कर्णाली प्रदेशमा आठ पदका सम्पन्न भएको स्थानीय तह उपनिर्वाचनअन्तर्गत सबैको मतपरिणाम सार्वजनिक भएको छ।
पालिका तहका तीन जना प्रतिनिधि र वडा तहका पाँच जनप्रतिनिधिका लागि निर्वाचन भएको थियो।
जाजरकोटको नलगाड नगरपालिकामा उपप्रमुख, दैलेखको महाबु गाउँपालिकामा अध्यक्ष, हुम्लाको सर्केगाड गाउँपालिकामा उपाध्यक्ष, रूकुम पश्चिमको शानी भेरी नगरपालिका–५ मा वडाध्यक्ष, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ मा वडाध्यक्ष, कुशे गाउँपालिका–७ मा वडाध्यक्ष, दुल्लु नगरपालिका–१३ मा वडाध्यक्ष, कालीकोटको तिलागुफा नगरपालिका–४ मा वडाध्यक्ष र चयन उपनिर्वाचनमार्फत गरिएको हो।
यी सबै जनप्रतिनिध ठूला र पूराना दलबाट प्रतिनिधित्व गर्नेहरू चयन भएका छन्। तीनै दलमध्ये पनि कतिपयले आफ्नो पुरानो जनमतलाई यथावत राखेका छन् भने कतिपयले आफ्नो विरासत फर्काएका छन्।
पालिकातर्फको परिणामलाई हेर्ने हो भने एमालेले विरासत फर्काएको छ। माओवादीले पुरानो जनमत कायम राखेको छ। तीन पालिकामध्ये दुई वटामा माओवादी र एउटामा एमालेले जितेको छ।
महाबु गाउँपालिकामा नेकपा एमालेले आफ्नो विरासत् फर्काएको छ। एमालेले नेकपा एकीकृत समाजवादीका जंगबहादुर शाहीलाई आफूतिर ल्याएर चुनाव लडाएपछि महाबुमा एमालेको विरासत फर्किएको हो। एमालेबाट उम्मेदवार बनेका शाही ३ हजार १२७ मतसहित अध्यक्षमा निर्वाचित भएका छन्।
उपनिर्वाचनमा उनका प्रमुख प्रतिस्पर्धी नेपाली कांग्रेसका झलक भण्डारी थिए। भण्डारीले २ हजार ६७५ मत पाए। अर्का उम्मेदवार नेकपा माओवादी केन्द्रका जंगबहादुर बरालले ८ सय ४२ मत पाए।
उपनिर्वाचनबाट महाबुको अध्यक्ष बनेका शाही २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि एमालेबाट उम्मेदवार बनेर अध्यक्ष भइसकेका हुन्। बीचमा दल विभाजन भएपछि उनी नेकपा (एकीकृत समाजवादी) लागेका थिए। २०७९ को निर्वाचनमा उनी समाजवादीबाट महाबुको अध्यक्ष उम्मेदवार बनेका थिए।
महाबुकै उपनिर्वाचनमा नेपाली कांग्रेसले भने आफ्नो विरासत गुमाएको छ। २०७९ सालमा नेकपा (एस) र माओवादी एक भएर आफूविरूद्ध चुनाव लड्दा पनि अध्यक्ष र उपाध्यक्ष दुवै पदमा कांग्रेसले जित निकालेको थियो। त्यो बेला एमालेका उम्मेदवारले दोस्रो र समाजवादीका उम्मेदवारले तेस्रो स्थानमा मत पाएका थिए।
२०७९ को स्थानीय तह निर्वाचनका बेला महाबुमा आफ्नो मध्यम जनमत भएको सन्देश दिएको नेकपा (एस) लाई यो पटक भने जनमत शून्य जस्तै भएको छ। यो पटकको उपनिर्वाचनमा महाबुमा नेकपा (एस) का अध्यक्ष उम्मेदवारले चार मत मात्र ल्याए। जब कि, २०७९ मा यही पार्टीका उम्मेदवारले २ हजार २६८ मत ल्याएका थिए।
जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख पदका लागि भएको उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रले आफ्नो एकल जनमतलाई कायमै राखेको छ।
२०७४ को पहिलो स्थानीय तह निर्वाचनमा दलहरू एक्लाएक्लै चुनाव लड्दा नलगाडमा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा माओवादीले नै जितेको थियो। १३ मध्ये अधिकांश वडा पनि माओवादीको पोल्टामा परेका थिए।
