प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा प्रदर्शन हुन सक्ने सूचना पाएपछि प्रहरीले आइतबार संसद भवनको सुरक्षामा कडा तुल्यायो।
संसदको कार्यसूचीमा आइतबार प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यक्रम थियो। त्यस्तै नागरिकता ऐनको संशोधन विधेयक माथि सैद्धान्तिक छलफलको कार्यसूची थियो। स्रोतका अनुसार आइतबार संसद भित्रै प्रदर्शन हुन सक्ने सूचना प्रहरीले पाएको थियो।
जसका कारण प्रधानमन्त्री ओली संसद भवन परिसरमा रहँदा बाक्लो संख्यामा सुरक्षाकर्मी खटाइएको थियो। संसद भित्रको सुरक्षाका लागि प्रहरी विशेष कार्यदल छ।
त्यस्तै बैठक कक्षमा पनि प्रधानमन्त्री बोलिरहँदा माथिल्लो भागको दर्शकदिर्घामा सामान्य अवस्थाको तुलनामा धेरै मर्यादापालक खटाइएको थियो। दौरा सुरूवाल लगाएर बैठकमा खटिने सुरक्षाकर्मीलाई मर्यादापालक भनिन्छ।
संसद सचिवालयमा रहेको सुरक्षा स्रोतका अनुसार ‘बैठक कक्षमा प्रदर्शन हुँदैछ’ भन्ने खबर प्रहरी कहाँ पुगेको थियो। ‘कसले प्रदर्शन गर्दैछ भन्ने थिएन,’ स्रोतले भन्यो, ‘तर प्रदर्शन गर्दैछन् भन्ने खबर आएको थियो।’
जसका कारण दर्शकदीर्घामा भएका युवाहरूमाथि मर्यादापालकले निगरानी गरेको थियो।
'सांसदहरूले दिने पासमा केही व्यक्तिले प्रदर्शन गर्दैछन् भन्ने हल्ला थियो,' स्रोतले भन्यो, 'साँचो फाल्न सक्छन्, कालो मास्क वा कपडा प्रदर्शन गर्न सक्छन् भनेर सुरक्षा जाँच बढाइएको थियो।'
प्रहरीले अघिल्लो बैठकहरूको तुलनामा गेटदेखि नै चेकजाँच बढाएको थियो। सांसदका स्वकीय सचिवहरूलाई समेत कार्ड हेरेर मात्र भित्र छिर्न दिइएको थियो। सामान्यतया सांसद सवार गाडीमा भएका अन्य व्यक्तिबारे गेटमा सोधीखोजी कमै मात्र हुने गरेको थियो।
प्रधानमन्त्रीले संसद भित्र सम्बोधन गरेर बाहिरिनु अघि पत्रकारहरूसँग समेत प्रहरीले परिचय मागेका थिए। नयाँ बानेश्वरको संसद परिसर भित्रै प्रहरीको विशेष कार्यदल छ। तर आइतबार हल्ला फैलिएसँगै काठमाडौं प्रहरी परिसर र नगर प्रहरीको छुट्टै टोली समेत परिचालित भएको थियो।