सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले सरकारले ल्याएको अध्यादेश आगामी हिउँदे अधिवेशनमा फास्ट ट्र्याकबाट पारित गर्ने बताएका छन्।
मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को निर्णय सुनाउँदै उनले सरकारले जारी गरेका अध्यादेश संसदको आगामी अधिवेशनमा द्रुत मार्गबाट पारित गर्ने बताएका हुन्।
सरकारले जारी गरेको अध्यादेश संसद सुरू भएको पहिलो दिन पेस गर्नुपर्ने र ६० दिनभित्र प्रतिस्थापन विधेयक ल्याउनुपर्ने संवैधानिक प्रावधान छ।
‘सरकारले सिफारिस गरेर राष्ट्रपतिबाट जारी भएको अध्यादेशहरू संसद् सचिवालयमा दर्ता गरिसकेका छौं। त्यो अध्यादेश फास्ट ट्र्याकबाट पारित गर्ने काम यो हिउँदे अधिवेशनमा हुन्छ,’ सञ्चारमन्त्री गुरूङले भने।
अध्यादेश पारित भएपछि कार्यान्यवन गर्नका लागि नियमावली बनाउने निर्णय मंगलबारको मन्त्रिपरिषद् बैठकले गरेको उनले बताए।
अध्यादेश ल्याउनुमा सरकारको बदनीयत नभएको पनि उनको भनाइ छ। ‘यो संवैधानिक अधिकार हो, मुलुकका आवश्यकता हो। सुशासन प्रबर्द्धन गर्न, अर्थतन्त्रमा देखापरेका समस्या समाधान गर्नका लागि ल्याएका हौं। संसदबाट भागेको भए पनि बदनियत हुन्छ? संसदमा दर्ता गरिसकेका छौं,’ उनले भने।
त्यस्तै मंगलबारको मन्त्रिपरिषद् बैठकले बुधबार सहिद सप्ताहको अन्तिम दिन भएकाले सरकारका तर्फबाट सहिद दिवस मनाउने निर्णय गरेको उनले बताए।
‘पहिला हामी सहिद गेट जान्छौं। प्रधानमन्त्रीसहित मन्त्रीज्यूहरूले त्यहाँ माल्यार्पणसहित श्रद्धाञ्जलि अर्पण गर्छौं। त्यसपछि लैनचौर गएर श्रद्धाञ्जली दिन्छौं,’ उनले भने।
बुधबार भृकुटीमण्डप अथवा खाली हुने ठाउँमा सहिद दिवसको कार्यक्रम गरिने उनले बताए।