नेपाली कांग्रेस कोशी प्रदेश समितिले मंसिर २२ गते विराटनगरमा पहिलो प्रदेश सम्मेलन आयोजना गर्दैछ। पार्टीको प्रदेश समितिले तय गरेको प्रदेश सम्मेलनअघि नै मंसिर १८ मा शेखर कोइराला पक्षले अर्को भेला गर्ने तयारी गरेको छ।
प्रदेश सम्मेलन प्रभावित पार्ने गरी संस्थापनइतर पक्षले अलग्गै भेला आयोजना गर्न लागेको भन्दै संस्थापन पक्षका नेताहरू भेला रोक्न लागेका छन्।
‘आजभोलि नै केन्द्रले कोइराला पक्षको भेला रोक्न भनेर पत्र पठाउने तयारी छ,’ कोशी प्रदेश समितिका एक पदाधिकारीले भने, ‘पार्टी भेलाको मुखैमा गुटको भेला हुनु हुँदैन। यसले उपनिर्वाचनमा पनि असर गर्छ।’
प्रदेश समितिले प्रदेश सम्मेलन गर्नुभन्दा चार दिनअघि शेखर पक्षले कोशी प्रदेशका सबै पालिकाका पार्टी सभापतिहरूलाई विराटनगर बोलाएपछि संस्थापन पक्ष भेला रोक्न लागेको छ।
कांग्रेस स्रोतका अनुसार कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले मौखिक रूपमा भेला रोक्न भनिसकेका छन्। यद्यपि कोइराला पक्षले भेला नरोक्ने अडान लिएको छ।
प्रदेश सम्मेलनमा सभापति शेरबहादुर देउवा प्रमुख अतिथि र अन्य पदाधिकारीहरूको पनि सहभागिता रहने छ।
त्यस्तै, मोरङ जिल्लाका १७ वटा पालिकामा रहेका कांग्रेसका स्थानीय समितिहरू आयोजक भनिएको संस्थापनइतर पक्षको कार्यक्रममा शेखर कोइराला प्रमुख अतिथि हुने विराटनगर महानगरका सभापति दीपक चापागाईंले जानकारी दिए।
कोशी प्रदेशको राजधानी विराटनगर नेता शेखर कोइरालाको गृहनगर हो।
आफ्नै गृहनगरमा हुन लागेको प्रदेश सम्मेलनमा कोइराला अनुपस्थित रहने सम्भावना रहेको उनी निकट नेताहरूले बताएका छन्। प्रदेश भेलामा आफूलाई शेरबहादुर देउवापछिको आसन र समय दिनुपर्ने कोइराला पक्षको माग छ।
‘सभापति पदको निकटतम प्रतिस्पर्धीलाई वरिष्ठ नेताको सम्मान दिएर सभापतिपछिको आसनमा राख्नुपर्छ भन्ने हाम्रो माग हो,’ कोइराला निकट स्रोतले भन्यो, ‘प्रदेश सम्मेलनअघि त्यस्तो निर्णय नभए शेखर दाइ सम्मेलनमा नजान पनि सक्नुहुन्छ।’
पार्टीको १४ औं महाधिवेशनमा देउवासँग सभापतिमा प्रतिस्पर्धा गरेका कोइरालाको अहिले कांग्रेसको आन्तरिक मर्यादाक्रममा २६ औं स्थान छ।
कोइराला पक्षले सभापतिका निकटम प्रतिस्पर्धीलाई वरिष्ठ नेता बनाउनुपर्ने माग गरिरहेको छ। यद्यपि देउवाले यो मागप्रति चासो देखाएका छैनन्।
यसरी वरिष्ठ नेता बनाउनु पर्ने कोइराला पक्षको माग र त्यो मागलाई बेवास्ता गर्ने संस्थापन पक्षको अडानको चेपुवामा कोशी प्रदेशको भेला पर्ने अवस्था आएको छ।
उपनिर्वाचनको मुखैमा कोइराला पक्षले समानान्तर भेला आयोजना गरेर ठीक नगरेको भन्दै संस्थापन पक्षले असन्तोष प्रकट गरेको छ।
