राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने विरूद्धको थुनछेक बहस सुरू भएको छ।
बुटवलको सुप्रिम सहकारीको रकम ठगी र संगठित अपराध अभियोगमा लामिछानेविरूद्ध जिल्ला अदालत रूपन्देहीमा मुद्दा दर्ता भएको थियो।
सोही मुद्दाको विषयमा अहिले जिल्ला न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा उनीविरूद्धको थुनछेक बहस सुरू भएको हो।
न्यायाधीश योगीले लामिछानेसँग बुधबार लिएपछि बिहीबार साढे ११ बजेदेखि थुनछेक बहस सुरू भएको हो।
अहिले सरकारी वकिलको कार्यालय र सहकारी पीडितका तर्फबाट बहस सुरू भएको हो। त्यसपछि बल्ल लामिछानेको तर्फबाट कानुन व्यवसायीले बहस गर्नेछन्।
लामिछानेले हिरासतभित्र बसेर मुद्दा लड्ने वा बाहिर बसेर लड्ने भन्ने विषयमा थुनछेक बहस सुरू भएको हो। बिहीबार पीडितका पक्षबाट बहस सकिए शुक्रबार प्रतिवादीतर्फका वकिलहरूले बहस गर्नेछन्। शुक्रबारसम्म जबाफी बहस सकियो भने सोही दिन लामिछाने आदेश आउने छ। यदि सकिएन भने बहस लम्बिन सक्छ।
मुद्दामा नेपाल सरकारको तर्फबाट उच्च सरकारी वकिलको कार्यालय बुटवलका प्रमुख सहन्यायाधिवक्ता सोमकान्ता भण्डारी, जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख प्रेमराज पौडेल, सहन्यायाधिवक्ता उमाकुमारी केसी, गोकर्णराज घिमिरे, वसन्तराज पोखरेल लगायतले बहस गर्नेछन्। त्यस्तै, सहकारी पीडितका तर्फबाट दिनेश त्रिपाठी र सुरेन्द्र भण्डारीले बहस गर्नेछन्। भण्डारीले लामिछानेलाई हिरासतमा पठाउनुपर्ने आफूहरूको जोड रहने बताए।
उनीहरूको बहस सकिएलगत्तै प्रतिवादी लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्त, सुरज बस्नेत, नारायणदत्त कँडेल, सुरेन्द्र थापा, अधिवक्ता पशुपति भण्डारी, राजेन्द्र सेढाइ र सुनीता राउत लगायतले बहस गर्ने तयारी छ। इजलासमा पीडितले पनि बोल्न पाउनुपर्ने माग आफूहरूले गरेको सुप्रिम सहकारी पीडित संघर्ष समितिका संयोजक विजयकुमार नेपालले बताएका छन्।
बुधबार रूपन्देही जिल्ला अदालतमा हाजिर भएका लामिछानेसँग न्यायाधीश योगीले बयान लिएपछि थुनछेक बहसका लागि समय अभाव भएपछि मुद्दा हेर्दाहेर्दैमा राखेर उनलाई परिवार र कानुन व्यवसायीको जिम्मा जमानीमा छोडेका थिए।
अदालतका स्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीका अनुसार लामिछानेले आफूविरूद्ध जाहेरी परेको सुनेपछि आफै अदालत आएको बताउँदै प्रहरी हिरासतमा नराखी मुद्दा अगाडि बढाउन आग्रह गरेपछि न्यायाधीश योगीले श्रीमती निकिता पौडेल र उनका कानुन व्यवसायी नारायणदत्त कँडेलको जिम्मा लगाएका थिए।
यसअघि पोखराको सूर्यदर्शन सहकारीको रकम ठगीको मुद्दामा कास्की ८४ दिन हिरासत बसेका लामिछानेलाई काठमाडौंको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम ठगीसम्बन्धी अभियोगमा काठमाडौं जिल्ला अदालतले हिरासतमै राखेर बयान र थुनछेक बहस गराएको थियो।
