नेकपा (एकीकृत समाजवादी) ले धेरै बैठक बस्ने पार्टीको परिचय बनाएको छ।
मंगलबारदेखि एकीकृत समाजवादीको स्थायी कमिटी बैठक सुरू भएको छ। स्थायी कमिटी बैठकपछि बुधबार पोलिट्ब्युरोको बैठक बस्नेछ। त्यसपछि बिहीबार र शुक्रबार (फागुन ८ र ९ गते) केन्द्रीय कमिटी बैठक तय गरिएको छ।
स्थायी कमिटी र पोलिट्ब्युरो पार्टी कार्यालयमै बस्नेछ। केन्द्रीय कमिटी बैठक भने ललितपुरको प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको भवनमा बस्ने एकीकृत समाजवादीले बताएको छ।
मंगलबारको स्थायी कमिटी बैठकमा रोचक दृश्य देखिएको एक पदाधिकारीले जानकारी दिए। उनका अनुसार मंगलबार बिहान ११ बजेदेखि बैठक तय गरिएको थियो।
नेताहरू आउन विलम्ब भएपछि बैठक केही ढिला सुरू हुने भयो। बैठकको अग्रभागमा पार्टी अध्यक्ष माधवकुमार नेपाल आएर बसिसकेका थिए। कार्यक्रममा निर्धारित समयमा पुग्ने उनको स्वाभावै हो।
अरू नेताहरू आउनेक्रम चलिरहेको थियो।
सम्मानित नेता झलनाथ खनाल आएर स्थायी कमिटीको सदस्यहरूलाई तोकिएको कुर्सीमा त्यो पनि केही पर बसे।
बैठक सुरू भएपछि पदाधिकारीहरूको लहरमा बस्लान् भन्ने नेताहरूले सोचेका रहेछन्।
तर बैठक सुरू गर्ने समय घर्किइसक्दा पनि खनाल मञ्चमा गएनन्।
त्यसपछि एकीकृत समाजवादीका महासचिव घनश्याम भूसाल, स्थायी कमिटी सदस्य विरोध खतिवडा लगायत नेताहरूले खनालको असन्तुष्टिको कारण खोज्न थाले।
खासमा भएको के रहेछ भने सम्मानित नेता खनालको भर्खर छापिएको विधानप्रति गम्भीर असन्तुष्टि रहेछ।
गत असार १६ देखि २० गतेसम्म चलेको १० औं महाधिवेशनले खनाललाई सम्मानित नेता निर्वाचित गरेको थियो। महाधिवेशनको हलले सम्मानित नेता मात्रै होइन, पार्टी अध्यक्ष माधवकुमार नेपाल र महासचिव घनश्याम भूसाल पनि निर्वाचित भएका थिए। बाँकी पदाधिकारी र पोलिट्ब्युरो सदस्यका लागि छुट्टै निर्वाचन भएको थियो।
विधान छापिएर आउँदा सम्मानित नेता केन्द्रीय कमिटीले तोक्ने व्यवस्था भएर आएको रहेछ। पार्टीका वरिष्ठ नेता बेदुराम भुसाल नेतृत्वको कार्यदलले विधान तयार पारेर महाधिवेशनअघि छलफल गरेको थियो। तहगत कमिटीमा छलफल हुँदै आएर महाधिवेशनले पारित गरेको विधान छाप्ने जिम्मा भुसालकै थियो।
छापिएर आएको विधानप्रति खनालको असन्तुष्टि थियो।
‘महाधिवेशनले सम्मानित नेता निर्वाचित गरिसकेको छ। विधानमा केन्द्रीय कमिटीले तोक्ने रहेछ। अब केन्द्रीय कमिटीले तोकेपछि मात्रै मञ्चमा जान्छु भनेर खनालले असन्तुष्टि राख्नुभयो,’ एक नेताले सेतोपाटीसँग भने।
क्षुब्ध खनाल कसैगरी पदाधिकारीको लहरमा नगएपछि केही नेताले उनलाई मञ्चमा पुर्याएका थिए। तै पनि खनालले असन्तुष्टि पोखिरहेका थिए।
महासचिव भूसाल स्थायी कमिटी सदस्यतिर फर्किएर ‘महाधिवेशनभन्दा ठूलो अरू कुनै कमिटी हुँदैन। महाधिवेशनले गरेको निर्णय मान्नुपर्छ, यो विधानमा लेखिएको कुरा सच्चिएर आउँछ हैन त कमरेडहरू’ भन्दै खनाललाई मनाउन खोजेका थिए।
स्थायी कमिटी सदस्यहरूले पनि हो मा हो मिलाए। मंगलबारको बैठक सुरू भयो।
एकीकृत समाजवादीको विधान धारा ४० मा केन्द्रीय कमिटीको व्यवस्था छ। उपधारा २ मा केन्द्रीय कमिटीको आकार तोकिएको छ।
‘केन्द्रीय कमिटी पदाधिकारीसहित २९९ सदस्यीय हुनेछ । यस २९९ मा केन्द्रीय कमिटीबाट मनोनित हुने सदस्य संख्या र केन्द्रीय कमिटीले तोक्ने सम्मानित नेता एवं वरिष्ठ नेताहरूको संख्या थप हुनेछ,’ धारा ४० (२) मा व्यवस्था छ।

खनालको असन्तुष्टि यसैमा हो।
‘विधानलगायत अन्तरपार्टी निर्देशनसँग थुप्रै विषयहरू सच्याउनुपर्नेछ,’ खनालनिकट एक पोलिटब्युरो सदस्यले सेतोपाटीसँग भने, ‘महाधिवेशनले एउटा निर्णय गर्ने विधानमा अर्को व्यवस्था हुन सक्दैन। पार्टीका निर्णयहरू अपानिमा तदनुसार आएका छैनन्।’
स्थायी कमिटी बुधबार पनि बसिरहेको छ। आजको बैठकमा खनाल पदाधिकारीकै लहरमा बसिरहेका छन्।
खनालको असन्तुष्टि विधानमा रहेको सम्मानित नेता चयन गर्ने प्रबन्धमाथि मात्रै नभएर भर्खरै जारी गरिएको अपानिप्रति पनि छ।
माघ १४ गते जारी भएको अन्तरपार्टी निर्देशनमा अनेरास्ववियू र युवा संघका अध्यक्षहरूलाई पदमुक्त गरिएको थियो। अनेरास्ववियूकी अध्यक्ष आरती लामा र युवा संघका अध्यक्ष कृष्णकुमार विश्वकर्मा थिए।
दुवै अध्यक्ष पार्टी महासचिव भूसाल–खनालनिकट हुन्। उनीहरूले अधिवेशनबाट बिदा हुने मौका नदिई निकालिएको आरोप लगाउँदै आएका छन्।
जिम्मेवारीबाट बिदा भएका अनेरास्ववियूका आरती लामा सहितका नेताहरूले समानान्तर गतिविधि गरिरहेका छन्। उनीहरूले केही दिनअघि भेला नै राखेर विद्रोह गर्ने चेतावनी दिएका थिए। कार्यक्रममा प्रमुख अतिथिका रूपमा खनाल नै पुगेका थिए। खनालले पनि विद्रोहको अधिकार कसैले रोक्न नसक्ने बताएका थिए।