नेपाली कांग्रेसको १५ औं महाधिवेशन कहिले गर्ने टुंगो छैन, तर महाधिवेशनकेन्द्रित तयारी र दबाबका लागि सम्पर्क कार्यालय खुलेको छ।
नेविसंघका पूर्वअध्यक्ष गुरूराज घिमिरे लगायतले काठमाडौंको अनामनगरमा बिहीबार सम्पर्क कार्यालय खोलेका हुन्। घिमिरे नेता शेखर कोइरालानिकट मानिन्छन्।
यो सम्पर्क कार्यालय घिमिरेको संयोजकत्वमा देवराज चालिसे, भूपेन्द्रजङ्ग शाही, रञ्जित कर्ण, गोमा केसी, टेकराज पौडेल, केशव सिंह, मोदिनी सिटौलालगायतले खोलेका हुन्।
यो सम्पर्क कार्यालय खोल्नुका निश्चित उद्देश्य छन्।
पहिलो, १५ औं महाधिवेशन कार्यतालिका ल्याउन कांग्रेस केन्द्रीय समितिलाई दबाब दिनु हो।
दोस्रो, १५ औं महाधिवेशनमा सभापति पदमा उठ्ने तयारी गरिरहेका शेखर कोइरालाका पक्षमा माहोल बनाउनु हो।
कोइराला २०७८ मंसिरमा भएको १४ औं महाधिवेशनमा सभापति पदमा शेरबहादुर देउवासँग पराजित भएका थिए। पार्टी केन्द्रीय कार्यालय सानेपामा सभापति देउवाकै जस्तो कोइरालाको पनि छुट्टै कोठा छ।
तर कोइरालाले लामो समयदेखि बालुवाटारस्थित विशालनगरमा सम्पर्क कार्यालय सञ्चालन गरिरहेका छन्। उनले प्राय; आफू निकटका नेता तथा कार्यकर्ता भेटघाट सोही सम्पर्क कार्यालयबाट गर्ने गर्छन्।
‘मानिसहरूको चहलपहल धेरैजसो सिंहदरबार आसपास नै हुने गर्छ, शेखरको सम्पर्क कार्यालय बालुवाटारमा छ, त्यो टाढा पनि भयो, त्यसैले अनामनगरमा महाधिवेशन तयारी केन्द्रित सम्पर्क कार्यालय खोलेका हौं,’ कार्यालय खोल्नेमध्येका एक नेताले सेतोपाटीसँग भने, ‘१५ औं महाधिवेशनबाट शेखरलाई सभापति बनाउन नेता, कार्यकर्ता भेट्ने र माहौल बनाउन खोजेका हौं।’
नेता कोइरालाले समयमै १५ औं महाधिवेशन हुनुपर्ने कुरा हरेकजसो केन्द्रीय समिति बैठकमा राख्दै आएका छन्। उनलाई जबाफ दिने क्रममा सभापति शेरबहादुर देउवाले समयमै महाधिवेशन हुनेमा विश्वस्त रहन पनि भन्दै आएका छन्।
कांग्रेसको महाधिवेशन गर्न त्यसभन्दा पहिले वडादेखि प्रदेशसम्म सात तहको अधिवेशन भइसक्नुपर्छ। सिधै केन्द्रीय महाधिवेशन गर्न मिल्दैन किनभने प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिबाट आउने प्रतिनिधि (महाधिवेशन प्रतिनिधि) ले केन्द्रीय सदस्य र पदाधिकारी चुन्ने व्यवस्था छ।
त्यसकारण टोल, वडा, गाउँ-नगर, प्रदेश सभा क्षेत्र, प्रतिनिधि सभा क्षेत्र, जिल्ला र प्रदेशको अधिवेशनपछि मात्रै केन्द्रीय महाधिवेशन हुन्छ।
वडा अधिवेशन सुरू गर्नुअघि क्रियाशील सदस्य (मतदाता) को टुंगो लाग्नुपर्छ। यी कुनै पनि काम अहिले नभएकोले केन्द्रीय समितिले महाधिवेशन कार्यतालिका ल्याउन सकेको छैन।
नयाँ क्रियाशील सदस्य वितरणका लागि फारम जिल्लादेखि वडा कार्यसमितिसम्म पुर्याए पनि वितरण तथा नवीकरणका काम तीव्र गतिमा हुन सकेको छैन।
कांग्रेसको इतिहासमा पहिलो पटक हरेक वर्ष पार्टी सदस्यता नवीकरण गर्ने क्रम सुरू भए पनि यसलाई तीव्रता दिन नसकिएको नेताहरू नै स्वीकार गर्छन्।
‘पार्टी सदस्यता नवीकरण गरेर फारम बुझाउने अहिले नेपालभरिमा जम्मा एउटा क्षेत्र मात्रै छ, संयोगले त्यो क्षेत्र मेरै निर्वाचन क्षेत्र हो’, महामन्त्री गगन थापाले भने, ‘सबै नेताले आफ्नो क्षेत्रको काम गरौं। सदस्यता नवीकरण गरेर पठाइदिनुस्।’
