उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धन राजनीतिक स्थायित्वका लागि बनेकोले अस्थिरताको खेती गर्ने र मुलुकमा राजनीतिक अस्थिरता बनाइरहनेहरुलाई छटपटी भएको बताएका छन्।
रुपन्देही उद्योग संघको ४७ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै पौडेलले कतिपय व्यक्तिहरु पर्दा भित्र र बाहिरबाट समेत सरकारकाविरुद्ध लागिरहेको उल्लेख गर्दै यो गठबन्धन २०८४ सालसम्म नै रहने भएकोले कुनैपनि चलखेलमा नलाग्न चेतावनी दिए।
‘कतिपय व्यक्तिहरु पर्दा भित्र र पर्दा बाहिरबाट सरकारका विरुद्धमा लागेका छन् तर, अहिलेको समिकरण २०८४ सालसम्म नै रहन्छ,’ पौडेलले भने।
अर्थमन्त्री पौडेलले २०८४ सालको निर्वाचन सम्म गठबन्धन नफेरिने भन्दै सरकार परिवर्तन हुँदै छ भनेर भ्रम फैलाउने र त्यसैमा नरमाउन आग्रह गरे। मुलुकलाई अस्थिरताबाट मुक्त बनाउनकै लागि अहिलेको गठबन्धन बनेको र स्थिरताको लागि अर्को विकल्प पनि नभएको बताए।
‘राजनीतिक अस्थिरतालाई व्यवस्थापन गर्न नै धेरै समय खर्चिरहनुपर्ने समस्या थियो। २०७९ सालमा निर्वाचित संसदले यो भन्दा राम्रो र बलियो अर्को कुनै सरकार दिन सक्दैनथ्यो, नीतिमा र नेतृत्वमा स्थिरताको लागि मुख्य दुई ठूला पार्टीको गठबन्धन बनेको हो,' उनले भने।
अर्थमन्त्री पौडेलले सरकार गठन हुँदा अर्थतन्त्र कहालीलाग्दो अवस्थामा रहेको उल्लेख गर्दै सरकार सरकार गठन भएको चार महिनामै देशको अर्थतन्त्र सुधारको बाटोमा गएको बताए।
‘अर्थतन्त्र कहालिलाग्दो अवस्थामा थियो, जताततै समस्याहरुको चाङ थियो। संचित कोष २ खर्ब भन्दा बढि ऋणात्मक थियो भने भुक्तानी गर्ने बिलहरुको चाङ थियो,उनले भने। सरकार गठन भएपछिको पहिलो चारमहिनामै १७/१८ प्रतिशत राजश्व वृद्धि भएको र सबैप्रकारका चुहावट नियन्त्रण गर्ने अभियानमा सरकार लागिपरेको उनले बताए।
आर्थिक क्षेत्रको सुधारको लागि सरकारले उच्च स्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गरेको र सोहि आयोग मार्फत एकिकृत र व्यवस्थीत रुपमा आर्थिक क्षेत्रका विज्ञहरु र निजी क्षेत्रको सुझाव लिएर कार्यान्वयन गर्दै जाने बताए।
अर्थमन्त्री पौडेलले नीजि क्षेत्रको आत्मविश्वास बढाएर उनिहरुलाई माथी नउठाएसम्म अर्थतन्त्रमा सुधार नहुने भएकोले सरकारले नीजि क्षेत्रका समस्या समाधानलाई प्राथमिकतामा राख्दै आएको बताए। उनले स्थिरताको लाभ लिँदै उद्योग व्यवसायमा लगानी गर्न उद्योगी व्यवसायीलाई आग्रह पनि गरे।
उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल कुनैपनि हालतमा नियमित संचालन हुने भन्दै विमानस्थलबारे नकारात्मक टिकाटिप्पणी नगर्न सचेत बनाए।
‘हिँजो विमानस्थल चाहिँदैन, बन्दैन भन्थे, हामिले बनाएर देखायौं। अहिले फेरि चल्दैन भन्दै भ्रम फिँजाइरहेका छन्, विमानस्थल चल्छ हामी चलाएर देखाउँछौं,’ पौडेलले भने।
अर्थमन्त्री पौडेलले विमानस्थल संचालनको क्रममा आईपर्ने जस्तो सुकै बाधा अड्चन आएपनि तिनलाई समाधान गर्दै चल्दैन भन्नेहरुलाई बोलेर होईन चलाएर जवाफ दिने बताए।
उद्योगी र विद्युत प्राधिकरणका बीच देखिएको समस्याबारे बोल्दै अर्थमन्त्री पौडेलले प्राधिकरणले बिल दिनुपर्ने र उद्योगीले बक्यौता बुझाउनुपर्ने बाहेक अर्को विकल्प नभएको बताए।
‘विद्युत उपभोग गर्नेले भुक्तानी गर्दिन भनेर उम्किन पाउँदैन, भुक्तानी माग्नेले पनि बिल दिएर मात्र भुक्तानी माग्नुपर्छ,’ उनले भने।
अर्थमन्त्री पौडेलले बुटवल नारायणगढ सडकखण्डको निर्माण कम्पनीले स्रोतको व्यवस्थापन गरेर छिट्टै काम अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरेकोले अब समस्या हट्ने विश्वास व्यक्त गरे।
उनले बुटवल नारायणगढ र बुटवल बेलहिया सडक आयोजनामा देखापरेका समस्याहरुबाट पाठ सिकेर बुटवल गोरुसिंगे सडक निर्माणको काम अगाडि बढाइने बताए।
अस्थिरता र राजनीतिक स्वार्थकै कारण नेपालले औद्योगिक क्षेत्रमा फड्को मार्न नसकेको स्वीकार गर्दै अर्थमन्त्री पौडेलले अब तीब्र गतिमा औद्योगिकरणमा जानुपर्ने बताए।
बुटवलको मोतिपुर औद्योगिक क्षेत्रमा देखिएको समस्या समाधान गर्दै स्थानीयले जोतभोग र बसोबास गरिरहेको क्षेत्र छाडेर भएपनि औद्योगिक क्षेत्र निर्माणको काम अगाडी बढाउने सरकारको तयारी रहेको बताए।
रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटाले रुपन्देहीमा १ वर्षमा ३५४ वटा उद्योग बन्द भएको र संचालनमा रहेका उद्योगहरुले पनि ४० प्रतिशत मात्रै उत्पादन गर्दै आएको बताए। उनले उद्योगहरुको अवस्था सुधारका लागि कार्यान्वयनमुखी उद्योग नीति ल्याउन अर्थमन्त्री पौडेललाई आग्रह गरे।
कार्यक्रममा ४७ हजार १५५ राशीको उत्कृष्ट औधोगिक पत्रकारिता पुरस्कारबाट पत्रकार दिनेश पाण्डेलाई पुरस्कृत गरिएको थियो।