राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री विदेश भ्रमण जाँदाआउँदा स्वागत र बिदाइमा विमानस्थलमा लाग्ने भिभीआइपी र भिआइपीको भिड हट्ने भएको छ।
गृह मन्त्रालयले अति विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापनसम्बन्धी कार्यविधि संशोधन गर्दै राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री विदेश भ्रमण आउजाउ गर्दा स्वागत र बिदाइमा जानुपर्ने पदाधिकारी तोकेको हो।
संशोधित कार्यविधिअनुसार अब राष्ट्रपति विदेश भ्रमणमा जाँदा वा आउँदा उपराष्ट्रपति, प्रधानमन्त्री, गृहमन्त्री, रक्षा मन्त्री, परराष्ट्र मन्त्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री, प्रधान सेनापति, राष्ट्रपति कार्यालयका सचिव, परराष्ट्र मन्त्रालयका सचिव, प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी बलका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, शिष्टाचार महापाल र परराष्ट्र मन्त्रालयले आमन्त्रण गरेका विदेशी नियोगका प्रमुख उपस्थित भए पुग्नेछ।
नयाँ कार्यविधिअनुसार अब प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्ष तथा अन्य मन्त्रीहरू विमानस्थल जानुपर्ने छैन।
कार्यविधिले परराष्ट्रसँगै सुरक्षासम्बन्धी मन्त्रालय र नागरिक उड्डयन हेर्ने बाहेकका मन्त्रीलाई विमानस्थल जानु नपर्ने व्यवस्था गरेको छ।
जसका कारण विमानस्थलको अति विशिष्ट कक्षमा हुने भिडभाड घट्ने भएको छ।
संशोधित कार्यविधिले राष्ट्रपति आउँदा र जाँदा मुख्यसचिवलाई पनि एयरपोर्ट जानु नपर्ने व्यवस्था गरेको छ।
परराष्ट्र मन्त्रालय बाहेकका सचिवहरूलाई पनि एयरपोर्ट गइराख्नुपर्ने बाध्यता हटाइदिएको छ। अति विशिष्ट व्यक्तिको भ्रमणका बेला मन्त्री र सचिव विमानस्थल आउजाउ गर्दा मन्त्रालयको काम प्रभावित हुने गरेको थियो।
त्यस्तै उपराष्ट्रपति विदेश जाँदा र आउँदा एयरपोर्टमा प्रधानमन्त्री, परराष्ट्र मन्त्री, प्रधान सेनापति, उपराष्ट्रपति कार्यालयका सचिव, परराष्ट्र मन्त्रालयका सचिव, शिष्टाचार महापाल र परराष्ट्र मन्त्रालयले आमन्त्रण गरेका विदेशी नियोगका प्रमुख उपस्थित भए पुग्नेछ।
त्यस्तै कार्यविधिले राष्ट्रपति र उपराष्ट्रपतिको विदाइ र स्वागतमा जहाज चढ्ने ठाउँसम्म प्रधानमन्त्री, परराष्ट्र मन्त्री, सोही निकायका सचिव र शिष्टाचार महापाल मात्र जाने गरी व्यवस्था गरेको छ।
त्यस्तै प्रधानमन्त्री विदेश जाँदा र विदेश भ्रमणबाट फिर्ता हुँदा कार्यवाहक प्रधानमन्त्री, गृहमन्त्री, परराष्ट्र मन्त्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री मात्र एयरपोर्ट गए पुग्ने व्यवस्था गरेको छ।
प्रधानमन्त्रीको स्वागत र बिदाइमा रक्षा मन्त्रीसहित अन्य मन्त्रीहरू एयरपोर्ट जानुपर्ने छैन।
प्रधानमन्त्रीको स्वागत र बिदाइमा मुख्य सचिव, प्रधान सेनापति, परराष्ट्र मन्त्रालयका सचिव, सञ्चार मन्त्रालयका सचिव, प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, शिष्टाचार महापाल र परराष्ट्र मन्त्रालयले आमन्त्रण गरेका विदेशी नियोगका प्रमुख उपस्थित हुनेछन्।
प्रधानमन्त्रीको स्वागत र बिदाइमा सभामुख, राष्ट्रिय सभाका अध्यक्ष लगायतका विशिष्ट व्यक्तिहरूलाई एयरपोर्ट जानु नपर्ने भएको छ। यसअघि सभामुख र राष्ट्रिय सभा अध्यक्षसमेत विमानस्थलमा उपस्थित हुने गरेका थिए।
प्रधानमन्त्री केपी शर्मा ओली चार दिने चीन भ्रमणका लागि मंगलबार चीन प्रस्थान गर्दैछन्। नयाँ कार्यविधिअनुसार प्रधानमन्त्री ओलीको विदाइमा सभामुख र राष्ट्रिय सभा अध्यक्ष विमानस्थल गइराख्नु पर्दैन।
राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीलाई विमानस्थलमा गार्ड अफ अनर दिने गरिएको छ। त्यसैले सुरक्षा निकायका प्रमुखहरूलाई उपस्थितिको व्यवस्था गरिएको छ।
राष्ट्रपति विदेशमा गएका बेला उपराष्ट्रपतिले कार्यवाहक राष्ट्रपतिका रूपमा कारकेड प्रयोग गर्ने व्यवस्था पनि कार्यविधिमा छ।