नेपाली कांग्रेसमा महाधिवेशनको प्रस्थानविन्दु हो- क्रियाशील सदस्यता।
वडादेखि केन्द्रीय कार्यसमितिमा आउन चाहने व्यक्ति क्रियाशील सदस्य रहेकै हुनुपर्छ, नत्र अधिवेशनमा उम्मेदवार बन्न र तहगत समितिमा बसेर काम गर्न पाउँदैनन्।
साधारण सदस्यता लिएको एक वर्षपछि प्राय: कांग्रेसले क्रियाशील सदस्यता दिने गर्छ। तर कांग्रेसभित्र गुट नमिलेका खण्डमा क्रियाशील सदस्य नै बन्न नदिने प्रवृत्ति पनि छ।
पछिल्ला महाधिवेशनमा क्रियाशील सदस्यतासम्बन्धी विवाद मिलाउन केन्द्रीय कार्यसमितिले बेग्लै समिति नै बनायो तैपनि विभिन्न जिल्लामा देखिएका विवाद समाधान भइसकेका छैनन्।
कांग्रेसमा क्रियाशील सदस्यता वितरणबारे जहिल्यै पनि विवाद हुन्छ, यो कांग्रेसभित्र दीर्घ रोगजस्तै छ।
२०६७ असोज १ गतेदेखि ५ गतेसम्म कांग्रेसले १२ औं महाधिवेशन गर्यो। त्यसबेला क्रियाशील सदस्यता विवाद निस्कियो, जुन अहिलेसम्म समाधान हुन सकेको छैन। महाधिवेशनमा पुरानै क्रियाशील सदस्यबाट सुशील कोइरालाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भने भएको थियो।
२०७२ फागुन २० देखि २३ गतेसम्म कांग्रेसले १३ औं महाधिवेशन गर्यो। १२ औं महाधिवेशनकै बेलादेखि थाती रहेको क्रियाशील विवाद १३ औं महाधिवेशनमा झन् बल्झियो। महाधिवेशनबाट शेरबहादुर देउवाको नेतृत्वमा केन्द्रीय कार्यसमिति त बन्यो तर क्रियाशीलको विवाद हल भएन।
१४ औं महाधिवेशन भयो- २०७८ मंसिरमा। महाधिवेशनमा ८ लाख ८२ हजार ८ सय १६ जना क्रियाशील सदस्य कायम गरिएको थियो। प्रारम्भिक रूपमा त्यसबेला करिब ९ लाख क्रियाशील सदस्य भए पनि विवादका कारण संख्या कम गरिएको थियो। महाधिवेशनबाट सभापतिमा पुन: दोहोरिएका थिए, शेरबहादुर देउवा।
लगातार दुई कार्यकाल सभापति भएका देउवाले पनि क्रियाशील सदस्यतासम्बन्धी विवाद सुल्झाउन सकेका छैनन्।
१२ औं महाधिवेशनमा देखा परेका विवाद १३ औंमा मिलाउने भनियो तर समाधान गरिएन।
त्यसैगरी १३ औं महाधिवेशनमा देखा परेका क्रियाशीलसम्बन्धी विवाद पनि १४ औं महाधिवेशनका बेला मिलाउने भनियो तर मिलाइएन।
१४ औं महाधिवेशनका विवाद पनि १५ औं महाधिवेशनसम्म मिलाउने भनिएको छ तैपनि काम अघि बढ्न सकेको छैन।
‘१२ औं महाधिवेशनदेखिकै क्रियाशील सदस्यता विवाद छ, थपिएकै छैन,’ कांग्रेसका एक नेताले भने, ‘१२ औंमा विवाद देखियो त्यसबेला के भनियो भने १३ औंमा विवाद हल गर्दै नयाँ थप्दै जाऔं भनियो। १३ औं को विवाद १४ औं महाधिवेशनमा थुप्रियो। १४ औंको विवाद अब १५ औंमा मिलाउने भनिएको छ। भनेपछि १५ वर्षदेखि नयाँ मानिस कांग्रेसको क्रियाशील हुन पाएको छैन।’
१२ औं महाधिवेशनदेखि १४ औं महाधिवेशनसम्म कुन-कुन जिल्ला र कुन-कुन क्षेत्रमा क्रियाशील सदस्यता विवाद थिए भन्ने सदस्यता व्यवस्थापन समितिका सचिवालयका कर्मचारीले तथ्याङ्क निकाल्दैछन्।
यस्ता विवादलाई हल गर्दै क्रियाशील वितरणलाई सहज र व्यवस्थित बनाउने काम भइरहेको पनि ती नेताले बताए।
कांग्रेस विधानअनुसार हरेक चार वर्षमा महाधिवेशन हुनुपर्छ। २०७८ मंसिरमा १४ औं महाधिवेशन भएकोले अब २०८२ मंसिरभित्रै १५ औं महाधिवेशन हुनुपर्छ। तर अहिलेसम्म क्रियाशील नवीकरण र नयाँ क्रियाशील सदस्यता वितरणका कामले तीव्रता पाउन सकेको छैन।
