री ओली मंगलबार विराटनगर पुगेका छन्।
उनले त्यहाँ कोशी प्रदेशसभालाई सम्बोधन गरिरहेका छन्।