नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री बन्न दृढतापूर्वक उभिनेको पार्टीमा अभाव देखेको बताएका छन्।
दुई पटकसम्म सभापति र पाँच पटकसम्म प्रधानमन्त्री बनेका शेरबहादुर देउवा अब अवकाशमा जान लागे पनि प्रधानमन्त्री बन्न पार्टीमा दृढतापूर्वक उभिनेको अभाव देखा परेको शर्माले बताएका हुन्।
‘सभापतिजी विस्तारै रिटायर्ड हुने क्रममा हुनुहुन्छ, विधानअनुसार अब उहाँ महाधिवेशनमा प्रतिस्पर्धा गर्न पाउनु हुन्न, पाँच पटक त प्रधानमन्त्रीको भारी बोकिसक्नुभयो,’ पूर्वकर्मचारी समाज नेपालले मंगलबार काठमाडौंमा गरेको कार्यक्रममा महामन्त्री शर्माले भने, ‘अब उहाँलाई कति पटक प्रधानमन्त्रीको भारी बोकाउने, अरूले बोक्न अघि सर्नुस् भनेर मैले भनेको छु। तर उहाँलाई काँध थाप्छु भन्नेहरू अलि नसुरिएकोजस्तो बुझ्छु।’
महामन्त्री शर्माले आफू मन्त्री पनि नबनेको र बन्ने इच्छासमेत नराखेको अवस्थामा अहिले नै पार्टी सभापति वा प्रधानमन्त्रीको दाबेदारका रूपमा नरहेको पनि बताए।
‘म मन्त्री पनि बनेको छैन बन्ने इच्छा पनि छैन, प्रधानमन्त्री र सभापति भविष्यमा कुनै दिन नेतृत्व गर्ने दिन आउला तर अहिले नै दाबेदार होइन,’ शर्माले भने, ‘पाँचचोटि प्रधानमन्त्री भएका सभापतिजीलाई गाह्रो भइसकेको होला, म भारी बोकिदिन्छु भनेर सुरिनेहरूको अभाव पार्टीभित्र देखिरहेको छु। दिएदेखि खाउँला भन्ने हुँदैन, म बन्छु प्रधानमन्त्री भनेर दृढतापूर्वक उभिन सक्नुपर्छ।’
गत असार १७ गते कांग्रेस र एमालेबीच भएको ७ बुँदे सहमतिमा संघीय सरकारको नेतृत्व आलोपालो गर्ने सहमति छ। उक्त सहमतिअनुसार असार ३० गते एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका थिए।
एमालेसँग कांग्रेसले गरेको सहमतिमा २०८३ असारपछि सरकारको नेतृत्व सभापति देउवाले गर्नेछन्। तर महामन्त्री शर्मा भने पाँच पटक प्रधानमन्त्री भइसकेका देउवालाई छैटौं पटक प्रधानमन्त्री नहुन सुझाव दिइरहेका छन्।
२०७९ मंसिरमा भएको प्रतिनिधि सभा निर्वाचनपछि पुस ६ गते कांग्रेसले संसदीय दल नेताको निर्वाचन गरेको थियो। संसदीय दल नेतामा सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच प्रतिस्पर्धा भए पनि देउवाले चुनाव जिते।
कांग्रेसमा संसदीय दल नेता नै प्रधानमन्त्री हुने अभ्यास छ। त्यसबेला संसदीय दल नेतामा प्रतिस्पर्धा गरेका अर्का महामन्त्री गगन थापालाई महामन्त्री विश्वप्रकाश शर्मा र प्रदीप पौडेललगायतले समर्थन गरे पनि संस्थापनइतर समूहका केही सांसदहरूले भने सभापति देउवालाई नै मत दिएका थिए।
यसबीचमा नेता शेखर कोइरालाले संसदीय दल नेताबाट सभापति देउवालाई हटाउन खोजेको चर्चा चले पनि यसको ठोस रूप देखा परेको थिएन। बरू कांग्रेसभित्र १५ औं महाधिवेशनलाई लिएर अहिलेदेखि नै नेताहरू तयारीमा लागेका छन्।