प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले दिएका अभिव्यक्तिमा जबाफ फर्काएका छन्।
माओवादी अध्यक्ष दाहालले केही समयअघि प्रधानमन्त्री ओलीले ‘चिनियाँ कार्ड’ खेलेको आरोप लगाएका थिए।
भारतीय पत्रिका द हिन्दुकी पत्रकार सुहासिनी हैदरसँगको अन्तर्वार्तामा अध्यक्ष दाहालले प्रधानमन्त्री ओली चीन भ्रमणमा जान लागेको विषयमा टिप्पणी गर्दै ‘चिनियाँ कार्ड’ को आरोप लगाएका हुन्।
यो पनि: प्रधानमन्त्री ओलीले 'चिनियाँ कार्ड' खेलेको प्रचण्डको आरोप
अध्यक्ष दाहालका उक्त अभिव्यक्तिलाई लक्ष्य गर्दै एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले शुक्रबार दरबारमार्गको जागरण सभाबाट जबाफ दिएका हुन्।
‘हाम्रो स्वाधीनता, भौगोलिक अखण्डताको रक्षा गर्दै विदेश नीतिलाई सन्तुलित गर्छौं। कतिले के-केन व्यवसाय भेट्टाएजस्तो गरेर, पहिले कता जानुपर्ने कता गयो, अपरिपक्व भयो..! कस्तो हुन्छ परिपक्व भनेको? कता जानुपर्ने? धर्मशास्त्रमा लेखेको छ कि, संविधानमा लेखेको छ कि, कानुनमा लेखेको छ कि, संयुक्त राष्ट्रसंघको बडापत्रमा छ कि कहाँचाहिँ बडा परिपक्वता भेट्टाउनुभयो, यी बाहियात र कायर कुराहरू हुन्!,’ प्रधानमन्त्री ओलीले भने।
उनले सबै छिमेकीहरूसँग सम्मानपूर्ण सम्बन्ध राख्ने बताएका छन्। ‘पारस्परिक लाभका आधारमा सम्बन्ध र व्यवहार राख्छौं। कसैप्रति वैरभाव छैन, छैन हाम्रो शत्रु, सबै छन् मित्रु, सबै मित्रको ढंगले हामी व्यवहार गर्न चाहन्छौं,’ उनले भने।
उनले चीन भ्रमण अत्यन्त सफल हुने बताए। प्रधानमन्त्री ओलीले मंसिर १७ गतेबाट चीनको औपचारिक भ्रमण गर्दैछन्।
‘प्रधानमन्त्रीको हैसियतमा मंसिर १७ गतेबाट चीन जाँदैछु। चीनको भ्रमण अत्यन्त सफल रहनेछ। चीनबाट फर्किएपछि कसरी सफल भयो तपाईंहरूले यसै पनि थाहा पाउनुहुनेछ। मैले आफैं पनि सम्प्रेषण गर्नेछु। के-के उपलब्धि भयो, यतिकै चीन यसो घुमेर आउँ भनेर जान लागेको होइन। देशको हितको लागि, देशको भलाइको लागि कुनै पनि देशको भ्रमण गरिन्छ। चीन भ्रमण उदाहरणीय हुनेछ, म तपाईंहरूलाई ढुक्कले यो कुरा भन्न चाहन्छु,’ उनले भने।