नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले एमाले कमजोर भयो भन्नेहरूका लागि शुक्रबारको जागरण सभाले जबाफ दिएको बताएका छन्।
पार्टीको काठमाडौं, भक्तपुर र ललितपुर तथा जनसंगठनहरूले आयोजना गरेको सभामा बोल्दै उनले शुक्रबारको सभाले पार्टी जनता र राष्ट्रको हृदयमा भएको सन्देश दिएको बताए।
उनले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली अराजकताकाविरूद्ध उभिँदा षड्यन्त्रको सिकार भइरहेको बताए।
‘आज हाम्रो पार्टी र हाम्रो पार्टीका अध्यक्षको विरूद्धमा गरिएको केही भ्रमका खेतीबारे प्रष्ट पार्नुपर्छ भनेर केही विषयमा चर्चा गर्छु। जतिबेला नेपाल शान्ति प्रक्रिया सुरू हुँदै थियो। शान्ति प्रक्रियाका नाममा समाजमा आतंक खडा गरिँदै थियो। पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले त्यो अराजकताका विरूद्ध आफूलाई दह्रो ढंगले उभ्याउनुभयो। त्यही समयमा उहाँलाई कमजोर बनाउन माओवादीका कार्यकर्ताको नामबाट षड्यन्त्र भयो। जावलाखेलमा बन्दै गरेको टेलिकमको घरको चित्र देखाएर यो त केपी ओलीको घर हो भनियो। पत्रपत्रिकामा फोटो टाँसियो। समयक्रममा त्यहाँ टेलिकमको अफिस चल्न थालेपछि भ्रम आफै अन्त्य भयो,’ उनले भने।
अराजकताका विरूद्ध उभिँदा अध्यक्ष ओलीविरूद्ध विभिन्न षड्यन्त्र र बदनामी भएको महासचिव पोखरेलले बताए।
‘सबैभन्दा बढी चर्चा ओम्नीबारे गरिन्छ। जतिबेला कोभिड महामारीमा सिंगो विश्व आक्रान्त थिए। यातायातको साधन बन्द थिए। लकडाउनको अवस्था थियो। भविष्यको असुरक्षा थियो। त्यस्तो बेला अस्पतालसमेत बन्द हुन थालेका बेला चीनमा अस्पतालका चिकित्सकहरूले उपचारका लागि प्रयोग गर्ने सुरक्षा सामग्री उत्पादन भइरहेको छ भन्ने थाहा पाएपछि। नेपाली जनताको जीवन रक्षाका लागि जसरी भए पनि सामग्री ल्याउन ओम्नी कम्पनीलाई सामग्री ल्याउन अनुमति दियौं। त्यतिबेला नेपाल एयरलाइन्सलाई भाडामा लिएर लिन जाँदा जुन कम्पनीले सामान दिने भनेको थिए, त्यो कम्पनीले सबै सामान उठाएर लगेपछि ओम्नी कम्पनीले जे सामान पाइन्छ त्यही सामान बोकेर नेपाल फर्कियो। र तिनै सामानबाट जनताको जीवन रक्षाको अभियान चलायौं। तर बुझ्दै जाँदा सम्झौताका शर्तअनुसारका सामग्री नआएको गुनासो आएपछि सरकारले त्यो कम्पनीलाई दिनुपर्ने पैसा रोकिदियो। धरौटी जफ्त ग¥यो। भनेको अर्थ सरकारले एक पैसा पनि खर्च नगरेको परियोजनाबारे, नेकपा एमाले, ओम्नी भनेर प्रचार गरिन्छ। यो कस्तो कुप्रचार हो?,’ उनले भने।