सोमबारको प्रतिनिधि सभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले आकस्मिक समय सकिएपछि सभामुख देवराज घिमिरेसँग बोल्न समय मागिन्।
सभामुख घिमिरे शून्य समयको कार्यसूचीतर्फ अघि बढिरहेका थिए।
सांसद श्रेष्ठले आसनमाथिको टेबल ढ्याढ्याप गर्दै समय मागिरहिन्।
त्यसपछि सभामुखले उनलाई नियम सम्झाउन थाले।
‘माननीय सदस्य आसन ग्रहण गर्नुस्। यहाँबाट समय लिएर मात्रै बोल्न पाइन्छ। मैले यहाँलाई समय दिएको छैन। समय लिएर बोल्नुपर्छ भन्ने नियमावलीले गरेको व्यवस्था म ध्यानाकर्षण गराउन चाहन्छु,’ सभामुख घिमिरेले भने।
तर सांसद श्रेष्ठले ढ्यापढ्याप पार्दै समय माग गरि नै रहिन्।
‘समय पाउँदा यहाँले आफ्ना कुरा राख्ने हो, समय नपाउँदा नियमको पालना गर्नुपर्छ,’ सभामुखले उनलाई भने।
त्यसपछि शून्य समय सुरू भयो। सभामुखले बोल्न नदिएको भन्दै सांसद श्रेष्ठ बैठकबाट बाहिरिइन्।
यसमा गल्ती कसको हो भनेर अहिले बहस भइरहेको छ।
हामीले प्रतिनिधि सभा २०७९ को नियमावलीमा भएको व्यवस्था हेर्यौं।
प्रतिनिधिसभा नियमावलीमा प्रतिनिधि सभा सदस्यले ढ्याप ढ्याप गरेर आकस्मिक समय पाउने उल्लेख छ।
‘अघिल्लो बैठक र प्रारम्भ हुन लागेको बैठकको बीचको अबधीको कुनै गम्भीर प्रकृतिको घटना वा विषयको सन्दर्भमा सरकारको ध्यानाकर्षण गराउन सदस्यले ढ्याप ढ्याप गरि समय माग गरेमा सभामुखले आकस्मिक समय उपलब्ध गराउन सक्नेछन्,’ नियमावलीको नियम १५ मा उल्लेख छ।
तर प्रतिनिधि सभाको कार्यव्यवस्था समितिले भने सांसदले ढ्यापढ्याप गर्दैमा समय नपाउने निर्णय गरेको छ।
‘नियमावलीमा त्यस्तो लेखिएको भएता पनि आकस्मिक समय पाउन बैठक सुरू हुनु अघि नै सांसदले बोल्न चाहेको विषय र नाम सभामुखलाई टिपाउनुपर्ने निर्णय कार्यव्यवस्थाले गरेको छ,’ रास्वपा सचेतक निशा डाँगीले भनिन्, ‘त्यसैले हाम्रो सांसद सुमना श्रेष्ठले बैठक सुरू हुनु अघि नै आफूले बोल्न लागेको विषय र नाम टिपाइदिन आग्रह गर्नुभएको थियो। सभामुखज्यूले तपाईं आज नबोल्नुस भन्नुभयो।’
सभामुखले सुरूमा नाम नटिपेको र आकस्मिकको समय आएपछि टिपेका नामहरू बोल्न दिएको तर सांसद श्रेष्ठले जरूरी भएको विषय राख्न खोजेको बताइन्। जबकी सभामुखले आइतबार मात्र नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमलाई शुन्य समयका लागि नाम नटिपाएको भएपनि समय दिएका थिए। सांसद गौतमले काठमाडौंको बबरमहलमा मेलम्चीको पाइप फुटेको र विकासका काममा समन्वय भएको विषय उठाएकी थिइन्। त्यस्तै माघ २९ गतेको बैठकमा एमाले सांसद इश्वरी घर्तीलाई पनि आकस्मिक समय दिएका थिए। घर्तीले रोल्पामा भएको दुर्घटनाबारे बोलेकी थिइन्। तर रास्वपा सांसदलाई भने महत्वपूर्ण विषय नियमावली अनुसार आकस्मिक विषयमा पर्ने विषय हुँदाहुँदै पनि सभामुखले समय दिएनन्।
सांसद श्रेष्ठको आकस्मिक समयमा भारतको वडिसा राज्यको एक विश्वविद्यालयमा नेपाली विद्यार्थीको मृत्यु भएको विषय उठाउन खोजेको बताइन्। समय माग गर्न आफूले बैठक अघि नै सभामुखसँग भेटेको श्रेष्ठले दाबी गरिन्। 'मैले सभामुखलाई नेपाली विद्यार्थीहरु समस्यामा छन् भनेर बोल्न समय मागेँ', श्रेष्ठले भनिन्, 'उहाँले यो विषयमा त परराष्ट्र मन्त्रीलाई जानकारी गराउनुस् भन्नुभयो। '
जवाफमा सांसद श्रेष्ठले आफूले परराष्ट्र मन्त्रीको ध्यानाकर्षण गराउनकै लागि समय मागेको उल्लेख गरिन्। तर सभामुख घिमिरेले 'समय दिन नसकिने' जवाफ दिए। सांसद श्रेष्ठले झण्डै १२ सय नेपाली विद्यार्थी भारतको विश्वविद्यालयबाट निष्कासनमा परेको विषयमा आफूले बोल्न खोजेको बताइन्।
‘एक नेपाली विद्यार्थीको शंकास्पद मृत्यु हुन्छ। विद्यार्थीहरूले घटनाको अनुसन्धान माग्दा विद्यार्थीमाथी आक्रमण हुन्छ, कलेजबाट निकालिन्छन। यो विषयमा पीडित विद्यार्थी हाम्रो सम्पर्कमा छन्, जो भारतस्थित दूतावास र परराष्ट्र मन्त्रालयको वेवास्ताबाट निराश छन्। यो विषय आकस्मिक समयमा उठाउन सदनमा समय दिनुहुन्न सभामुखले। यो दुःखद् छ,’ सांसद श्रेष्ठको सचिवालयले भनेको छ।