राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डोलप्रसाद अर्याल (डिपी) ले रास्वपा फैलँदो अवस्थामा रहेको बताएका छन्।
रास्वपा आफैमा संस्था बनिसकेको र सभापति रवि लामिछाने कानुनी लडाइँमा रहे पनि पार्टी चलिरहेको उनले बताए।
न्युज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा कार्यवाहक सभापति अर्यालले भने, ‘रास्वपा फैलँदो अवस्थामा छ। यो पार्टी आफैंमा संस्था बनिसकेको छ। त्यसकारण सभापति आफ्नो कानूनी लडाइँ लड्दै गर्दा पनि पार्टी आफ्नो ठाउँमा चलिरहेको छ।’
सभापति लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुर लागेको छ।
पोखराको सुर्यदर्शन सहकारी र काठमाडौंको स्वर्णलक्ष्मी सहकारी लगायतको बचत गैरकानुनी रूपमा गोर्खा मिडियामा पुगेको विषयमा उनीविरूद्ध मुद्दा छ।
जिल्ला अदालत कास्कीबाट ६५ लाख र जिल्ला अदालत काठमाडौंबाट ६० लाख धरौटीमा लामिछाने रिहा भएर अहिले बुटवलको सुप्रिम सहकारीको मुद्दामा बयानका क्रममा छन्।
कार्यवाहक सभापति अर्यालले पार्टी सभापति माथिको मुद्दा अदालतमा प्रवेश गरिसकेको हुनाले त्यतातिर धेरै बहस गर्न आवश्यक नभएको पनि बताए।
‘तर एउटा छुटाउनै नहुने कुरा सरकारले प्रतिशोध साँधेको स्पष्ट र स्थापित भइसकेको छ। यसमा मैले धेरै टिप्पणी गरिरहनु भएन। जहाँसम्म रास्वपाको कुरा छ, पार्टी स्थापना हुँदा हाम्रो पार्टी सभापतिको फेस नै हाम्रो लागि महत्त्वपूर्ण कुरा थियो। यसमा दुई मत नै रहेन,’ उनले भने।
उनले आफूहरू निरन्तर जनताको काममा रहेको बताए।
‘सदन नहुँदा संसदीय समितिहरूमा हाम्रो उपस्थिति बलियो छ। अब दुई ठूला दल मिलेर सरकार बनेको छ। समितिमा उहाँहरूकै बहुमत छ तर समितिमा कोरम पुग्न सक्दैन, अनि त्यहाँ रास्वपा हरायो भन्ने हो त?,’ उनले प्रश्न गरे।
उनले सुशासन र भ्रष्टाचार नियन्त्रणका विषय आफूहरूले उठाएको पनि बताए।
साथै उनले रास्वपा कमजोर नरहेको पनि बताए।
‘अहिले रास्वपा सभापति पक्राउ पर्नुभन्दा अगाडिकै अवस्थामा छ, कमजोर छैन। सभापतिले कानूनी लडाईं लड्दै गर्दा हामी पार्टीलाई अझै स्थापित गर्दै जानुपर्छ भन्ने कुरालाई लिएर अगाडि बढिरहेका छौं। त्यो स्थापित गर्नु भनेको जनताको मुद्दामा बसह गर्नु नै हो,’ उनले भने।
उनले रास्वपा अझै बलियो भएर अघि बढेको दाबी गरे।
‘संसदको आउँदो अधिवेशनबाट राम्रो उपस्थिति देखाउन सक्छौं भन्ने लागेको छ। रास्वपामाथिको चिन्ता र अविश्वासको अन्त्य गर्न पनि आउँदो अधिवेशन हाम्रो लागि महत्त्वपूर्ण हुन्छ,’ उनले भने।