अखिल क्रान्तिकारीबाट बिदा भएकालाई ७ दिनभित्र व्यवस्थापनको सुझाव पेश गर्न माओवादी केन्द्रले कार्यदललाई निर्देशन दिएको छ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव देव गुरूङले कार्यदललाई पत्र पठाउँदै ३२ वर्षे उमेर हद लगाएपछि जिम्मेवारी मुक्त हुने अखिल क्रान्तिकारीका नेताहरूलाई कसरी व्यवस्थापन गर्ने भनेर सुझाव पेश गर्न निर्देशन दिएका हुन्।
गत पुस २१ देखि २३ गतेसम्म बसेको केन्द्रीय समिति बैठकले ३२ वर्षे उमेर हदबाट बिदा हुने क्रान्तिकारीका नेताहरूको व्यवस्थापन गर्न शक्ति बस्नेत, हिमाल शर्मा र पञ्चा सिंह रहेको कार्यदल बनाएको थियो।
अध्यक्ष प्रचण्ड र महासचिव गुरूङले उक्त कार्यदललाई सात दिनको समयसीमा तोकेका हुन्।
‘अनेरास्ववियू (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलनमा विधान निर्माणको सन्दर्भमा गत पौष १३ गते सम्पन्न भएको ३२ वर्ष उमेर हद लगाउने वा खुल्ला राख्ने भन्ने निर्वाचनबाट ३२ बर्ष उमेर हद लगाउने पक्षमा बहुमत रहेको सन्दर्भमा त्यस प्रावधानका कारण लामो समय संगठनमा खर्चेका उर्जाशील युवा विद्यार्थीहरू बिदा हुनुभएको अवस्था छ,’ अध्यक्ष र महासचिवले जारी गरेको पत्रमा भनिएको छ, ‘कार्यदललाई संगठनबाट बिदा हुनुभएका विद्यार्थी नेताहरूको क्षमता, रूचि र पार्टीको आवश्यकताको आधारमा कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा एक हप्ता भित्रमा सुझाव सहितको प्रतिवेदन बुझाउन निर्देशन गरिन्छ।’
अखिल क्रान्तिकारीमा नयाँ नेतृत्वका लागि माघ १२ गते निर्वाचन हुँदैछ। गत पुुस १३ गते उमेर हदबारे निर्वाचन भएको थियो।
उमेर हदका पक्षमा बहुमत आएकाले १७९ सदस्यीय पदाधिकारीमध्ये १३८ जना बाहिरिन्छन्। ४१ जना मात्रै बाँकी रहन्छन्।
केन्द्रीय सदस्यमध्ये पनि १५० जना बाहिरिने अखिल क्रान्तिकारीका नेताहरू बताउँछन्। अखिल क्रान्तिकारीको अहिलेको कमिटी २३ सय सदस्यीय छ।