राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डोलप्रसाद अर्याल (डिपी) ले आफूहरू सरकारले ल्याएका अध्यादेशका अन्तरवस्तु (कन्टेन्ट) अध्ययन गरिरहेको बताएका छन्।
सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले हालै पाँच वटा अध्यादेश जारी गरेका थिए।
संसद छलेर अध्यादेश ल्याएको भन्दै प्रतिपक्षी दलहरूले विरोध गरिरहेका छन्।
यसै सन्दर्भमा न्युज एजेन्सी नेपालले रास्वपा कार्यवाहक सभापति अर्याललाई अध्यादेशबारे सोधेको छ।
जबाफमा अर्यालले भनेका छन्, ‘हामीले अध्यादेश आइसकेपछि यसको विषयवस्तु र कन्टेन्टमा अध्ययन गर्नुपर्छ भनेर काम गरिरहेका छौं। हाम्रो साथीहरू अध्यादेशको अध्ययनमा लागिरहनुभएको छ। पार्टीको तर्फबाट पनि हामी यसमा काम गरिरहेका छौं। अध्यादेशमा आएका सबै कुरा खराब नहुन सक्छन्। केही कुराहरु जनताको पक्षमा हुन सक्छन्। त्यसलाई हामीले भुल्नु हुँदैन।’
उनले अध्यादेशमा उल्लेख गरेका कुरा सही भए पनि ल्याउने बाटो गलत भयो भन्ने पार्टीको प्रारम्भिक धारणा रहेको पनि बताए।
‘हामी यसमा अध्ययन गरिरहेका छौं। संसद चल्नुभन्दा एक दुई दिन अगाडि नै हामी अध्यादेशमा स्पष्ट र औपचारिक धारणा बनाउँछौं,’ उनले भने।
यो पनि: रास्वपा फैलँदो अवस्थामा छ: कार्यवाहक सभापति अर्याल