नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) विवाद गर्नुपर्ने विषय नभएको बताएका छन्।
शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चीन भ्रमणका क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता खनालले बेल्ट एन्ड रोड इनिसियटिभको रूपमा चीनले अगाडि सारेको विषयमा विवाद गर्न आवश्यक नरहेको बताएका हुन्।
'बिआरआई त्यो कुनै विवाद गर्नुपर्ने विषय नै होइन । बेल्ट एण्ड रोड संसारमा जति वटा बेल्टहरु छन्, त्यसमा रोडहरु पनि बनाऔँ भन्ने चीनको धारणा हो,' उनले भने।
खनालले नेपाल र चीनका बीचमा बहुआयामिक क्षेत्रमा हाम्रा विकास र निर्माणका अनेकन सहयोगहरु गर्नुपर्ने आवश्यकता रहेको पनि बताए।
उनले चीनले ऋण मात्रै दिनुपर्छ भन्नेहरुले चीनबाट अनुदान लिएर बनाइएका उद्योगधन्दाहरु कौडीको मूल्यमा बेचेको आरोप पनि लगाए।
उनले चीनबाट लिने ऋण वा अनुदान लिँदा राष्ट्रिय हितलाई सर्वोपरी राख्नुपर्ने बताए।
अमेरिकाबाट लिइएको मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसिसि) परियोजना दुई वर्षमा १० अर्ब बढी ऋण नेपालले हाल्नुपरेको भन्दै नेपालका लागि एमसिसी ऋण भन्दा पनि ठूलो भएको बताए। एमसिसी राष्ट्रका लागि बोझ भएको खनालले बताए।
खनालले आग्रह, पूर्वाग्रहबाट नभइ यथार्थ ढंगले सम्बन्धहरु बिस्तार गर्नुपर्ने बताए। उनले नेपाल र चीनको सम्बन्ध सुदृढ गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे। (न्युज एजेन्सी नेपाल)