प्रधानमन्त्री केपी शर्मा ओलीले १७ महिनालाई सरकार तोपै हाने पनि नढल्ने बताएका छन्। लुम्बिनी प्रदेश सभालाई सम्बोधन गर्दै सोमबार उनले सरकार ढाल्न भइरहेको प्रयास निरर्थक हुने बताएका हुन्।
‘१७ महिनालाई तोप हाने पनि सरकार ढल्दैन, केही गरे पनि सरकार ढल्दैन, अर्थात् प्रधानमन्त्री ढल्दैन,’ उनले भने।
उनले १७ महिनापछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने बताए। यो कुरा प्रष्ट भएकाले सरकार ढाल्ने चलखेलमा नलाग्न पनि प्रधानमन्त्री ओलीले भने।
‘मैले भनेँ १७ महिनाजति पनि बाँकी छ कि छैन। सात महिना बितिसक्यो। अब १७ महिना मैले प्रधानमन्त्री चलाउँछु। १७ महिनापछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाजीले चलाउनुहुन्छ। त्यो डिक्लियर छ। आफै छोड्छु नि, केपी ओलीलाई हटाउनका लागि बल लगाउनै पर्दैन आफै छाड्छु म,’ उनले भने।
उनले छिटो पकाउन केरामा औषधि हालिएझै आफू नगल्ने पनि बताए। ‘केरामा औषधि हाल्छन्, छिटो पकाउन, म त्यसरी छिटो पकाउने, पाक्ने खालको होइन, बोटैमा हाल कि, निकालेर हाल,’ उनले भने।
प्रधानमन्त्री ओलीले अरूको पार्टी फुटाउन आफूलाई रूचि नभएको बताए। उनले दल फुटाउने भन्दा देश बनाउनेमा सरकारको ध्यान रहेको पनि बताए।