राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंका मेयर बालेन शाहसँग सिङ जुधाएर बसेको टिप्पणी गरेका छन्।
प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै उनले काठमाडौं महानगरपालिकामा डेढ महिनादेखि प्रमुख प्रशासकीय अधिकृत नपठाइनुको कारण मागे।
‘डेढ महिनादेखि काठमाडौं महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत छैनन्। अधिकृत नहुँदा १८०० शिक्षकले चार महिनादेखि तलब पाएका छैनन्। त्यस्तै दुई हजारभन्दा बढी वडाका आयोजना तथा कर्मचारीले दुई महिनादेखि तलब पाएका छैनन्। समयमा तलब नपाउँदा कर्मचारीहरूको आफ्नो घरखर्च चलाउनसमेत गाह्रो भएको छ,’ उनले भने, ‘प्रधानमन्त्रीले मेयरसँग सिउँठेजोरी खेलेर प्रतिस्पर्धा गरेर अगाडि बढ्नुभएको छ। एउटा मेयरसँग सिउँठेजोरी खेल्नुपर्ने, सिङ जुधाउनुपर्ने कारण के हो? यसको जबाफ यो संसदलाई दिनुपर्छ।’
प्रधानमन्त्रीले जनप्रतिनिधि कर्मचारीहरू, राजधानीलाई धोका दिएको उनले आरोप लगाए।
‘मेयरलाई धोका दिएको होइन राजधानीलाई नै धोका दिनुभएको छ। महानगरपालिकालाई असहयोग गर्नु भनेको यहाँका आम नागरिकलाई धोका दिनु हो। देशको राजधानीलाई नै ठप्प बनाउनुको कारण के हो? प्रधानमन्त्रीले नै राजधानीसँग तुष पाल्नुभएको छ।
उनले नयाँ जोस र जाँगर लिएर आएका जनप्रतिनिधिलाई असफल बनाउने खेलमा प्रधानमन्त्री लागेको भन्दै भर्त्सना पनि गरे।
भिडिओ: