कोशी प्रदेशमा एक गाउँपालिका अध्यक्ष र सात वटा वडाध्यक्ष पदका लागि मंसिर १६ गते उपनिर्वाचन हुँदैछ।
उपनिर्वाचनमा मोरङको ग्रामथान गाउँपालिका कोशी प्रदेशकै चुनावी ‘इपिसेन्टर’ बनेको छ।
प्रदेशभरीमै प्रमुख पदमा एक ठाउँमात्रै चुनावी प्रतिष्पर्धा हुन लागेका कारण पनि राजनीतिक दलहरूले आफ्नो सम्पूर्ण ध्यान ग्रामथान केन्द्रित पारेका छन्।
नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टीसहितका १६ जना उम्मेदवार ग्रामथानको अध्यक्ष बन्ने होडमा रहेका छन्।
२०७९ को स्थानीय तह निर्वाचन जितेको कांग्रेस बर्चश्वलाई कायम राख्ने ध्येयमा छ। कांग्रेसबाट निर्वाचित तत्कालीन अध्यक्ष जयप्रकाश गच्छदारको निधन भएपछि उपनिर्वाचन हुन लागेको पालिकामा यसअघि दोस्रो बनेको एमाले पुरानो असफलता बिर्साउने गरी लागेको बताइरहेको छ।
२०७९ को स्थानीय निर्वाचनमा ग्रामथानमा पहिलो र दोस्रो बनेका कांग्रेस र एमाले मात्रै होइन, त्यसबेला तेस्रो स्थानमा चित्त बुझाएको माओवादी केन्द्रसमेत यसपटक सम्पूर्ण शक्ति लगाएर चुनावमा होमिएको छ।
उसले त अन्य दलभन्दा धेरै अघि नै उम्मेदवार चयन गरेर घरदैलो अभियान चलाइरहेको छ। यी तीन दलबाहेक अन्य साना दलहरू पनि आफ्नो चुनावी परीक्षणका लागि ग्रामथानमा लागिपरेका छन्।
ठूला हुन् या साना, सबैजसो दलहरूले ग्रामथानमा हुने उपनिर्वाचनलाई प्रतिष्ठाको विषय बनाएका छन्। उपनिर्वाचनले आगामी दिनका लागि चुनावी सन्देश दिने, जनमत आफूतिर तानिएको प्रमाणित हुने र स्थानीय सरकारमा आफ्नो शक्ति प्रदर्शित हुने आशाले दलहरूले सारा शक्ति खन्याउने योजना बनाएका छन्।
दुई सातायता ग्रामथानमा सबैजसो दलका ठूला नेताहरूको ओहोरदोहोर बाक्लो चलिरहेको छ।
‘प्रदेशभरीमै यहाँ मात्रै अध्यक्ष पदको चुनाव हुने भएका कारण पार्टीको ध्यान केन्द्रित हुनु स्वाभाविक हो’, कांग्रेसबाट ग्रामथानको अध्यक्ष पदका उम्मेदवार बनेका बलराम सरदारले भने, ‘अझ हामीले त जित हासिल गरेको पालिका भएकाले पनि त्यही सफलता हासिल गर्नुपर्नेछ।’
यही चुनौती झेल्ने भन्दै नेताहरू ग्रामथान केन्द्रीत भएका छन्। कांग्रेस नेताहरू महेश आचार्य, गुरूराज घिमिरे, मोरङका सभापति डिगबहादुर लिम्बूदेखि उनको समितिका पदाधिकारीसहित जिल्ला तहका बहुसंख्यक नेताहरू केही दिनयता ग्रामथानमा घरघरै पुगिरहेका छन्।
ग्रामथान कांग्रेसका कार्यकर्ताहरूले भने अनुसार यहाँको चुनावी सभाहरुमा सहभागी हुन र घरदैलो अभियानका लागि महामन्त्री विश्वप्रकाश शर्मादेखि, नेता शेखर कोइरालासम्मका केन्द्रीय नेता आउने कार्यक्रम छ।
कांग्रेसले चुनावी सफलतालाई निरन्तरता दिनुपर्ने चुनौती खेपिरहेका बेला एमालेले आफ्नो शक्ति बढेको देखाउनुपर्ने आवश्यकता बोध गरेको छ।
