नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो आठ महिनामा बिचौलिया नजोडिएको एउटा नीति, निर्णय र नियुक्ति देखाउन सरकारलाई चुनौती दिएका छन्।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका प्रचण्डले दुई तिहाइको घोडा बिचौलियाले चलाइरहेको बताएका हुन्।
‘अहिले सरकार र सरकारी संयन्त्रमा बसेका साथीहरूले बडो घमण्ड गरेको सुनिन्छ। सरकार यो गर्दैछ, सरकारले त्यो गर्दैछ। तर दुई तिहाइको सरकारको घोडा कसले दौडाएको छ? मैले त्यतिबेला पनि भनेको थिएँ। अहिले पनि जोड दिएर भन्न चाहन्छु– सरकारको दुई तिहाइको घोडा, सरकारका मन्त्री र प्रधानमन्त्रीले चलाएको मैलचाहिँ देखेको छैन। त्यो घोडा बिचौलियाले चलाएका छन्। तपाईंहरूले गर्ने नियुक्ति, तपाईंहरूले गर्ने सेटिङ तपाईंहरूले गरेको मचाहिँ देख्दिनँ। बिचौलियाहरू, उनीहरूले गरेको निर्णयानुसार भएको देखेको छु। म चुनौतीका साथ भन्न चाहन्छु, पछिल्ला आठ महिनामा एउटै नीति, एउटै निर्णय र एउटै नियुक्ति मलाई भनिदिनुस् जसका पछाडि बिचौलिया छैन। जम्मा एउटा उदाहरण दिए पनि हुन्छ,’ उनले भने।