नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्वराजा ज्ञानेन्द्र शाहको अभिव्यक्तिले मुलुक तरंगित भएको बताएकी छन्।
प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै ज्ञानेन्द्र शाहको अभिव्यक्ति व्यवस्थामाथि वितृष्णा फैलाउन चालिएका चाल त होइनन्? भन्दै प्रश्न गरिन्।
‘पछिल्ला दिनमा संसद जनताको समस्या छलफल गर्नेभन्दा पनि एक अर्कालाई आरोप प्रत्यारोप गर्ने थलो देखिँदैछ। संसद् मर्यादित भन्दा पनि अराजक भयो भन्ने गुनासो सुनिन थालेको छ। लोकतान्त्रिक गणतन्त्र ल्याउन लडेकाहरू सचेत हुन जरुरी छ। कतै व्यवस्थामाथि वितृष्णा फैलाउन चालिएका चाल त होइनन्? पूर्वराजाले शासनसत्तामा फर्कन खोज्नु, त्यसमा साथ दिन आह्वान गर्नु र समर्थकहरूले साथ कुनै आश्चर्यको अनौठो कुरा भएन,’ उनले भनिन्।
आफ्ना भनाई राख्दै गर्दा राजसंस्थाका समर्थकहरूले राजालाई त्यति भन्दै अधिकार पनि लोकतन्त्रले नै दिएको कुरा भुल्न नहुने बताइन्।
‘यो भुल्नु भएन, त्यति कुरा भन्न पाउने अधिकार पनि यही लोकतन्त्रकै देन हो। जुन आन्दोलनले रैतिबाट नागरिक बनायो। नागरिक नै देशको सर्वोच्च पदमा पुग्न सक्ने बनायो। त्यही आन्दोलन नै हो राजालाई पनि राजाबाट नागरिक बनायो,’ उनले भनिन्।
सत्तामा नै फर्कने चाहना भए टीका लगाएर या कसैको कृपाबाट नभई नागरिकले पाउने सुविधाको उपभोग गर्दै २०८४ को निर्वाचनमा भाग लिन उनले पूर्व राजा ज्ञानेन्द्र शाह र उनका समर्थकलाई आग्रह गरिन्।
हिम्मत गर्नुहोस्। पूर्वराजा र समर्थकहरूलाई मेरो आग्रह छ। कहिले पूरा नहुने झर्ला र खाउँला भन्ने सोचाइ त्यागिदिनुस्।
‘सत्तामा नै फर्कने यदि चाहना छ भने टीका लगाएर या कसैको कृपाबाट होइन नागरिकले पाउने सुविधाको उपभोग गर्दै २०८४ को निर्वाचनमा भाग लिने हिम्मत गर्नुहोस्। पूर्वराजा र समर्थकहरूलाई मेरो आग्रह छ। कहिले पूरा नहुने झर्ला र खाउँला भन्ने सोचाइ त्यागिदिनुस्,’ उनले भनिन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पनि जबाफ फर्काए। उनले गणतन्त्र लुटतन्त्रमा परिणत हुन्छ भने राप्रपाले निरन्तर विरोध गरिरहने उनले बताए।
‘केही प्रश्नहरू उठे, नेपालमा राजालाई कुनै न कुनै स्पेस दिनुपर्छ र राजासहितको प्रजातन्त्र हुनुपर्छ भन्ने पार्टीको अध्यक्ष हुँ। गणतन्त्रको विरोध गर्नु, प्रजातन्त्रको विरोध गर्नु हो भन्ने जस्तो जुन अर्थमा यहाँ कुरा राखियो। तपाईंले गणतन्त्र लडेर ल्याएको होस् अथवा विदेशीको बुई चढेर ल्याएको होस् त्यो गणतन्त्र लुटतन्त्रमा परिणत हुन्छ भने हामी निरन्तररूपमा विरोध गरिराख्छौं। त्यसको विरोधमा हुन्छौं,’ उनले भने।