कोइराला पक्षले भने संस्थापन पक्ष केन्द्रदेखि प्रदेशसम्मै आफूहरूलाई पेलेर जाने मुडमा देखिएका कारण आफ्नो गतिविधि जारी राखेको बताइरहेको छ।
कोशी प्रदेश समितिका सभापति एवम् पूर्व मुख्यमन्त्री उद्धव थापाले पार्टीको विधान अनुसार पहिलो प्रदेश सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएका छन्।
उनले पार्टीको अर्को भेलाबारे भने केही जानकारी नभएको बताए।
संस्थापन पक्षका नेताहरू शेखर पक्षले पार्टीको कार्यक्रम असफल पार्न उस्तै समय पारेर समानान्तर भेला गर्न लागेको आरोप लगाइरहेका छन्।
‘कांग्रेस कोशी प्रदेश समिति मंसिर २२ मा विराटनगरमा हुने प्रथम प्रदेश सम्मेलनको अन्तिम तयारीमा पुगेको छ। विभिन्न उपसमितिहरू गठन गरेर काम तीव्र रूपमा अघि बढिरहेको छ,’ प्रदेश सभापति थापाले भने, ‘हामी प्रदेश सम्मेलनकै व्यस्ततामा छौं। अर्को भेलाबारे हामीलाई केही जानकारी छैन।’
सभापति थापाले संस्थापनइतर पक्षको भेलाप्रति लक्ष्य गर्दै त्यस्तो भेलाको वैधानिकतामाथि नै प्रश्न समेत उठाएका छन्।
‘त्यस्तो भेलाबारे हामीलाई जानकारी छैन यदि त्यस्तो आयोजना हुन लागेको हो भने त्यसको वैधानिकतामाथि प्रश्न उठ्नसक्छ,’ उनले भने।
सभापति थापाका अनुसार प्रदेश सम्मेलनमा पार्टीका केन्द्रीय पदाधिकारी, पूर्व पदाधिकारी, केन्द्रीय सदस्य, जिल्ला सभापतिहरू, प्रतिनिधिसभा क्षेत्रीय सभापतिहरू, महासमिति सदस्य, महाविधेशन प्रतिनिधि, पालिका सभापति, प्रतिनिधिसभा तथा प्रदेश अधिवेशन प्रतिनिधिहरू सहभागी हुनेछन्।
बन्दसत्रमा ६४८ जना प्रतिनिधिहरू सहभागी हुने र सोही सत्रले कांग्रेस कोशीको राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदनमाथि छलफल गर्दै पारित गर्नेछ।
उता कोइराला पक्षले आयोजना गर्न लागेको पालिका सभापतिहरूको भेलाको संयोजन गरिरहेका कांग्रेस विराटनगर महानगर सभापति दीपक चापागाईं भने आफूहरूले पार्टीको जिल्ला समितिलाई जानकारी दिएको बताउँछन्।
उनले भेला कसैगरी नरोकिने अडान पनि प्रकट गरेका छन्।
‘हामीले पार्टीकै विधानमाथि छलफल गर्न भेला आयोजना गरेका हौं, कसैको दबाबले भेला रोकिन्न,’ उनले भने।
शेखर कोइराला पक्षका चापागाईंले पार्टीका वडा र पालिकास्थित समितिहरूले कार्यक्रम गर्दा प्रदेशलाई भन्दा जिल्लालाई जानकारी दिनुपर्ने बताउँदै आफूहरू दुइटै भेला सफल पार्न लागेको दाबी गरे।
मोरङ सभापति शेखर पक्षकै डिगबहादुर लिम्बू छन्। प्रदेश सभापति थापा भने संस्थापन पक्षका हुन्। संस्थापन भित्रको पनि सिटौला समूहका थापाले आफूहरूलाई जानकारी नगराएको भन्दै पालिका सभापति भेलाबारे असन्तोष प्रकट गरेका हुन्।