राप्रपा र राप्रपा नेपालबीच पार्टी एकतामा गतिरोध देखा परेको छ।
पृथ्वी जयन्तीअघि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहित राप्रपा नेताहरू र राप्रपा नेपालका अध्यक्ष कमल थापाबीच बाक्लो संवाद भए पनि त्यसपछि संवादहीनता र आरोप प्रत्यारोपको अवस्था छ।
राप्रपा र राप्रपा नेपालबीच एकता तत्काल अघि नबढ्नुमा मुख्य तीन वटा कारण सतहमा आएका छन्।
पहिलो, एकताको पक्षमा राजेन्द्र लिङ्देन तयार नहुनु,
दोस्रो, एकअर्कालाई स्वीकार्ने अवस्था नबन्नु,
तेस्रो, आरोप-प्रत्यारोपको अवस्था बन्नु।
राप्रपा र राप्रपा नेपाल दुवैले पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउँछन्। यसपालि पनि दुवै पार्टीले चियापान समारोह गरे।
बेग्लाबेग्लै आयोजना गरिएको चियापानमा राप्रपा र राप्रपा नेपालले एकअर्कालाई पनि निम्तो दिए। राप्रपाको चियापानमा थापा देखिए पनि राप्रपा नेपालको चियापानमा लिङ्देन गएनन्।
लिङ्देन र थापाबीच पुस २७ को चियापानमा भेट भएपछि संवाद हुन सकेको छैन।
राष्ट्रवादी, राजावादी, हिन्दुवादी शक्तिहरू छरिएर रहँदा जनाधार कमजोर भएको निष्कर्षमा पुगेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टी एकताका लागि पहल सुरू गरेका हुन्। जबकि पार्टी एकताबारे लिङ्देनले हुन्छ वा हुन्नसम्म पनि भनेका थिएनन्।
पार्टी एकताका लागि गरेको प्रस्तावमा लिङ्देन पनि सकारात्मक रहेको रूपमा थापाले बुझेका थिए। त्यसैले पनि हुनुपर्छ, थापाले लिङ्देन तयार हुने हो भने एक सातामै पार्टी एकता हुने अभिव्यक्ति दिएका थिए।
तर राप्रपा अध्यक्ष लिङ्देन तत्काल पार्टी एकताका पक्षमा पुगेकै थिएनन्। उनले यो कुरा राप्रपा नेपालका अध्यक्ष थापासँग भेटमा त भनेनन् तर उनको गृहनगर हेटौंडा पुगेर मनका कुरा खोले।
जसले गर्दा राप्रपा र राप्रपा नेपालबीच एकीकरण प्रक्रियामै गतिरोध सिर्जना गरेको रूपमा थापाले बुझेका छन्।
‘मैले पार्टी एकताको प्रस्ताव गरेको पार्टी चलाउन नसकेर वा कमजोर छौं भनेर होइन,’ लिङ्देनलाई जबाफस्वरूप थापाले सामाजिक सञ्जाल एक्समार्फत् सोमबार भनेका छन्, ‘हालका भ्रष्ट शासकबाट देशलाई मुक्त तुल्याउने र राजसंस्था, हिन्दुराष्ट्र स्थापना गर्ने अहिले सर्वाधिक अनुकूल परिस्थिति भएको हुँदा सबै राष्ट्रवादी शक्ति मिलेर अन्तिम धक्का दिउँ भनेर हो, यो समय फेरि नआउन सक्छ।’
पार्टी एकताका लागि अहिले अनुकूल समय रहेको बताएका थापालाई लिङ्देनको अभिव्यक्तिले धक्का दिएको छ।
लिङ्देनले हेटौंडा पुगेर गत शनिबार अहिले नै राप्रपा एकीकृत शक्ति रहेको र कसैसँग पनि एकता नहुने बताएका थिए। यो अभिव्यक्तिपछि थापाले सोमबार पार्टी चलाउन नसकेर एकताको पहल गरेको होइन भन्ने जबाफ फर्काएका हुन्।
‘तपाईंहरू ढुक्क हुनुस्, राप्रपा एकीकरणको पक्षमा छैन, अहिले नै एकीकृत शक्ति, राप्रपा छ,’ राप्रपा नेपालका अध्यक्ष थापाप्रति लक्ष्य गर्दै उनले भनेका थिए, ‘कोहीसँग एकीकरण हुने बजार हल्लाका पछि राप्रपा लाग्दैन।’
पार्टी एकता गर्ने आफ्नो प्रस्ताव र पहललाई लिङ्देनले बजार हल्लाको संज्ञा दिएपछि थापा पनि असन्तुष्ट छन्। तर लिङ्देन भने आफू नेतृत्वको राप्रपा एकीकृत शक्ति रहेको बताउँछन्।