उनले हालै कोशीमा भएको प्रथम सम्मेलनमा बोल्दै सदस्यता वितरण तथा नवीकरणका काम कति भएको छ भनेर खुलायो भने मञ्चमा रहेका नेताहरू अचम्मित पर्नेसमेत बताएका थिए।
तीन वर्षअघि २०७८ मंसिरमा १४ औं महाधिवेशन गर्दा कांग्रेसका क्रियाशील सदस्य ८ लाख ८२ हजार ८ सय १६ जना थिए। यीमध्ये अधिकांशले सदस्यता नवीकरण गरेका छैनन्। विगतमा महाधिवेशनका बेला नवीकरण गर्ने गरिएकोमा यसपालि वर्षेनी नवीकरण गर्न खोजिएको थियो।
क्रियाशील सदस्य (मतदाता) कै टुंगो नलागे पनि नेताहरूलाई भने १५ औं महाधिवेशन लागिसकेको छ। पूर्व-पश्चिम यात्रादेखि जिल्ला दौडाहा भइरहेका छन्।
मंसिर २२ गते चितवन पुगेका नेता शेखरले आफू १५ औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने बताएका थिए। उनकै समूहबाट १४ औं महाधिवेशनमा उम्मेदवारी दिएका गगन थापा महामन्त्री छन्।
थापा पनि सभापति पदका आकांक्षी छन्। तर उनले यसबारे सार्वजनिक रूपमा अभिव्यक्ति दिएका छैनन्।
शेखरनिकट युवाहरूले शेखर र गगनलाई एकै समूहमा राखिराख्न र दुईमध्ये एकलाई मात्र सभापति उम्मेदवार हुन दबाब दिन अनामनगरमा महाधिवेशनकेन्द्रित सम्पर्क कार्यालय खोलेका छन्।
१४ औं महाधिवेशन तयारी हुँदै गर्दा पनि तत्कालीन वरिष्ठ नेता रामचन्द्र पौडेलले अनामनगरमा महाधिवेशनकेन्द्रित सम्पर्क कार्यालय खोलेका थिए।
तर महाधिवेशनमा आफू उम्मेदवार नहुने अवस्था देखिएपछि पौडेल मौन बसेका थिए। त्यसबेला मौन बसेर पौडेलले सभापतिमा शेरबहादुर देउवालाई सघाएको आरोपसमेत लागेको थियो।
कांग्रेस विधानअनुसार चार वर्षको अन्तरालमा महाधिवेशन गर्नुपर्ने हुन्छ। २०७८ मंसिरमा महाधिवेशन भएकोले अर्को महाधिवेशन २०८२ मंसिरमा गर्नुपर्छ। तर नियमित महाधिवेशन हुने सम्भावना देखिएको छैन।
२०८२ को मंसिरमा महाधिवेशन गर्ने हो भने अहिलेसम्म क्रियाशील सदस्यको टुंगो लागेर महाधिवेशन कार्यतालिका आइसक्नुपर्ने थियो। कांग्रेसका ८ तहका अधिवेशन हुन कम्तीमा पनि एक वर्षको समय चाहिन्छ।
चार वर्षमा महाधिवेशन गर्न नसके सभापतिलाई थप एक वर्ष कार्यकाल थप्न सक्ने सुविधा विधानले दिएको छ। यसअघि पनि सभापति देउवाले विधानको त्यो सुविधा प्रयोग गरेका थिए। त्यसबेला तत्कालीन वरिष्ठ नेता पौडेलले पनि नियमित महाधिवेशन हुनुपर्ने भन्दै निरन्तर दबाब दिएका थिए तैपनि महाधिवेशन धकेलिएको थियो।
गत असार १७ गते कांग्रेस र एमालेबीच सात बुँदे सहमति भएको थियो। त्यो सहमतिमा एमाले अध्यक्ष केपी शर्मा ओलीपछि प्रधानमन्त्री बन्ने पालो देउवाको भन्ने उल्लेख छ।
यो सहमति कार्यान्वयन भएका खण्डमा २०८३ असारपछि देउवा प्रधानमन्त्री बन्नेछन्। प्रधानमन्त्री कुरिरहेका देउवाले २०८२ मंसिरमै १५ औं महाधिवेशन गरेर पार्टी सत्ता अर्को व्यक्तिलाई सुम्पने छैनन् भन्ने कांग्रेसका केही नेताहरूको बुझाइ छ।
लगातार दुई कार्यकाल सभापति भएका देउवा विधानअनुसार तेस्रो पटक सभापति पदका उम्मेदवार हुन पाउँदैनन्। आफू सभापति हुन नपाउने र नयाँ आउने सभापतिले संसदीय दल नेता पनि परिवर्तन गर्न सक्ने भयबीच देउवा प्रधानमन्त्री हुनुअघि महाधिवेशन गर्ने पक्षमा छैनन्।