नेकपा (एकीकृत समाजवादी)ले आगामी स्थानीय तह निर्वाचनमा एउटा पालिकामा कम्तीमा एउटा वडा जित्ने गरी कामको योजना बनाउने पर्ने बताएको छ।
बुधबारबाट सुरू भएको पार्टी पोलिटब्युरो बैठकमा अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा प्रत्येक जिल्लाले कम्तीमा एक पालिकामा विजय हासिल गर्ने र प्रत्येक पालिकाले कम्तीमा एक वडामा विजय हासिल गर्ने लक्ष्य राखेर अगाडि बढियो भने परिणाममुखी काम हुनसक्ने उल्लेख गरेका छन्।
अध्यक्ष नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन बिहीबार र शुक्रबार बस्ने केन्द्रीय कमिटी बैठकमा प्रस्तुत हुनेछ।

‘राजनीतिक रूपले पार्टीका हरेक कमिटीले २०८३, २०८४ सालमा हुने निर्वाचनमा आफ्नो कार्यक्षेत्रभित्र कम्तीमा पनि यति स्थानमा सफलता हासिल गरिनेछ भन्ने लक्ष्यसहितको कार्ययोजना बनाएर काम गर्ने। हरेक प्रदेशले आफ्नो प्रदेशका कम्तीमा दस प्रतिशत संघीय र प्रदेश निर्वाचन क्षेत्रमा विजय हासिल गर्ने। प्रत्येक जिल्लाले कम्तीमा एक पालिकामा विजय हासिल गर्ने र प्रत्येक पालिकाले कम्तीमा एक वडामा विजय हासिल गर्ने लक्ष्य राखेर अगाडि बढियो भने परिणाममुखी काम हुन सक्दछ,’ उनले राजनीतिक प्रतिवेदनमा भनेका छन्।
यस्तो लक्ष्य राखेर काम गर्दा पार्टीले राष्ट्रियता, जनजीविका, सुशासन र सामाजिक न्यायको पक्षमा तथा समाजमा व्याप्त विकृति, विसंगति, अन्याय, अत्याचार र भ्रष्टाचारको विरुद्ध आवाज बुलन्द गर्ने योजना बनाउनुपर्ने प्रतिवेदनमा उल्लेख छ। ‘संसद र प्रदेशसभामा यस विषयमा निरन्तर आवाज उठाउने र हाम्रो पार्टीले नेतृत्व गरेका स्थानीय तहमा विशेष योजना बनाइ जनपक्षीय काम गर्ने गरी जानुपर्छ। दक्षिणपन्थी अवसरवाद र लोकतन्त्रविरोधी कार्यको भण्डाफोर गर्नुपर्छ,’ प्रतिवेदनमा भनिएको छ।