'कहिलेकाहीँ कुनै पनि महत्त्वपूर्ण घटनाबिना दशक बित्छन्, कहिले भने केही सातामै दशकौंमा हुने महत्त्वपूर्ण घटना हुन्छन्।'
यो भनाइ रूसी क्रान्तिका नेता भ्लादिमिर लेनिनको हो। उनले सन् १९१७ को बोल्सेभिक क्रान्ति सुरू गर्नुअघि स्विट्जरल्यान्डमा निर्वासित रहेका बेला आफ्ना समर्थकको हौसला बढाउन यसो भनेको मानिन्छ।
लेनिनको यो भनाइ अहिले सिरियाका हकमा चरितार्थ भएको छ।
अमेरिकासँग असहज सम्बन्धका बाबजुद सिरियामा पाँच दशकभन्दा बढी टिकेको असद वंशको शासन अहिले अमेरिकाको प्रत्यक्ष संलग्नताबिनै ढलेको छ।
सन् १९७० को आखिरीमा हफिज अल असदले 'कू' गरेर आफ्नो वंशको एकतन्त्रीय शासन सुरू गरेका थिए। त्यो शासनलाई सन् २०११ मा सुरू भएको भीषण गृहयुद्धले पनि ढाल्न सकेको थिएन। तर पछिल्लो समय यस्ता घटनाक्रम विकसित भए, हफिजका छोरा बशर अल-असद देश छाडेर भाग्न बाध्य भएका छन्।
गत सेप्टेम्बर १७ मा इसराइलले लेबनन र सिरियाका केही ठाउँमा हिजबुल्लाह समूहका सदस्यले बोकेका हजारौं 'पेजर' एकसाथ विस्फोट गराएपछि विकसित घटनाक्रमले नै असद वंशको ५० वर्षदेखिको अकन्टक शासन ढाल्न भूमिका खेलेको हो।
हफिजले आफ्ना छोरा बशर-अल असद हुर्किंदै गर्दा उनलाई कहिल्यै उत्तराधिकारी मानेका थिएनन्। पहिलो सन्तान बुस्रा नै उनका लागि सबभन्दा प्रिय थिइन्। मुस्लिम समाजमा महिला शासक असम्भवप्राय: भएकाले हफिजले जेठा छोरा बसिललाई उत्तराधिकारीका रूपमा हुर्काएका थिए। अरू सन्तानको दाँजोमा माइला छोरा बशरलाई उनी खासै मन पराउँदैन थिए भनिन्छ।
बसिल उमेरमा बशरभन्दा दुई वर्ष मात्र जेठा थिए। उनी बशरलाई सानैदेखि हेप्ने र पिट्ने गर्थे।
बसिल आफै पनि हफिजको उत्तराधिकारी मानिएका पहिलो व्यक्ति थिएनन्। उनीभन्दा अगाडि हफिजका भाइ रफितलाई उत्तराधिकारी मानिएको थियो। रफितले सन् १९८४ मा आफ्ना दाइ गम्भीर बिरामी हुँदा सत्ता हत्याउन खोजेपछि हफिजले उनलाई देश छाड्न बाध्य पारे।
त्यसपछि उनले आफ्ना छोरा बसिललाई छिट्टै शासनको उत्तराधिकारी बनाउने गरी काम थाले। त्यति बेला बसिल २२ वर्ष मात्र पुगेका थिए।
सन् १९९४ जनवरीमा एउटा यस्तो घटना भयो, जसले हफिजको सपना चकनाचुर पारिदियो। निजी विमानमा जर्मनी उड्न विमानस्थल जाँदै गर्दा अत्यन्त तेज गतिमा चलाएको मर्सिडिज दुर्घटना परेर ३१ वर्षीय बसिलको मृत्यु भयो।
बसिलको असामयिक मृत्युपछि हफिजले लन्डनमा आँखाको डाक्टर बन्न रेसिडेन्सी गरिरहेका बशरलाई फिर्ता बोलाएर उत्तराधिकारी बनाउने तयारी थाले।
त्यसको छ वर्षपछि सन् २००० मा हफिजको निधन भयो।