ती दुवै अदालतमा उनले हिरासतबाहिरै बसेर थुनछेक बहसमा सहभागी हुन पाउनुपर्ने अपिल गरेका थिए। रूपन्देही अदालतले भने उनको मागअनुसारै बिहीबार बिहान १० बजे अदालतमा उपस्थित हुने सर्तमा हिरासतबाहिरै बस्ने सुविधा दिएको थियो।
रूपन्देही जिल्ला अदालतमा बुधबार बयानका क्रममा अभियोग पत्रका आधारमा तयार गरिएका झन्डै २ दर्जन प्रश्न गरिएको थियो। त्यसमा लामिछानेले इन्कारी बयान दिएका थिए। गोर्खा मिडियाको आम्दानी र बैंक खातामा जम्मा हुने रकमको सबै जिम्मेवारी र जानकारी कम्पनीका अध्यक्ष गितेन्द्रबाबु (जीवी) राईमै रहेको उनको दाबी थियो।
प्रहरीले सुप्रिम सहकारी रकम ठगीमा पहिलो चरणको अनुसन्धान गरेर गत वैशाख २ मा लामिछाने, जोशीबाहेकका २८ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो।
लामिछानेसहितका १४ जनाविरूद्ध गत असोज ५ मा पूरक जाहेरी परेपछि इलाका प्रहरी कार्यालयले अनुसन्धान सकेर दर्जन बढी तथ्य र प्रमाणसहित पूरक अभियोग दर्ता गर्न सरकारी वकिल कार्यालयलाई सिफारिस गरेको थियो । दोस्रो चरणको अनुसन्धानपछि पहिलो चरणमा प्रतिवादीलाई पनि कसुर र बिगो थपेर प्रतिवादी बनाइएको छ।
पूरक अभियोग पत्रमा जिबी राई, लामिछाने र जोशीका साथै कुमार रम्तेल, शिवबहादुर गुरूङ, लक्ष्मीप्रसाद पौडेल, दीपक लामा, अनन्तबाबु राई, श्रीवल्लभ नेपाल, शिवप्रसाद पौडेल, वीरबहादुर रानाभाट, विशाल तामाङ, रविना रिमाल, भगवती बम्जनलाई प्रतिवादी बनाइएको छ।
विज्ञान राई, नरेश जीसी, भूपेन्द्र राई, देवेन्द्रबाबु राई, सागर केसी, नवीन अछामी, असरफ अलि सिद्दिकी र हेमन्त अधिकारी पनि प्रतिवादी छन्। उनीहरूमध्ये कुमार रम्तेल र शिवबहादुर गुरुङ पहिले नै पक्राउ परेर पुर्पक्षका लागि कारागारमा छन्।
कात्तिक २ मा पक्राउ परेका लामिछाने यसअघि पोखराको सूर्यदर्शन सहकारी ठगीमा ६५ लाख र काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीमा ६० लाख रुपैयाँ धरौटी बुझाएर छुटेका छन्। दुवै अदालतले ‘कसुदार छैनन् भन्ने अवस्था नदेखिएको’ भन्दै उनीसँग धरौटी माग गरेका थिए।
जिल्ला सरकारी वकिलको कार्यालयले सुप्रिम सहकारीको रकम संगठित ठगीमा गत आइतबार २२ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालतमा पूरक अभियोगपत्र दर्ता गरिएको थियो। पूरक अभियोगमा ५५ करोड ५९ लाख ८३ हजार ८ सय ४२ रुपैयाँ बिगो मागदाबी गरिएको छ।
त्यसबाहेक लामिछाने, गोर्खा मिडियाका अध्यक्ष राई र पूर्वउपाध्यक्ष छविलाल जोशीसँग सामूहिक दायित्वमा थप १० करोड ९९ लाख रुपैयाँ बिगो माग गरिएको छ। लामिछानेलाई व्यक्तिगत रूपमा २ करोड बिगो पनि मागदाबी गरिएको छ।