सिंहदरबारस्थित राज्य व्यवस्था समितिको हलमा मंगलबार कार्यव्यवस्था परामर्श समितिको बैठक बस्यो।
माघ १८ गते दिउँसो १ बजेदेखि हिउँदे अधिवेशन सुरू हुने सन्दर्भलाई लिएर सभामुख देवराज घिमिरेले बैठक राखेका थिए।
बैठकमा उपसभामुख इन्दिरा राना मगर, कानुन मन्त्री अजय चौरसियासहित विभिन्न दलका प्रमुख सचेतक र सचेतकहरू सहभागी थिए।
बैठकमा सत्तारूढ नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे र प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेबीच अध्यादेशलाई लिएर सवालजवाफ भएको छ।
संसद अधिवेशन सुरू भएकै दिनमा अध्यादेश पेस गर्नुपर्ने व्यवस्था छ। सरकारले माघ १८ गते ६ वटा अध्यादेश पेस गर्ने तयारी पनि गरेको छ।
बैठकमा कांग्रेस प्रमुख सचेतक घिमिरेले संसदले समयमै कानुन बनाएर नदिने हो भने अध्यादेशको संख्या बढ्न सक्ने बताएका थिए।
‘यदि अध्यादेशलाई संसदमा निरूत्साहित गर्ने हो भने कानुन बनाउने निश्चित समयसीमा तोक्नुपर्ने हुन्छ। संसदले समयमै कानुन बनाएर नदिने हो भने सरकारले अध्यादेश ल्याउनुको विकल्प छैन,’ घिमिरेले बैठकमा भने, ‘कानुन बनाएर पनि दिन नसक्ने अध्यादेशको पनि विरोध गर्ने? कानुन बनाउन ढिलो गर्ने हो भने त अध्यादेशको प्रचलन अझै बढेर जान्छ, कानुन विहीनतामा त सरकारले काम गर्न सक्दैन नि!’
सत्तारूढ कांग्रेस सचेतकले सरकारले ल्याएका अध्यादेशको बचाउ गरेपछि प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका सांसद हितराज पाण्डेले आपत्ति जनाए। संसदको ठूलो दलको सचेतकले अध्यादेशबाट सरकार चलाउने कुरा गरेकोमा उनको आपत्ति थियो। यो कुरा प्रतिपक्षी र जनताका लागि राम्रो नभएको पाण्डेले बताएका थिए।
‘कानुन बनाउनका लागि जिम्मेवार त सत्तापक्षका सांसद पनि होलान् नि!, सत्ता पक्षकै सांसदको अनुपस्थितिले समिति र संसद बैठक प्रभावकारी भइरहेको छैन,’ घिमिरेलाई लक्ष्य गर्दै पाण्डेले भने, ‘अहिलेसम्म चार अधिवेशन भएको छ, कुन दलका सांसद कति बैठकमा उपस्थित रहे हाजिरी सार्वजनिक गरियोस्। संसदकै ठूलो दलको सचेतकले अतिरञ्जित कुरा गर्ने?’
यसपछि कांग्रेस सचेतक घिमिरेले कानुन बनाउने प्रक्रिया अत्यन्त धिमा गतिमा भइरहेको बताएका थिए। ‘दुई वर्षमा ११ वटा मात्रै कानुन बनायौं, कानुन ढिला बनाउँदा सरकारलाई अध्यादेश ल्याउन प्रेरित गर्यो,’ घिमिरेले भने।
माओवादी सचेतक पाण्डेले यसअघि पनि संसद विघटन भएको कुरा उप्काएका थिए।
‘यसअघि पनि संसद विघटन भएकै हो। अहिले ६ वटा अध्यादेश आएको छ। यति थोरै समयमा किन ल्याउनुपर्यो यति धेरै अध्यादेश?,’ उनको प्रश्न छ।
नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले पनि अध्यादेशको विरोध गरे। ‘अध्यादेश किन ल्याएको हो?, सरकार ढल्न लागेको हो र?,’ उनले यो प्रश्न गर्दा भने कार्यव्यवस्था समितिमा हाँसो सुनियो।
कांग्रेस सचेतक घिमिरेले संसदबाट कानुन छिटो नबनेको उल्लेख गर्दै 'अध्यादेशबाट देश चलाए भनेर ठूलो कुरा गर्न भएन' भनेका थिए।