जिल्ला अदालत काठमाडौंले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप चार दिन हिरासतमा राख्न अनुमति दिएको छ।
विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत कसुर गरेको आरोपमा पक्राउ परेका प्रसाईंलाई शुक्रबार थप चार दिन हिरासतमा राख्न अनुमति दिएको नेपाल प्रहरीको साइबर ब्युरोका एसपी दिपकराज अवस्थीले जानकारी दिए।
गत आइतबार उनलाई पाँच दिन हिरासतमा राख्न अदालतले प्रहरीलाई अनुमति दिएको थियो।
त्यस्तै भारतीय गुण्डा नाइके लरेन्स विश्नोईको नाम लिएर नेपाली व्यापारीहरूसँग रकम माग गरेको आरोपमा पक्राउ परेका प्रसाईंकै सहयोगीलाई पनि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पक्राउ गरेको छ।
झापाबाट पक्राउ परेका हरिचन्द्र फुयाँलमाथि अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको अनुमति दिएको सिआइबी प्रवक्ता एसपी होबिन्द्र बोगटीले जानकारी दिए।
फुयाँलमाथि प्रहरीले आपराधिक लाभ लिन नहुने कसुरमा अनुसन्धान गरिरहेको छ।