सुदूरपश्चिम प्रदेशका पाँच स्थानीय तहमा मतदान भइरहेको छ।
प्रदेश निर्वाचन कार्यालय धनगढीका अनुसार आइतबार बिहान ७ बजेदेखि सबै ठाउँमा मतदान कार्य सुरू भएको हो।
सुदूरपश्चिममा एक उपाध्यक्ष र चार वडाअध्यक्षका उपचुनाव भइरहेको छ।
यहाँ उपनिर्वाचनका लागि १८ वटा मतदान केन्द्र तोकिएको छ। बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका उपाध्यक्ष पदका भइरहेको निर्वाचनमा ७ हजार ६० मतदाता छन्।
उक्त गाउँपालिकाको उपाध्यक्ष पदका लागि तीन जना महिला उम्मेदवार छन्।
यहाँ उपाध्यक्ष पदका लागि नेपाली कांग्रेसबाट पुल्तीसरा शाही, एकीकृत समाजवादीबाट जवा शाही, एमालेबाट सुलोचनाकुमारी भण्डारी उम्मेदवार छन्।
यस्तै बझाङको सुर्मा गाउँपालिका–४ मा वडा अध्यक्ष पदका लागि सुर्मा माध्यमिक विद्यालयमा मतदान सुरू भइरहेको छ। बिहान ७ बजेदेखि सुरू भएको मतदान साँझ ५ बजेसम्म चल्ने मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले बताए।
निर्वाचनका लागि सुरक्षा व्यवस्था कडा पारिएको समेत उनको भनाइ छ।
सुर्मा गाउँपालिका वडा नम्बर ४ मा एमालेबाट निर्वाचित वडा अध्यक्ष सर्जन बोहराको मृत्यु भएपछि उपनिर्वाचन गरिएको हो।
वडाध्यक्षको पदका लागि नेपाली कांग्रेसबाट धिरेन्द्र पुजारा, एमालेबाट लखिचन्द्र बोहरा र नेकपा (माओवादी केन्द्र) बाट पुष्कर बोहरा गरी तीन जनाको उम्मेदवारी परेको छ। निर्वाचनमा दुई वटै मतदान केन्द्रमा गरी दुई जना मतदान अधिकृत, दुई जना सहायक मतदान अधिकृत, चार जना सहायक कर्मचारी र दुई जना कार्यालय सहयोगी गरी जम्मा १० जना कर्मचारी खटिएको जिल्ला निर्वाचन कार्यालय बझाङले जनाएको छ। सुर्मा वडा नम्बर ४ मा कुल १ हजार ५ सय ५४ जना मतदाता रहेका छन्।
यस्तै डोटीको पुर्वीचौकी गाउँपालिका वडा नम्बर ६ मा पनि अध्यक्ष पद रिक्त छ।
त्यहाँ रिक्त पदमा चुनाव लड्न एमालेबाट देवबहादुर थापा, कांग्रेसबाट मोहन थापा, माओवादी केन्द्रबाट देवीलाल थापा र राष्ट्रिय स्वतन्त्र पार्टीबाट जानकीकुमारी खड्का गरेर चार उम्मेदवार छन्।
यस्तै दार्चुलाको दुहुँ गाउँपालिका वडा नम्बर ५ मा वडाअध्यक्ष पद रिक्त छ।
रिक्त पदमा निर्वाचन लड्न एमालेबाट मानसिंह बडाल, कांग्रेसबाट धनसिंह कुँवर, माओवादीबाट विरसिंह कार्की र स्वतन्त्रबाट लालबहादुर कुँवर गरी चार जना उम्मेदवार छन्।
यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका–६ मा पनि वडाअध्यक्ष पद रिक्त छ।
यहाँ सबैभन्दा बढी १२ जना उम्मेदवार छन्।
एमालेबाट बहादुर चन्द, कांग्रेसबाट प्रकाश चन्द, माओवादीबाट नानाराम कोली, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रामदत्त भट्ट, राप्रपाबाट शुशिलकुमार भट्ट, जनमत पार्टीबाट यादवबहादुर चन्द, एकीकृत समाजवादीबाट जितेन्द्रबहादुर चन्द, नागरिक उन्मुक्ति पार्टीबाट हरिष डगौरा, नेपाल मजदुर किसान पार्टीबाट दलबहादुर बोहरा, राप्रपा नेपालबाट दिलबहादुर धामी, स्वतन्त्रबाट युवराज चन्द र स्वतन्त्रबाटै थानेश्वर लेखक उम्मेदवार हुन्।
मतदान साँझ ५ बजेसम्म चल्नेछ।