१६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमध्ये महामन्त्री गगन थापा निर्वाचित क्षेत्र, काठमाडौं ४ मा मात्रै क्रियाशील नवीकरण काम सकिएको छ। जिल्लाहरूमा क्रियाशील नवीकरण र नयाँ वितरणका फारम पठाए पनि 'होल्ड' गरिएको गुनासा आएको छ।
त्यसैले महामन्त्री थापा संयोजक र केन्द्रीय सदस्यहरू सीता गुरूङ, योगेन्द्र चौधरी र प्रकाश रसाइली (स्नेही) सदस्य रहेको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बिहीबारको बैठकले क्रियाशील सदस्यताको कामलाई तीव्रता दिने निर्णय गरेको छ।
१२ औं महाधिवेशनदेखि १४ औं महाधिवेशनसम्म देखिएका क्रियाशील विवाद मिलाउन समितिले सदस्यहरूलाई प्रदेश-प्रदेश तोकेर जिम्मेवारी पनि दिएको छ।
मधेस र लुम्बिनी प्रदेशमा प्रकाश रसाइली (स्नेही), बागमती र गण्डकी सीता गुरूङ र कोशी, कर्णाली र सुदूरपश्चिम योगेन्द्र चौधरी पुगेर क्रियाशील सदस्यतामा देखिएका विवाद समाधान गर्न सहजीकरण गर्नेछन्।
साथै उनीहरूले केन्द्रीय कार्यालयले पठाएको क्रियाशील सदस्यता फारम सम्बन्धित तल्ला समितिलाई दिइयो वा 'होल्ड' गरेर राखिएको छ भन्ने खोजी गर्नेछन्।
‘केन्द्रले पठाएको क्रियाशील सदस्यता फारम जिल्ला सभापतिले क्षेत्रीय सभापतिलाई नदिने, क्षेत्रले प्रदेश क्षेत्रीय कार्यसमिति र क्षेत्रले पालिका तथा वडालाई नदिएर होल्ड गरिएका गुनासा आएका छन्,’ सदस्यता व्यवस्थापन समितिका सदस्य प्रकाश रसाइली (स्नेही) ले सेतोपाटीसँग भने, ‘पुराना क्रियाशील सदस्यको नवीकरण आठ महिनाभित्र गरी अद्यावधिक गर्ने र नयाँ क्रियाशील सदस्यता पनि वितरण गर्ने हो।’
समितिको अर्को बैठक पुस १८ गते बस्नेछ। यो बैठकमा कहाँ-कहाँ क्रियाशील सदस्यता मातहत समितिलाई नदिएर 'होल्ड' गरिएको छ भन्नेबारे पत्ता लगाएर केन्द्रले हस्तक्षेप गर्ने निर्णय हुने सम्भावना छ।
‘कुनै पनि ठाउँमा क्रियाशील सदस्यता फारम होल्ड गरेको, क्रियाशील सदस्यता कार्ड सम्बन्धित व्यक्तिलाई नदिएर घरमै राखेको, गुट नमिलेका कारण क्रियाशील नै नबाँडेका जस्ता गुनासा छन्, यसबारे अध्ययन गरेर अर्को बैठकमा त्यहीअनुसार फुकुवाको निर्णय गर्ने भन्ने छ,’ उनले भने, ‘महाधिवेशन गरौं भन्ने अनि क्रियाशील नै नबाँडेपछि त महाधिवेशन गर्न सकिन्न, क्रियाशील नै हाम्रो महाधिवेशनको प्रारम्भिक अवस्था हो।’
संस्थापन र संस्थापनइतर गुट नमिलेका कारण, क्षेत्रीय सभापति र वडा सभापतिका वडा एकै भएका कारण पनि क्रियाशील फारम नदिएका विषय आएको पनि उनले बताए।
केन्द्रीय कार्यालयले १४ औं महाधिवेशनमा क्रियाशील रहेको संख्याअनुसार नै जिल्ला-जिल्लामा नवीकरण फारम पठाएको छ भने नयाँ वितरण गर्न साविक सदस्यमा ५० प्रतिशत थप हुने गरी फारम पठाइएको छ।
महाधिवेशनको मिति केन्द्रीय कार्यसमितिले घोषणा गर्नुअघि नै क्रियाशील सदस्यता नवीकरण, नयाँ वितरण र थाती विवाद हल गर्ने गरी काम अघि बढाइएको रसाइलीले बताए।
‘महाधिवेशन मिति घोषणा गरेपछि रातारात क्रियाशील बाँड्दा झन् विवाद हुन्छ त्यसैले अहिले नै तीव्रता दिन खोजिएको हो,’ उनले भने। कांग्रेसले यसपालिदेखि क्रियाशील सदस्यता वर्षेनी नवीकरणको सुरूवात गरेको छ।
कांग्रेसले क्रियाशील सदस्यता वितरण खुकुलो बनाउने नीति पनि लिएको छ। कसैलाई कांग्रेस हुनैबाट बञ्चित गराउने गरी क्रियाशील सदस्यतामा कडाइ गर्न नहुने पार्टीले नीति लिएको छ।