‘पहिले राप्रपामा सूर्यबहादुर, लोकेन्द्र पक्ष हुन्थ्यो, जबरा र थापा पक्ष पनि भयो कुनै बेला, तर अहिले राप्रपामा सबै राप्रपा पक्ष मात्रै छन्,’ लिङ्देनले हेटौंडामा भनेका थिए।
राप्रपा नेपाललाई राप्रपामा मिसाउँदा फेरि विगतमा जस्तै पार्टीभित्र गुट देखा पर्ने अवस्था आउन सक्ने लिङ्देनको बुझाइ छ।
राप्रपा र राप्रपा नेपालका अध्यक्षहरू नै एकता प्रक्रियामा नदेखिएकोले तत्काल पार्टी एकताको सम्भावना टरेको छ।
तर देशमा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति आवश्यक पर्ने भएकोले ढिलोछिटो राप्रपा र राप्रपा नेपाल एक हुने विश्वास गर्छन्, राप्रपा प्रवक्ता मोहन श्रेष्ठ।
‘अहिले दुवै पार्टीका अध्यक्षका बीचमा जुहारी चलेजस्तो देखिन्छ तर देशलाई बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको आवश्यकता परेकोले ढिलोछिटो एकीकृत शक्ति बन्छ,’ उनले भने, ‘राप्रपाले समान विचार भएकाहरूसँग एकता, सहकार्य र मोर्चा बनाएर बढ्ने नीति लिएको छ।’
तर राष्ट्रवादी प्रजातान्त्रिक धारको मुख्य शक्ति भने राप्रपा नै भएको प्रवक्ता श्रेष्ठको दाबी छ। ‘यो धारको मुख्य शक्ति राप्रपा नै हो, त्यसैले राप्रपालाई सबल बनाउन छरिएर रहेका राष्ट्रवादी शक्तिहरू राप्रपामा मिसिनु नै पर्छ,’ उनले भने, ‘विद्यमान परिस्थिति बदल्न पनि बिनास्वार्थ एकीकृत शक्ति बनाउनुपर्छ।’
राप्रपा अध्यक्ष लिङ्देन र राप्रपा अध्यक्ष थापा एकअर्कालाई स्वीकार गरेर अघि बढ्न सक्छन् कि सक्दैनन् भन्ने संशय पनि छ। त्यस कुरा निर्क्यौल नहुन्जेल पनि पार्टी एकता ठोस रूपमा अघि नबढ्ने राप्रपाका नेताहरू बताउँछन्।
‘महाधिवेशनमा अध्यक्ष पदमा लिङ्देनसँग पराजित भएपछि उहाँ (कमल थापा) पार्टीबाटै बाहिरिनुभयो,’ राप्रपाका एक पदाधिकारीले भने, ‘चुनावमा आफै हार्ने र अरूले पनि नजित्ने अवस्था बनेपछि पार्टी मिसाउने कुरा गर्दै हुनुहुन्छ, उहाँलाई राप्रपामा ल्याएदेखि कुन पद दिने र गुट जन्मनेजस्ता खतरा देखिन्छ।’
राप्रपा नेपालका अध्यक्ष थापाले राप्रपासँग एकताका लागि मरिहत्ते गरेको पनि ती पदाधिकारीले दाबी गरे। ‘महाधिवेशनपछि निर्वाचित अध्यक्षलाई स्वीकार गर्नुभएन अहिले फेरि एकताका लागि मरिहत्ते गर्नुभएको छ,’ ती पदाधिकारीले भने, ‘किन हो बुझ्न सकिएको छैन, त्यसैले पनि अध्यक्ष (लिङ्देन) ले उहाँ (थापा) लाई धेरै भाउ दिनुभएको छैन।’
पार्टी एकताका लागि राप्रपा नेपालका अध्यक्ष थापाले नै पहल थालेका थिए। उनले राप्रपा अध्यक्ष लिङ्देन, पशुपतिशमशेर राणा, प्रकाशचन्द्र लोहनी, बुद्धिमान तामाङ, विक्रम पाण्डे, उद्धव पौडेल, मोहन श्रेष्ठ लगायतसँग कुराकानी गरेका थिए।
राप्रपा नेपालका अध्यक्ष थापाले राजसंस्था र हिन्दुराष्ट्र स्थापना गर्न सर्वाधिक अनुकूल परिस्थिति रहेको निष्कर्षसहित सबै राष्ट्रवादी शक्ति मिलेर अन्तिम धक्का दिन एकताको पहल थालेको बताउँदै आएका छन्।
२०७८ मंसिरमा भएको राप्रपा महाधिवेशनमा अध्यक्षमा थापा र लिङ्देनबीच प्रतिस्पर्धा हुँदा लिङ्देन विजयी भएका थिए।
अध्यक्षमा पराजित भएपछि २०७८ माघ २५ गते थापाले गृहजिल्ला मकवानपुर पुगेर 'अत्यन्त भारी मन र पीडाबोधका साथ राप्रपाबाट अलग हुने निर्णय गरेको' भन्दै पार्टी परित्यागको घोषणा गरेका थिए।
यो पनि: कमल थापा र राजेन्द्र लिङ्देन पार्टी एकीकरण वार्तामा