पिताको निधनपछि सत्तामा आएका 'कमजोर' बशरले २४ वर्ष अकन्टक शासन चलाउलान् भनेर कसैले सोचेका थिएनन्।
सिरियाको कुल जनसंख्यामा झन्डै ७५ प्रतिशत सुन्नी मुसलमान छन्। हफिज भने अलवाइत (सिया समूहको एक हाँगा) सम्प्रदायका हुन्, जसको जनसंख्या करिब १० प्रतिशत मात्र छ। अल्पसंख्यक समुदायबाट आएर तीन दशक शासन चलाउन क्रूर हफिजलाई पनि निकै मुश्किल परेको थियो। उनले विपक्षी र अरू समुदायको हिंसात्मक दमन गरेर आफ्नो शासनसत्ता टिकाएका थिए। झन् बाल्यकालदेखि नै कमजोर भनेर चिनिएका र डाक्टरी पढ्दै गरेका मृदुभाषी बशरले त धेरै समय शासन चलाउलान् भनेर कसैले सोच्ने कुरै भएन।
त्यसैबीच सन् २०१० को अन्त्यतिर ट्युनिसियाबाट सुरू 'अरब स्प्रिङ' आन्दोलनका कारण २०११ मा सिरिया भीषण गृहयुद्धमा फस्यो। त्यसले बशरको सत्ता तुरून्तै ढल्लाजस्तो देखिएको थियो। तर गृहयुद्धका बाबजुद उनी यतिका वर्ष शासन चलाउन सफल भए।
सन् २००३ मा जब अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसले सद्दाम हुसेनसँग 'आमसंहारकारी' हतियार भएको आरोप लगाउँदै इराकमाथि आक्रमण गरे, त्यति बेला बशरले सुरूमा अमेरिकालाई साथ दिएका थिए। सद्दामको सत्ता ढलेपछि भने उनी अमेरिकाबाट टाढिए।
आफूले लेबननको हिजबुल्लाह र गजाको हमासलाई साथ दिएको भन्दै बुसले आफ्नै सत्ता ढाल्ने त होइनन् भनेर उनी तर्सिएका थिए।
गृहयुद्ध सुरू भएपछि बशरले धेरै विरोधी समूहको प्रहार झेल्नुपर्यो। इराकका अल्पसंख्यक कुर्द, सुन्नी आतंककारी समूह अल-कायदा, सिरियाको उत्तरी छिमेकी टर्कीले चलाएको समूह लगायतले एकैचोटि उनीविरूद्ध हमला गरे। त्यो घटनापछि पनि उनको सत्ता लामो समय नटिक्ने अनुमान गरिएको थियो।
तर भइदियो के भने, अल-कायदा लगायत सुन्नी अतिवादी समूहले शक्ति आर्जन गर्लान् भनेर अमेरिकाले बशरको सत्ता ढाल्न धेरै जोडबल गरेन। इराकमा अमेरिकाले सुरू गरेको युद्धको विरोध गर्दै सन् २००८ मा अमेरिकी राष्ट्रपति निर्वाचित भएका बाराक ओबामा त्यसै पनि मध्यपूर्वमा आफ्नो सेना पठाएर अर्को युद्ध लड्न चाहँदैन थिए।
त्यसपछि सन् २०१३ मा सद्दामको सेनामा रहेका अब्बल सुन्नी सैनिकहरू सामेल आइसिस समूहले इराकका धेरैजसो भाग कब्जा गर्यो। उनीहरूले सिरियासमेत समेटेर मुस्लिम राज्य (क्यालिफेट) बनाउने अभियान सुरू गरे। यसले अमेरिकालाई झन् अप्ठ्यारोमा पार्यो।
अर्कातिर सिरियाको गृहयुद्ध झन् गिजोलिँदै गयो। इराक, सिरिया र टर्कीमा रहेका कुर्दको सुन्नीहरूसँग राम्रो सम्बन्ध थिएन। अर्को तर्फ सुन्नी समूह नै भए पनि पहिले नै स्थापित अल-कायदा, र अल-कायदा नरम भएको आरोप लगाउने आइसिसबीच पनि राम्रो सम्बन्ध थिएन। अमेरिकाले सहयोग गरेको कुर्दहरूले आफ्नोमा पृथकतावादी आन्दोलन चलाएको भनेर नेटो सदस्य भए पनि टर्कीले सहयोग गर्दैन थियो र सिरियामा आफ्नै समूह चलाउँथ्यो। त्यस्तो गिजोलिएको युद्धमा को कतापट्टि छ भनेर छुट्टयाउन समेत गार्हो थियो।
यस्तोमा बशरको शासन रहे पनि ढले पनि अमेरिकालाई टाउको दुखाइ हुने नै थियो। तर बशरको सत्ताभन्दा आइसिस समूह विश्वकै लागि ठूलो खतरा भएकाले अमेरिकाले सो समूहलाई सिध्याउनेमा सारा ध्यान लगायो। त्यसैले बशरविरूद्ध अमेरिकाले खासै धेरै बल प्रयोग गरेन। आफ्नै जनताविरूद्ध नरसंहार गरिरहेका बशरविरूद्ध अमेरिकी सेना प्रयोग गर्नुपर्ने माग पनि ओबामाले सुनेनन्। उनले रासायनिक हतियर प्रयोग गरेर 'लक्ष्मणरेखा' (ओबामाको शब्दमा रेड लाइन) पार गरे भने चाहिँ आफू चुप नलाग्ने उद्घोष ओबामाले गरे।
यति हुँदाहुँदै बशरले दमास्कस बाहिरको क्षेत्रमा सरिन ग्यास प्रयोग गरेर ओबामाले कोरेको लक्ष्मणरेखा पार गरे। तैपनि ओबामाले केही कारबाही गरेनन्।
यसरी महाशक्तिराष्ट्र अमेरिकाका राष्ट्रपतिले कोरेको लक्ष्मणरेखा उल्लंघन गर्दा पनि कुनै कारबाही नभएपछि बशरको हौसला बढ्यो। उनलाई सहयोग गरिरहेको इरान पनि हौसियो। टाढैबाट सहयोग गरिरहेको रूसले पनि उनको पक्षमा लड्न सेना पठायो। ठूलो रक्तपातपछि उनको सत्ता जोगियो। पूरै सिरिया कब्जा गर्ने अभियानमा हिँडेका विरोधीहरू टाढा टाढाका क्षेत्रमा मात्रै खुम्चिए।
यही घटनापछि रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले ओबामा र अमेरिका कमजोर भएको निष्कर्ष निकाल्दै २०१४ को सुरूमा युक्रेनको क्राइमिया कब्जा गरेको धेरै अन्तर्राष्ट्रिय विश्लेषकहरू दाबी गर्छन्। रूसले क्राइमिया कब्जा गर्दा पनि ओबामा नेतृत्वको अमेरिका र पश्चिमा राष्ट्रले कडा कदम नचालेकाले २०२२ फेब्रुअरीमा पूरै युक्रेनमाथि हमला गरिएको विश्लेषकहरूको भनाइ छ।
यसबीच बशरले आफ्नो शासनसत्ता टिकाइराखे पनि लगातारको अमेरिकी नाकाबन्दी र युद्धका कारण आर्थिक संकट झेल्नुपरेको थियो। आफ्नो सत्ता टिकाउन उनी र उनी निकटका धेरैले व्यापक भ्रष्टाचार गरेका थिए।
यस्तो मुस्किल घडीमा २०२३ फेब्रुअरीमा टर्की-सिरियामा महाभूकम्प गयो, जसले बशरलाई सत्ता टिकाउन सजिलो भयो। भुइँचालोमा हजारौं सिरियाली जनताको ज्यान गए पनि बशरको सत्तालाई फाइदै पुग्यो। साउदी अरबले ठूलो परिमाणमा राहत सामग्री पठायो। पश्चिमा राष्ट्रहरूले चलाउने सहायता संस्थाहरूले पनि सिरियाको भुइँचालो प्रभावित क्षेत्रमा राहत सामग्री वितरण गर्न बशरसँग समन्वय गर्नुपर्यो।
उक्त भुइँचालोले साउदीसँग सम्बन्ध सुधार भएपछि सन् २०२३ मेमा सिरिया अरब लिगमा फिर्ता भयो। त्यसअघि २०११ को गृहयुद्धमा चरम दमन गरेको भन्दै साउदीको बोलबाला रहेको अरब लिगले सिरियालाई निष्कासन गरेको थियो। भुइँचालोपछि भने साउदीले सिरियालाई अरब लिगमा फिर्ता मात्र ल्याएन, सिरियाली जनताले भोगेको दु:ख देखाउँदै मानवीय आधारमा बशरको सत्ताप्रति नरम हुन अमेरिकासँग सिफारिश गर्न थाल्यो।
२०२३ अक्टोबर ७ मा हमासले इसराइलमाथि हमला गरेपछि सिरिया पनि इसराइलसँग युद्धमा तानिन सक्ने खतरा थियो। बशरले चतुर्याइँका साथ त्यसको सामना गरे।
सिमाना नजोडिए पनि इसराइललाई घेराबन्दी गर्न इरानले छिमेकी देशहरूमा विभिन्न समूह परिचालन गर्छ। लेबननमा हिजबुल्लाह, गजामा हमास, यमनमा हुथी र इराकमा विभिन्न समूहलाई हतियार र सैन्य तालिम दिएर इसराइलमाथि आक्रमण गराउँछ। असद वंशले राज गरेको सिरियाको भूमि पनि हिजबुल्लाहलाई हतियार दिन र हमासलाई समर्थन गर्न इरानले प्रयोग गर्दै आएको छ। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आइआरजिसी) को कुर्दस् फोर्सले इसराइल र अमेरिकाविरूद्ध बनाएको विदेशी समूहहरूको यो मोर्चाबन्दीलाई 'एक्सिस अफ रेजिस्टेन्स' भनिन्छ।
हिजबुल्लाहले अक्टोबर ७ मा गरेको हमलाको भोलिपल्टदेखि नै हमासको समर्थनमा इसराइलमाथि रकेट प्रहार गर्न थाल्यो। तर बशरले इसराइलविरूद्ध केही गरेनन्। झन् सिरियामा रहेका इरानी सैनिक संरचना र हिजबुल्लाह लडाकूमाथि इसराइलले बेला बेला प्रहार गर्दा पनि आँखा चिम्लिए। त्यसो त गृहयुद्धले धराशायी भएको सिरियाली सेनाले इसराइललाई केही गर्न पनि सक्दैन थियो। तैपनि हमाससँग गजामा लडिरहेको इसराइललाई धेरैतिर आफ्नो सेना खटाउनुपरेन।
यसरी लामो समय दाहिना रहेको भाग्यले केही साताअघि आएर भने बशरको साथ छाड्यो।
साउदी र अन्य सहायता संस्थाहरूको दबाबमा अमेरिकाले वार्ता गरेर नाकाबन्दी हटाउने चर्चा चल्न थालेकै बेला बशरको सत्ता जोगाउन लडेको हिजबुल्लाहको हठका कारण उनको दशा बिग्रिन थाल्यो।
अमेरिका लगायत पश्चिमा राष्ट्रको व्यापक दबाबका बाबजुद गजामा नरसंहार मच्चाइरहेका इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु हिजबुल्लाहसँग भने सुलह गर्न चाहन्थे। त्यसैले इसराइलमाथि रकेट प्रहार गर्न छाडे आफूले पनि लेबननमा प्रहार नगर्ने प्रस्ताव इसराइलले गर्यो। हिजबुल्लाह प्रमुख हसन नसरल्लाहले भने गजामा युद्धविराम नहुञ्जेल रकेट आक्रमण जारी राख्ने बताएपछि इसराइल हिजबुल्लाहविरूद्ध आक्रामक भयो।
त्यसै क्रममा सेप्टेम्बर १७ मा हिजबुल्लाह सदस्यले बोकेका पेजरहरू एकैपटक विस्फोट गराइयो। त्यसपछि इसराइलले हिजबुल्लाहविरूद्ध अप्रत्यासित सफलता हासिल गरेको छ। नसरल्लाह लगायत हिजबुल्लाहका धेरै वरिष्ठ नेता र सैन्य कमान्डर मारिएका छन् भने इरानले दिएका धेरैजसो आधुनिक हतियार नष्ट गरिएका छन्।
नसरल्लाहको हत्यापछि रन्थनिएको इरानले इसराइलमाथि अक्टोबर १ मा हमला गर्यो। त्यसको २५ दिनपछि भएको जबाबी हमलामा इसराइलले आधुनिक एयर डिफेन्स सिस्टम लगभग ध्वस्त पारेको दाबी गरेको छ।
यसरी हिजबुल्लाह समूह तहसनहस भएको र लगातार हतियार दिएर भरथेग गर्दै आएको इरान पनि कमजोर भएका बेला एकैपटक धेरै विद्रोही समूहले हमला गरेर बशरको सत्ता ढालेका छन्।
केही महिनाअघि टर्कीले वार्तामा बोलाउँदा समेत ध्यान नदिएका बशर अहिले देश छाडेर भाग्न बाध्य भएका छन्। टर्कीले आफूकहाँ आएका सिरियाली शरणार्थी घर फर्किने वातावरण बनोस् र पृथकतावादी कुर्दहरूले आफूकहाँ बितन्डा नमच्चाऊन् भनेर वार्ता गर्न चाहेको थियो। तर आफ्नो सिमाभित्र रहेका टर्कीका सेना फर्किनुपर्ने र टर्कीले सहयोग गर्दै आएको समूहलाई पनि सहयोग बन्द गर्नुपर्ने भनेर बशर वार्तामा बस्न मानेनन्।
बशरविरूद्ध खनिएका विद्रोहीलाई क-कसले सहयोग गरे भनेर अहिलेसम्म खुलेको छैन। तर उनीसँग चिढिएको टर्कीले आफूले चलाएको समूहका साथै हयात तहरिर अल-शाम समूहलाई समेत हमला गर्न हरियो झन्डा देखाएको मानिन्छ।
नोभेम्बर २७ मा सुरू भएको आक्रमणका कारण ५० वर्षभन्दा बढी समय चलेको असद वंशको सत्ता तासको महलसरी ११ दिनमै ढलेको छ। अमेरिकी नाकाबन्दी हट्न लागेको भनेर हौसिएका असदले आफ्ना इलाकामा हमला गर्ने योजना बनाएको थाहा पाएर विद्रोहीले आक्रमण गरेका थिए। कतिले त विद्रोहीले केही सफलता हासिल गरे असद वार्तामा अलिक लचक होलान् भनेर टर्कीले आक्रमण गर्न अनुमति दिएको थियो भन्छन्। तर विद्रोहीले बिना कुनै रोकटोक मुख्य शहरहरू कब्जा गर्दै अन्ततः उनको सत्ता नै ढलाए।
विद्रोहीले लगातार सफलता हात पार्न थालेपछि केही दिनअघि रूसले इरान, टर्की र सिरियाका विदेशमन्त्रीहरूको कतारमा भएको बैठकमा टर्की र सिरियाको सुलह गराउन खोजेको थियो। तर धेरै कमजोर बनेका बशरसँग टर्कीले पनि सुलह गर्न खोजेन। उसले सुलह गर्न खोजेको भए पनि युद्ध मैदानमा सफलता हासिल गरिरहेका विद्रोहीले मान्ने सम्भावना कम थियो।
बशरले रूस र इरानसँग सहायता मागे पनि युक्रेनसँग लड्न हम्मे-हम्मे परिरहेको रूसले पहिलेजस्तो सहयोग गर्ने अवस्था थिएन। हिजबुल्लाह तहसनहस भएपछि धेरै कमजोर भएको इरानलाई त बशरको पक्षमा लड्न गए उनीहरूमाथि हमला गर्ने भनेर इसराइलले धम्की नै दिएको पश्चिमा मिडियाले लेखेका छन्। बशरको पक्षमा हतियार बोकेर गएको भनिएका केही इरानी हवाईजहाज सिरियाभित्र पसे इसराइलले मिसाइल हानेर झार्ने धम्की दिएपछि फर्किएको दाबी इसराइलले गरेको छ। बशरका लागि नलडी सिरियामा रहेको इरानी सेना फर्किएपछि सिमानापारि आफ्नोविरूद्ध प्रयोग गर्न इरानले वर्षौं लगाएर बनाएको सैन्य संरचनामा इसराइलले हिजैदेखि व्यापक प्रहार गरेर ध्वस्त बनाइरहेको छ।
यस्तोमा आइतबार बिहानै दमास्कसभित्र विद्रोही छिर्दै गर्दा बशर देश छाडेर भागेको बताइन्छ। अहिले उनी कहाँ छन् भन्ने खुलेको छैन। उनले राजीनामा दिएको र द्वन्द्वरत धेरै पक्षसँग कुरा गरेर सिरिया छाडेको रूसी विदेश मन्त्रालयले जनाएको छ।
सिरियाको विदेश मन्त्रालयले बशरको नाम उल्लेख नगरी सिरियाको इतिहासमा नयाँ अध्याय लेखिएको र सबै सिरियाली एक हुने भनेर विज्ञप्ति निकालेको छ। बशरका प्रधानमन्त्री मोहम्मद गाजी जलालीले पनि भिडिओ वक्तव्य निकाल्दै कार्यभार सुम्पन तयार रहेको बताएका छन्।
रूसी नेता लेनिनले एक शताब्दीअघि भनेजस्तै सिरिया र मध्यपूर्वमा अहिले दशकौंमा हुने घटना केही सातामै भइरहेका छन्।
सिरियामा एक दशकभन्दा बढी चलेको गृहयुद्ध र पाँच दशकभन्दा बढीको तानाशाही असद वंशको शासन सकिएर आगामी दिनमा शान्तिपूर्ण बिहानी उदाउन सक्छ। अर्कातर्फ बशरविरूद्ध लडेका विभिन्न विद्रोहीहरू आपसमै लड्न पनि सक्छन्। सिरियाको भविष्य कस्तो हुन्छ भन्ने कुरा इसराइल लगायत शक्ति राष्ट्रभन्दा धेरै विद्रोही समूहमध्ये सबभन्दा बलियो हयात तहरिर अल-शामको नेतृत्व गर्ने अबु मोहम्मद अल जोलानीमा निर्भर गर्नेछ। उनको वास्तविक नाम भने अहमद अल-शारा हो।
अतिवादी अल-कायदा र आइसिस लगायत समूहको खतराका कारण अमेरिकाले एक दशकअघि बशरको सत्ता ढलाउन धेरै प्रयास नगरेको भनेर ४२ वर्षीय जोलानीले राम्ररी बुझेका छन्। त्यसैले २०१६ मै अल-कायदाबाट अलग भएको आफ्नो समूहका लडाकूलाई संयम अपनाउन उनले निर्देशन दिइरहेका छन्। राज्य संरचना ध्वस्त नगर्न र अरू धर्म र समुदायका जनतामाथि आक्रमण नगर्न पनि भनिरहेका छन्।
उनले सत्ताको नेतृत्व गर्न पाए साँच्चै नै उदारवादी भएर सरकार चलाउँछन् कि अफगानिस्तानका तालिवानजस्तै निरंकुश बन्छन्, त्यो हेर्न बाँकी नै छ।
उनले उदारवादी सरकार चलाउन खोजे पनि वर्षौंसम्म अल-कायदामा आबद्ध उनका अतिवादी लडाकू त्यसका लागि तयार हुन्छन् कि हुन्नन् भन्ने पनि सिरियाको शान्तिपूर्ण भविष्यका लागि महत्त्वपूर्ण हुनेछ।
(प्रेम ढकाल सेतोपाटी अंग्रेजी संस्करणका सम्पादक हुन्।)