२०७९ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस र माओवादीले गठबन्धन गरेर लड्दा माओवादीबाट अध्यक्ष र कांग्रेसबाट उपाध्यक्ष चुनिएका थिए। यो उपनिर्वाचनमा दलहरू एक्लाएक्लै लड्दा उपप्रमुखमा माओवादी केन्द्रकी देवका लामिछाने निर्वाचित भएकी छन्। लामिछाने ४ हजार २७२ मतसहित निर्वाचित हुँदा प्रमुख प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी इन्द्रा चन्द सिंहले ३ हजार १४७ मत पाइन्।
एमालेले नलगाडमा आफ्नो २०७४ को मतलाई लगभग यथावत राखेको छ। अहिलेको उपनिर्वाचनमा एमालेबाट उम्मेदवार रहेको सुनिता बोहराले २ हजार ५४२ मत पाएकी छन। २०७४ मा पनि उनै उपप्रमुखको उम्मेदवार थिइन्। त्यसबेला उनले २ हजार ६२३ मत पाएकी थिइन्।
हुम्लाको सर्केगाड गाउँपालिकामा नेकपा माओवादी केन्द्रले आफ्नो जनमत यथावत राखेको छ। २०७४ को स्थानीय तह निर्वाचनमा दलहरू एकल लड्दा सर्केगाडका अध्यक्ष र उपाध्यक्ष दुवै पदमा माओवादी निर्वाचित भएको थियो। २०७९ को निर्वाचनमा कांग्रेस र माओवादीबीच भएको गठबन्धनअनुसार कांग्रेसबाट अध्यक्ष र माओवादीबाट उपाध्यक्ष बनेका थिए।
अहिले भएको उपनिर्वाचनमा पनि दलहरू एक्लाएक्लै लड्दा माओवादीले जितेको छ। माओवादीबाट उम्मेदवार बनेकी देवकी तिमल्सिनाले १ हजार ६३७ मत ल्याएर उपाध्यक्षमा निर्वाचित भएकी छन्। उनका निकटनम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सविता बुढाले १ हजार ५९४ मत ल्याएकी छन्। नेकपा एमालेका उम्मेदवार जाना शाहीले १ हजार १३२ मत पाएकी छन्।
अध्यक्षमा निर्वाचित भएकी तिमल्सिना माओवादी हुम्लाका अध्यक्ष डा. दीपेन्द्र रोकायाका श्रीमती हुन्। रोकाया मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पालामा प्रदेश योजना आयोगका सदस्य थिए।
२०७४ को निर्वाचनमा सर्केगाडको अध्यक्षमा कृष्ण रोकाया र उपाध्यक्षमा जोशी धामी निर्वाचित भएका थिए। २०७९ मा गठबन्धन हुँदा नेपाली कांग्रेसका ठानबहादुर रोकाया अध्यक्ष माओवादीका चन्द्रसिहं कार्की उपाध्यक्ष निर्वाचित भएका थिए।
कर्णालीका पाँच वटा वडामा भएको उपनिर्वाचनमा कांग्रेसले २ वडा जितेको छ। एमाले, माओवादी र नेमकिपाले एक-एक वटा वडा जितेका छन्।
रुकुम पश्चिमको सानीभेरी नगरपालिका-५ को वडाध्यक्षका लागि भएको उनिर्वाचनमा यसपटक कांग्रेसले २०७९ कै मतलाई कायम राखेको छ। माओवादी केन्द्रको आधार ईलाका मानिने रूकुम पश्चिमका केही ठाउँमा २०७९ यता कांग्रेस पनि सत्तामा पुग्ने गरेको छ।
२०७४ को स्थानीय तह निर्वाचनमा सानीभेरी गाउँपालिका–५ मा माओवादीले वडाध्यक्ष जितेको थियो। माओवादी उम्मेदवार लालबहादुर खड्का ३५५ मतले निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी कांग्रेस उम्मेदवार विनोदकुमार गौतमले २३४ मत पाएका थिए।
२०७९ को निर्वाचनमा यो वडामा माओवादीले नै कांग्रेसलाई समर्थन गरेको थियो। कांग्रेस उम्मेदवार अलबहादुर खत्री ४६२ मत ल्याएर वडाध्यक्ष बने।
