राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का दुई प्रदेश सभापति डा. मुकुल ढकालका पक्षमा उभिएका छन्।
कोशी प्रदेश सभापतिसमेत रहेका केन्द्रीय सदस्य राजेश तिम्सिना र मधेस प्रदेश सभापतिसमेत रहेका केन्द्रीय सदस्य तपेश्वर यादव डा. ढकालका पक्षमा उभिएका हुन्।
उनीहरूले कार्यवाहक सभापति डोलप्रसाद अर्याल (डिपी) लाई पत्र लेख्दै डा. ढकाललाई पुरानै जिम्मेवारीमा फर्काउन माग गरेका हुन्।
डा. ढकाल रास्वपा महामन्त्री, प्रवक्ता, केन्द्रीय सदस्य थिए। तर रास्वपाले गत भदौ ११ गते ढकाललाई यी सबै पदबाट हटाउने निर्णय गरेको थियो।
केन्द्रीय सदस्यसमेत रहेका कोशी र मधेसका सभापतिले कार्यवाहक सभापति अर्याललाई पठाएको पत्रमा रास्वपा सबैभन्दा ठूलो संकटको घडीमा रहेको महसुस भएको उल्लेख छ।
‘रास्वपाले रास्वपा मात्रको भविष्य निर्धारण गरिरहेको छैन, समग्र वैकल्पिक राजनीति र त्यो भन्दा ठूलो नेपाली जनताको आशाको भविष्य पनि निर्धारण गरिरहेको छ। पछिल्लो असार महिना यता पार्टीमा जे जति घटना घटे, त्यो दु:खद छ,’ मधेस सभापति यादवले लेखेको पत्रमा उल्लेख छ, ‘मलाई लाग्छ, पार्टीको यो घडीमा अब हामी सबै मिलेर अघि बढ्न पर्छ र त्यसका लागी केहि कोर्स करेक्सन आवश्यक छन्।’
उनले सबै निर्णयबाट आफ्नो हस्ताक्षर र सहमति फिर्ता लिएको जानकारी पत्रमार्फत गराएका हुन्।
‘राइट टू रिकलको प्रावधानलाई नीतिमै अवलम्बन गरेको हाम्रो पार्टीमा यसरी हस्ताक्षर र सहमति फिर्ता गर्नु पार्टी नीतिमै रहेको तथ्य मैले बुझेको छु। यसर्थ एक आपसका सबै तुष सबै पक्षबाट त्यागौँ र संकटको यो घडी फुटेर होइन, जुटेर सामना गरौं। राष्ट्रिय स्वतन्त्र पार्टीलाई नेपाली जनताका लागी एउटा बलियो र भरोसायुक्त पार्टीको रूपमा स्थापना गरौ,’ यादवको भनाइ छ।
यस्तै कोशी सभापति राजेश तिम्सिनाले डा. मुकुल ढकालको नाम नै पत्रमा उल्लेख गरेर पुस १६ गते कार्यवाहक सभापति अर्याललाई पत्र पठाएका छन्।
‘पार्टीमा डा. मुकुल ढकाललाई पुरानै जिम्मेवारीसहित फिर्ता बोलाउनुपर्छ भन्ने मत जाहेर गर्दछु,’ प्रदेश सभापति तिम्सिनाले लेखेको पत्रमा उल्लेख छ।
ढकाललाई पार्टीबाट निकालेपछि रास्वपा झन् कमजोर भएको तिम्सिनाले उल्लेख गरेका छन्। उनले ढकाललाई महामन्त्री, प्रवक्ता, केन्द्रीय सदस्य र साधारण सदस्यबाट हटाउने निर्णय गर्दाको हस्ताक्षरसमेत फिर्ता लिएको पत्रमा लेखेका छन्।
जिल्ला-जिल्ला घुमेर नेता, कार्यकर्ताका सुझावमा आधारित रही ढकालले पार्टीमा प्रतिवेदन पेस गरेका थिए। त्यसपछि ढकालमाथि रास्वपाले स्पष्टीकरण र कारबाही प्रक्रिया सुरू गरेको थियो।
सुरूमा उनलाई महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट निलम्बन गरी निर्णयमा चित्त नबुझे ३५ दिनभित्र पुनरावलोकन गर्न रास्वपाले समय दिएको थियो भने पछि साधारण सदस्यबाट पनि निकालेको थियो।