चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बेइजिङमा समकक्षी ली छ्याङसँग भेटवार्ता गरेका छन्।
बेइजिङमा उनले समकक्षीसहित तीन जना उच्चस्तरीय चिनियाँ नेताहरूसँग दुई पक्षीय भेटघाट गर्ने तालिका छ।
बेइजिङको उत्तरपश्चिममा रहेको त्याओ युथाइ (नेपाली उच्चारण अनुसार दिआओ यु ताइ) राज्य गेष्टहाउसमा रहेका प्रधानमन्त्री ओली चिनियाँ समय अनुसार मंगलबार बिहान १०:१० बजे जनबृहत सभा भवनमा प्रस्थान गरेका थिए। जनबृहत सभा भवनमा चिनियाँ प्रधानमन्त्री ली छ्याङले समकक्षी ओलीसहित प्रतिनिधिमण्डललाई स्वागत गरेका छन्।
सभा भवनमा दुई पक्षीय वार्ता भएको हो। आज मध्यान्ह १२ बजेसम्म चलेको उक्त वार्तामा नेपालका प्रधानमन्त्री सहित १३ उच्च अधिकारी सहभागी भएका थिए।
चिनियाँ प्रधानमन्त्रीसँगको ४५ मिनेटको वार्तापछि दुई पक्षीय सम्झौतामा हस्ताक्षर हुनेछ। हस्ताक्षरपछि चिनियाँ प्रधानमन्त्री ली छ्याङले नेपाली प्रधानमन्त्रीको स्वागतमा जनबृहत सभा भवनमै दिवाभोजको आयोजना गर्ने तालिका छ।
दिउँसो साढे १ बजे प्रधानमन्त्री ओलीले थिआनआनमन स्क्वायरको बीचमा रहेको शहीद स्मारकमा श्रद्धान्जली गर्ने कार्यक्रम छ।
प्रधानमन्त्री ओली अपरान्ह ३ बजे जनबृहत सभा भवनमै चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष चाउ लचीसँग भेटवार्ता गर्नेछन्। चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष चाउ लचीसँग आधा घण्टा वार्ता हुनेछ।
चिनियाँ राज्य गेष्ट हाउसको १८ नम्बर भिलामा बसेका ओली चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेट गर्न सोही चिनियाँ राज्य गेष्ट हाउसको १२ नम्बर भिल्लामा अपरान्ह ४ बजे पुग्नेछन्।
१३ जना नेपाली प्रतिधिनिमण्डलको नेतृत्व गर्दै चिनियाँ राष्ट्रपति सी चिनफिङसँग आधा घण्टा वार्ता गरेपछि ओलीले थप २० मिनेट चिनियाँ राष्ट्रपतिसँग एक्लै वार्ता गर्नेछन्।
नेपालको तर्फबाट प्रधानमन्त्री ओली एक्लै भए पनि चिनियाँ राष्ट्रपतिका साथमा चिनियाँ परराष्ट्रमन्त्री वाङ यी पनि रहने एक नेपाली प्रतिनिधिले सेतोपाटीलाई बताए।