अहिलेको उपनिर्वाचनमा पनि कांग्रेस उम्मेदवार मोतीराम खत्री ५९० मतसहित निर्वाचित भएका छन्। कांग्रेसलाई अहिले एमालेले सहयोग गरेको छ। माओवादीबाट उम्मेदवार बनेका जसीराम बस्नेतले ५३७ मत ल्याएका छन्। अहिले यो वडामा दुई जना उम्मेदवार मात्र प्रतिस्पर्धामा थिए।
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ मा माओवादीले आफ्नो विरासत फर्काएको छ। यो वडामा २०७४ को स्थानीय तह निर्वाचनमा माओवादीले वडाध्यक्ष जितेको थियो। २०७९ को निर्वाचनमा एमालेले जितेको थियो। अहिलेको उपनिर्वाचनमा फेरि माओवादीले वडाध्यक्ष पद जितेको छ।
यो उपनिर्वाचनमा माओवादीका नरबहादुर झाँक्री १६१ मतले वडाध्यक्ष निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी एमालेका नरबहादुर रोकाले ११६ मत पाए। कांग्रेसका राजेन्द्र प्रसाद न्यौपानेले २१ मत मात्र पाए। २०७४ मा माओवादीका नवराज बुढाथोकी र २०७९ मा नेकपा एमालेका नन्दलाल रोका निर्वाचित भए।
जाजरकोटको कुशे गाउँपालिका–७ को वडाध्यक्ष यसपटक कांग्रेसले जितेर विरासत फर्काएको छ। २०७४ यो वडामा नेपाली कांग्रेसका रामबहादुर शाही वडाध्यक्ष निर्वाचित भएका थिए। २०७९ माओवादीले कांग्रेसबाट खोसेको थियो। माओवादीका मनबहादुर खत्री निर्वाचित भएका थिए।
यो उपनिर्वाचनमा खम्बबहादुर सिंह कांग्रेसबाटै यो वडामा वडाध्यक्ष निर्वाचित भएका हुन्। २०७९ को निर्वाचनमा उनी माओवादी उम्मेदवारसँग पराजित भएका थिए।
दैलेखको दुल्लु नगरपालिका–१३ मा भएको उपनिर्वाचनमा नेकपा एमालेले २०७४ यताको आफ्नो जनमत कायम राखेको छ। यो वडामा अहिलेको उपनिर्वाचनमा नेकपा एमालेका लालबहादुर शाही वडाध्यक्ष निर्वाचित भएका छन्। यसअघि पनि २०७४ मा एमालेका सूर्यबहादुर शाही र २०७९ मा विर्खबहादुर शाही वडाध्यक्ष निर्वाचित भएका थिए।
कालीकोटको तिलागुफा नगरपालिका–४ को उपनिर्वाचनमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले आफ्नो मत फर्काएको छ। २०७४ मा निर्वाचित वडाध्यक्षले नै नेमकिपाको विरासत यसपटक फर्काएका हुन्। २०७४ मा खड्गराज शाहीले वडाध्यक्ष जितेका थिए। यो पटक पनि उनैले जितेका छन्। २०७९ मा भने माओवादीका परबहादुर शाहीले वडाध्यक्ष पद जितेर नेमकिपाबाट वडा खोसेको थियो।
साना दलको नगण्य मत
अहिलेको उपनिर्वाचनमा पनि पछिल्लो समय आएका दलहरूले कर्णालीमा आफ्नो अस्तित्व स्थापना गर्न सकेनन्। माधव नेपाल नेतृत्वको नेकपा (एस) ले २०७९ को स्थानीय निर्वाचनमा कर्णालीका केही क्षेत्रमा जितेको थियो।
अहिलेको उपनिर्वाचनमा भने समाजवादीबाट दैलेखको महाबुमा अध्यक्ष पदका उम्मेदवार मात्र थिए। समाजवादीका उम्मेदवारले चार मत मात्र ल्याए।
बाँकी पाँच वटा वडा र दुईवटा पालिकाको उपाध्यक्ष, उपप्रमुख पदमा समाजवादीका उम्मेदवार थिएनन्।
स्थानीय तह निर्वाचन र कर्णाली प्रदेशमा पहिलोपटक चुनाव लडेको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि तुलनात्मक मत ल्याउन सकेन।
कर्णालीमा उपनिर्वाचन भएका ८ पद मध्ये रास्वपाले तीन वटा पालिका र दुई वटा वडा गरि पाँच ठाउँमा उम्मेदवारी दिएको थियो। यी सबै मतदाताले पाएको कुल मत ३७४ छ।