राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आइतबार पनि बस्दैछ।
बिहान ८ बजेबाट पार्टी कार्यालय चःमतिमा बस्ने बैठकको आरम्भमा संविधान परिमार्जनबारे छलफल हुनेछ।
त्यसपछि पार्टीको राजनीतिक प्रतिवेदनको प्रस्तावनाको व्याख्या एवम् सर्वांगिण विकासको भावी रोडम्यापबारे छलफल हुने कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए।
जलेश्वर बैठक र राष्ट्रिय भेलामा प्रस्तुत पार्टी सभापति रवि लामिछानेको राजनीतिक प्रतिवेदनका आधारमा गर्नुपर्ने, पार्टीको आगामी कार्यदिशा, कार्यक्रम तालिकाबारे छलफल हुने कार्यसूची रहेको उनले बताए।
आजको बैठकमा केन्द्रीय समिति, सल्लाहकार परिषद् र थिंकट्यांक एवम् केन्द्रीय विभागको पुनर्संरचनाबारे छलफल हुने कार्यवाहक प्रवक्ता झाको भनाइ छ।
त्यस्तै, पार्टीको बैठक सञ्चालन कार्यविधि संशोधन, पार्टीको आचार संहिताबारे छलफल र बैठकको समीक्षा गर्दै समापन हुने झाले बताए।
आइतबार पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्याल, उपसभापति स्वर्णिम वाग्लेले समसामयिक राजनीति सन्दर्भमा जानकारी गराउँदै पार्टीका गतिविधिका बारे विषय राखेका थिए।
शनिबारको बैठकमा मंसिर १६ गते भएको स्थानीय तहको उपनिर्वाचनमा समीक्षा प्रतिवेदन पेश गरिएको थियो। बैठकमा उक्त निर्वाचनमा पार्टीका अनुभव सिकाई र चुनौतिहरूका सम्बन्धमा छलफल गरिएको झाले बताए।
शनिबारको बैठकले पार्टीको संगठन निर्माण अभियानलाई सक्रिय रूपमा सञ्चालन गर्ने निर्णय गरेको थियो।
पार्टीको अधिवेशन तथा महाधिवेशन सम्पन्न गर्दै संगठन निर्माण चरणलाई निर्धारित समयमा पूा रगर्न राष्ट्रव्यापी संगठन निर्माण अभियान सञ्चालन गर्ने पनि निर्णय भएको थियो।
त्यसका लागि केन्द्रीय सदस्यको नेतृत्वमा केन्द्रीय विभाग, प्रदेश समिति, प्रदेश विभाग साथै पार्टीको सम्बन्धित निकायहरूले सिफारिस गरेको विज्ञ सदस्यहरू रहेको जिल्ला समिति अन्तर्गतका पार्टीको संरचनाहरूलाई सहयोग तथा सहजीकरण गर्न जिल्ला अनुसारको कार्यदल निर्माण गर्ने छलफल भएको थियो।
कार्यदलले सदस्यता विस्तार साथै पालिका तथा वडा समितिहरू निर्माण गर्न जिल्ला समिति तथा पालिका समितिहरूलाई सहजीकरण गर्ने झाले बताए।
यो अभियान यही माघ २ गतेबाट सुरू गरी दुई महिनासम्म सञ्चालन गर्ने छलफल भएको थियो।
सरकारले अध्यादेशमार्फत् ल्याइएको सहकारी सम्बन्धी विधेयकका सम्बन्धमासमेत छलफल भएको झाले जानकारी दिएका छन्।