नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले नुवाकोटको शेरा दरबार जग्गा प्रकरणमा निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन्।
उनले ललिता निवासको जग्गाजस्तै शेरा दरबारको जग्गा पनि सरकार मातहत ल्याउन आग्रह गरेका हुन्।
प्रतिनिधि सभाअन्तर्गत बिहीबारको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा बोल्दै उनले शेरा दरबारको जग्गा सरकारको नाममा फिर्ता ल्याउन सरकारको ध्यानाकर्षण गराएका हुन्।
बैठकमा एमालेका सांसद वासुदेव घिमिरेले शेरा दरबारको जग्गा हिनामिना भएका विषय आएकोले त्यसबारे गृहमन्त्री रमेश लेखकसँग जबाफ मागेका थिए। गृहमन्त्री लेखकले यसबारे अध्ययन र अनुसन्धान भइरहेको बताएका थिए।
उक्त प्रसंगपछि बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले शेरा दरबार जग्गा प्रकरणको निश्पक्ष छानबिन गरी दोषिलाई कारबाही गर्न चाहेको खण्डमा सरकारलाई सहयोग गर्न तयार रहेको बताएका हुन्।
शेरा दरबारको जग्गा प्रकरणमा मुछिएका विकेश श्रेष्ठ माओवादी कार्यकर्ता रहेको चर्चा पनि भएको थियो। तर अध्यक्ष दाहालले भने उनले १२, १५ वर्षअघि नै माओवादी छाडेको बताएका थिए।
‘राज्य र सरकारको जमिन कुनै व्यक्तिले गैरकानूनी रूपले व्यक्तिको नाममा गर्छ भने त्यो व्यक्ति जो कोही भए पनि कानूनको दायरामा ल्याउनुपर्छ,’ उनले भने, ‘अहिले शेरा दरबारको चर्चा सुनेपछि दोषीलाई कारबाही गरियोस्, सरकारलाई सहयोग गर्न तयार छौं भनेको थिएँ। कानून विपरीत काम भएको छ भने जसरी ललिता निवासको सयौं रोपनी जग्गा सरकारको नाममा फिर्ता ल्याइयो त्यसैगरी शेरा दरबारको पनि भयो भने म सरकारलाई सहयोग मात्र होइन धन्यवाद भन्नेछु।’
नुवाकोटको विदुर नगरपालिका वडा नम्बर २ स्थित शेरा दरबार र त्यसले चर्चेको १८४ रोपनी ४ आना १ पैसामध्ये १६४ रोपनी १३ आना २ दाम जग्गा हिनामिना भएको चर्चा छ।
सार्वजनिक जग्गा गैरकानुनी रूपमा कम्पनीमा सार्ने समूहमाथि कारबाही गर्न अख्तियारलाई पनि सिआइबीले पत्राचार गरेको थियो।
भिडिओ: