रवि लामिछाने लगायतविरूद्ध सुप्रिम सहकारीको रकम अपचलन सम्बन्धी पूरक मुद्दा आइतबार जिल्ला अदालत रूपन्देहीमा पेस गरिएको छ।
सुप्रिम सहकारीको रकम अपचलन र संगठित अपराध कसुरमा कारबाही गर्न माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री लामिछाने र गोर्खा मिडिया नेटवर्क प्रालिका उपाध्यक्ष समेत रहेका पूर्वडिआइजी छविलाल बन्जाडे जोशीसहित २२ जनाविरूद्ध जिल्ला सरकारी वकिलको कार्यालय रूपन्देहीले अदालतमा मुद्दा पेस गरेको हो।
यसअघि लामिछाने र जोशीसहित १४ जनाविरूद्ध पूरक मुद्दा लैजाने भनिएकोमा थप आठ जनाविरूद्ध पनि पूरक मुद्दा लगिएको हो।
जिल्ला सरकारी वकिल कार्यालयले सुप्रिम सहकारीका एक हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ हिनामिना गरेको दाबी गर्दै २८ जनाविरूद्ध २०८१ वैशाख ३ गते जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो।
त्यतिबेला सहकारी ठगीसम्बन्धी मात्र कसुर लगाई १ अर्ब ३ करोड मात्र बिगो माग गरेको थियो। त्यसमध्ये १७ जनालाई सहकारी ठगी र संगठित अपराधको कसुर र बिगो माग गर्दै बिहीबार अदालतमा पेस गरिएको थियो भने आठ जनाविरूद्ध पनि लामिछाने र जोशी लगायतका १४ जनासहित पूरक मुद्दा पेस गरिएको जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलले जानकारी दिए।
आइतबार अदालतमा पेस गरिएको २५६ पृष्ठको पूरक अभियोगपत्रमा लामिछाने र जोशी लगायतलाई सहकारी ठगी र संगठित अपराधको कसुर अनुसारको कारबाही र बिगो माग गरिएको छ।
यसअघि इलाका प्रहरी कार्यालय बुटवलले गत पुस २६ गते नै लामिछाने सहितका व्यक्तिलाई प्रतिवादी बनाउनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीमा बुझाएको थियो।
जिल्ला सरकारी वकिलको कार्यालयले प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदन अध्ययन गरेर अभियोगपत्र तयार गरी अदालतमा पेस गरेको हो।
जिल्ला सरकारी वकिलको कार्यालयले पेस गरेको पूरक अभियोगपत्रमा लामिछाने र जोशी दुबै जनालाई सहकारी ठगी र संगठित अपराध कसुरको कारबाहीसहित ४ करोडभन्दा बढीको बिगो माग गरिएको छ।
लामिछानेलाई उनको व्यक्तिगत दायित्वको दुई करोड र सामूहिक दायित्वको दुई करोडभन्दा बढी गरी चार करोड बढीको बिगो माग गरिएको छ।
जिल्ला सरकारी वकिलको कार्यालयले पेस गरेको अभियोगपत्रलाई अध्ययन गरेपछि मात्र जिल्ला अदालतमा दर्ता गरिने जिल्ला अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले जानकारी दिए।
यसअघि लामिछाने र जोशीविरूद्ध पोखराको सूर्यदर्शन सहकारी र काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा पोखरा र काठमाडौंमा अभियोग दर्ता भएको थियो।
सहकारी ठगी अभियोगमा गत कात्तिक २ गते कास्की प्रहरीको हिरासतमा रहेका लामिछाने अदालतको आदेशपछि ६५ लाख धरौटी बुझाएर पुस २६ गते हिरासतमुक्त भएका थिए। जोशी भने ८८ लाख धरौटीमा रिहा भएका थिए।
त्यसलगतै लामिछाने जिल्ला अदालत काठमाडौंमा पनि उपस्थित भएर ६० लाख धरौटीमा हिरासत मुक्त भईसकेका छन् भने जोशी आइतबार मात्रै काठमाडौं अदालतमा उपस्थित भएका छन्।
रूपन्देहीमा पूरक अभियोग पत्र दर्ता भएपछि लामिछाने र जोशीलाई रूपन्देही ल्याएर थुनछेक बहस हुनेछ। त्यसपछि चितवनको सहारा चितवन र पर्साको सानोपाइला सहकारी प्रकरणमा पनि उनीहरू दुवै जनाविरूद्ध मुद्दा चलाउने तयारी छ।