प्रतिनिधि सभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भ्रष्टाचारका ठूला-ठूला काण्ड टुंगोमा पुर्याउन बरू शक्तिशाली आयोग नै बनाएर पनि जान सकिने विषय राखे।
नेताहरूले एकअर्कालाई खुइल्याउने नाममा भ्रष्टाचारमा जोड्ने र ती विषय लामो समयसम्म पनि टुंगोमा नपुग्ने गरेको प्रसंग उल्लेख गर्दै सांसदसमेत रहेका थापाले पार्टीकै तर्फबाट धारणा राखेको भन्दै बरू शक्तिशाली आयोग बनाएर ठूला भ्रष्टाचारका काण्ड अध्ययन गरी टुंगोमा पुर्याउनुपर्ने बताएका हुन्।
‘आमन्त्रित गरेर भए पनि प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरूलाई यो बैठकमा बोलाऔं, भ्रष्टाचारका कुन-कुन काण्डहरूको फाइल खोल्ने हो, कहिले सरकारमा बसेकोले फाइल खोलिदिन्छु भन्ने कहिले सरकारबाट बाहिर गएको मान्छेले मैले फाइल खोल्दिन लागेको थिएँ त्यसकारण यस्तो भयो भन्ने भयो,’ बिहीबारको बैठकमा कुरा राख्दै थापाले भने, ‘बाहिर बसेका मानिसलाई यो कस्तो फाइल हो, फाइल कसले खोल्छ, सरकारले खोल्ने फाइल कस्तो हुन्छ भन्ने लाग्छ। हामीले बनाउन लागेको कानुनले त अख्तियारले फाइल खोल्छ।’
फाइल खोलिदिन्छु भन्ने कुरा सुन्दासुन्दा नागरिक आजित भइसकेको पनि थापाले बताए।
‘त्यसकारण एउटा छलफल नै गरौं, कुन-कुन फाइल खोल्नुपर्ने हो। शेरा दरबारदेखि ललितानिवास, गिरीबन्धु, क्यान्टोनमेन्ट कुन-कुन हो। सँगसँगै बसेका बेला केही नभन्ने बाहिर आएपछि गिरीबन्धु र क्यान्टोनमेन्टको फाइल खोलिदिन्छु भन्ने गरेका पनि सुनिएका छन्,’ उनले भने, ‘नागरिक तहमा के बुझाइ भयो भने सबै नेता भ्रष्टचारमा भन्ने भयो।’
भ्रष्टाचार भएका कुराहरू आउने तर लामो समयसम्म पनि विषयले निकास नपाउने अवस्था देखा परेको उनले बताए।
‘कि अख्तियारलाई समय नै दिएर यति काण्ड टुंगो लगाएर ल्याऊ भन्नुपर्यो, होइन भने समय मात्रै खर्च भयो। कुनै विषयले निकास पाएन। एकअर्कालाई आरोपप्रत्यारोप गर्ने र सधैंभरि विषय रहिरहने भयो। निर्दोष कोही पर्न हुन्न दोषी कोही उम्कन हुन्न,’ उनले भने, ‘भ्रष्टाचार प्रधानमन्त्री वा मन्त्री जसले गरेको छ उही व्यक्तिले अपराधको भारी बोक्छ पार्टीले होइन।’
महामन्त्री थापाले सबै जना तयार हुने हो भने भ्रष्टाचारका काण्ड छानबिनका लागि शक्तिशाली आयोग बनाउन सकिने प्रस्ताव पनि राखेका छन्।
‘हामीले कानुन बनाएर पठाएको छ कि संगठित अपराधलगायत ३२ थरिका कुनै अपराध गरे सम्पत्ति शुद्धीकरण कानुन आकर्षित हुन्छ है भनेको छ। शक्तिशाली आयोग बनाउने कानुन बनाऔं, प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री र सांसदहरूको सम्पत्ति छानबिन गर्न आयोग बनाउने हो ल बनाऔं’ थापाले भने, ‘अहिलेको कानुनले पुग्दैन भने छलफल गरौं।’
अपराधमा जोडिएका व्यक्तिबारे सम्पत्ति शुद्धीकरण पनि आकर्षित हुन्छ भन्ने कानुन सांसदहरूले नै बनाएको तर सहकारी ठगी, भुटानी शरणार्थीजस्ता काण्डमा केही सांसदले प्रतिशोधका आधारमा भन्ने गरेको पनि उनले बताए।
‘यहाँ आज पूर्वप्रधानमन्त्री आउनुभएको छ, वहालवाला प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरूलाई पनि बोलाऔं, यो उपयुक्त थलो हो, यहीँ बसेर दिनभर बसेर भ्रष्टाचारका काण्डहरू कुन कुन हुन् लेखौं र टुंगोमा पुर्याऔं,’ थापाले भने।
यसपछि समितिका सभापति रामहरि खतिवडाले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले बोल्न समय माग गरेको भन्दै समय दिए।
अध्यक्ष दाहालले छोटकरीमा आफ्ना कुरा राखेका थिए।
‘गगनजीले राखेका गम्भीर विषय नै छ, यो साँचो कुरा हो,’ उनले भने, ‘तर मलाई के लाग्छ भने मुख्यकुरा नियत र निष्ठाको हो। नियत ठिक र निष्ठापूर्ण भयो भने सकारात्मक दिशातिर जान्छ, तर पनि प्रमुख नेताहरू सँगै बसेर छलफल गर्नु उचित नै हुन्छ।’
भिडिओ: