नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विराटनगर आइपुगेका छन्।
शुक्रबार अपराह्न विराटनगर आएका सभापति देउवाले विमानस्थलमा पत्रकारहरूका प्रश्नहरूमाथि संक्षिप्त जबाफ पनि दिए।
पत्रकारहरूले सभापति देउवालाई बिआरआई, कांग्रेसभित्रको आन्तरिक राजनीतिलगायत विभिन्न विषयमा प्रश्न सोधे।
बिआरआईमा ऋण नलिने भन्नुहुन्थ्यो, लिनुभएछ त! भन्ने पत्रकारको प्रश्नमा सभापति देउवाले भने, ‘बिआरआईमा ऋण लिएकै छैन।’
साथै पत्रकारले तपाईंको उत्तराधिकारी कांग्रेसमा अब गगन थापा हुने भन्ने कुरा छ नि! भन्ने पनि सोधेका थिए। जबाफमा सभापति देउवाले भने, ‘उत्तराधिकारी भन्ने बेकारको कुरा हो, घोषणा मैले गर्ने हो र? महाधिवेशनमा हुन्छ।’
कांग्रेस विधानअनुसार चार वर्षको अन्तरालमा महाधिवेशन हुन्छ। २०७८ मंसिरमा १४ औं महाधिवेशन भएकोले २०८२ मंसिरमा १५ औं महाधिवेशन गर्नुपर्ने हुन्छ।
साथै कोशी प्रदेशमा नेता शेखर कोइरालाको नेतृत्वमा समानान्तर भेला भएकोबारे पनि पत्रकारहरूले प्रश्न सोधेका थिए। त्यसबारे सभापति देउवाले यो विषय आफूलाई थाहा नभएको प्रतिक्रिया दिए।
‘मैले भेला भएको थाहै पाइनँ,’ सभापति देउवाले भने।
यसपछि पत्रकारले पूरक प्रश्न सोधे, थाहै पाउनु भएन त?, केन्द्रले आधिकारिक कार्यक्रम होइन भनेर चिठी नै पठाएको थियो भनेका थिए। त्यसपछि सभापति देउवाले थाहै नपाएको बताए।
यो पनि: कोशीका ११३ पालिका सभापति आफ्नो भेलामा सहभागी बनेको कोइराला पक्षको दाबी
उनले अहिलेको सरकार निर्माण भएको धेरै नभएकोले परिवर्तन नदेखिएको बताए। जनताले परिवर्तन भने महसुस गरिराखेको सभापति देउवाको भनाइ थियो।
प्रश्न सोधेका पत्रकारप्रति लक्षित गर्दै सभापति देउवाले भने, ‘तपाईंबाहेक जनताले सरकारलाई मन पराइरहेका छन्, विरोध त गर्न पाइन्छ नि!’
सभापति देउवाले संविधान संशोधनजस्ता विषय विस्तारै अघि बढ्ने पनि बताए।
कोशी प्रदेशमा शनिबार हुने कांग्रेसको सम्मेलनमा सहभागी हुन सभापति देउवा विराटनगर आएका हुन्।