प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेससँगको गठबन्धन २०८४ सालसम्मै जाने बताएका छन्।
शुक्रबार काठमाडौंमा एमालेले आयोजना गरेको जागरण सभामा बोल्दै उनले कतिपयले माघ–फागुनसम्म मात्रै यो सरकार जाने हल्ला चलाएको बताउँदै २०८४ को चुनावसम्मै गठबन्धन कायम रहने बताएका हुन्।
‘हल्ला चलाइरहेका छन्, आज मंसिर ७ गते एमाले सरकारमा पनि छ। एमाले सरकारमा भएर पनि सभा सञ्चालन गरिरहेको छ। अलिक अगाडिसम्म केहो कसो भन्ने भन्ने परेको पनि हुनसक्छ,’ उनले भने, ‘सरकार बन्दै बन्दैन। बन्यो। विश्वासको मत पाउँदै पाउँदैन। पायो। यो महिना कट्दै कट्दैन। कट्यो। दसैं देख्दै देख्दैन। दसैं देख्यो होइन मनायो पनि। त्यतिमात्र होइन तिहार कट्दैकट्दैन। त्यो पनि देख्यो। कात्तिक कट्दैन। त्यो पनि कट्यो। मंसिर टेक्दैन, त्यो पनि कट्यो। अब भाका राख्दैछन् फेब्रुअरीको। फेबु्रअरी होइन, फेब्रुअरी भनेको माघ–फागुनको कुरा हो। म भन्न चाहन्छु। २०८४ साल मंसिरसम्म अहिलेको समीकरण कायम रहन्छ। सबैले बुझे हुन्छ। कान खोलेर सुने हुन्छ–म अब २०८३ साल असारसम्म प्रधानमन्त्री रहन्छु। म प्रधानमन्त्री छोडेर शेरबहादुरजीलाई जिम्मा लगाउँछु। उहाँले फेरि १८ महिना चलाउनुहुन्छ।’
उनले कांग्रेस–एमाले प्रतिस्पर्धी पार्टी हुँदाहुँदै पनि मुलुकको अवस्था हेरेर सहकार्य भएको बताए।