राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको बैठक बोलाएको छ।
बुधबार बिहान ११ बजे पार्टी कार्यालयमा बैठक राखिएको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए।
उनकाअनुसार संसदको आगामी अधिवेशनको तयारीबारे बैठकमा छलफल हुनेछ।
प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) सहित विपक्षी दलहरूले सरकारले संसद छलेर अध्यादेश ल्याउनु गलत भएको निष्कर्ष निकाल्दै संसदमा जोडदार रूपमा कुरा राख्ने तयारी गरेका छन्।
रास्वपाले पनि सरकारले जारी गरेको अध्यादेश खोटपूर्ण रहेको निष्कर्ष निकालेको छ। अध्यादेशका अन्तर्वस्तुमाथि भने गुण र दोषका आधारमा बहस गर्ने उसले बताएको छ।
बुधबार बस्ने बैठकमा यसबारे छलफल हुने रास्वपाले बताएको छ। संसदको हिउँदे अधिवेशन यही माघ १८ गते सुरू हुँदैछ।
मंगलबार सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्।
बैठकले अधिवेशन सुरू भएको पहिलो दिनको संसद बैठकको कार्यसूची तय गर्नेछ।
माघ १८ गते प्रधानमन्त्री केपी शर्मा ओलीसहित संसदमा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यसूची छ।