एमालेले पनि प्रदेशदेखि जिल्लाभरीको शक्ति ग्रामथान केन्द्रीत तुल्याएको छ। यसअघि एमालेले महासचिव शंकर पोखरेललाई ग्रामथानमै ल्याएर जिल्लाभरीका नेताहरूका लागि प्रशिक्षण कार्यक्रम राखेको थियो।
पार्टीका प्रदेश इन्चार्जसमेत रहेका कोशीका पूर्वमुख्यमन्त्री शेरधन राई ग्रामथान केन्द्रीत अभियानमै छन्।
‘यो उपचुनाव पार्टीको प्रतिष्ठासँग जोडिएको विषय हो, यहाँ दायाँबायाँ गर्ने छुट कसैलाई हुने छैन’, राईले जिल्लाका कार्यकर्ताहरूलाई चुनौती नै दिएका छन्, ‘सिंगो पार्टी एकढिक्का बनेर यहाँको निर्वाचनमा सकारात्मक परिणाम ल्याउन लाग्नुपर्नेछ। सबैको एकएक अभिलेख पार्टीले राख्नेछ।’
एमालेबाट तुलसीराम विश्वास ग्रामथानमा उम्मेदवार छन्। केही महिना अघि मात्रै कांग्रेसबाट पार्टीमा भित्र्याएर नमोनारायण माझीलाई अध्यक्षको उम्मेद्वार बनाएको माओवादीले चुनावी अभियान सबैभन्दा अघिदेखि गरिरहेको छ।
सावित्रीकुमार काफ्ले, अमनलाल मोदी, जीवन आचार्यसहितका नेताहरू ग्रामथानमा केन्द्रित छन्।
२०७९ को स्थानीय तह निर्वाचनमा २५ हजार ९४२ मतदाता रहेको ग्रामथानमा अहिले २६ हजार ४४ जना मतदाता पुगेका छन्।
निर्वाचन आयोगले सार्वजनिक गरेको मतदाता नामावलीअनुसार २०७९ को तुलनामा यो उपनिर्वाचनसम्म १०२ जना नयाँ मतदाता थपिएका छन्।
नयाँ मतदाता संख्या अनुसार १३ हजार ३ पुरुष र १३ हजार ४१ महिला मतदाता कायम भएका छन्।
ग्रामथानमा १२ मतदान स्थलमा २९ मतदान केन्द्र तोकिएका छन्।
२०७९ को स्थानीय चुनावमा कांग्रेसबाट विजेता बनेका गच्छदारले ७ हजार ६०५ मत पाएका थिए भने एमालेका शिवनारायण माझीले ६ हजार ९३ मत प्राप्त गरेका थिए।
त्यसबेला तेस्रो बनेको माओवादी केन्द्रका विजयकुमार सरदारले २ हजार ७२७, राप्रपाका पखुलाल विश्वासले ४४७, नेकपा एकीकृत समाजवादीका राकेश चौधरीले १३९, जनमत पार्टीका पञ्चनारायण चौधरी थारुले ९४ र नेपाल मजदुर किसान पार्टीका मनोजकुमार चौधरीले ४ मत प्राप्त गरेका थिए।
यसअघि अध्यक्ष जितेको कांग्रेस पुरानो गणितले पनि आफै बलियो रहेको दाबी गरिरहेको छ भने एमालेसहितका अन्य दलहरू भने २०७९ को गणितले केही अर्थ नराख्ने बताइरहेका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको उम्मेदवारहरूको अन्तिम नामावलीमा ग्रामथानमा १६ जना उम्मेदवार कायम भएका छन्।
उपनिर्वाचनका लागि एक स्वतन्त्र र विभिन्न दलका १५ जनाले उम्मेदवारी दिएका छन्।
ग्रामथानमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दिनेशकुमार थन्दार, जनता समाजवादी पार्टी बाट धर्मेन्द्रकुमार चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टी बाट नवीनकुमार विश्वास खवास उम्मेदवार छन्।
त्यसैगरी नमनारायण चौधरी थारू–स्वतन्त्र, नेपाल मजदुर किसान पार्टीबाट पर्शुराम विश्वास थारू, मंगोल नेशनल अर्गनाइजेसनबाट भरत राई, नेपाल समाजवादी पार्टीबाट रामकुमार चौधरी थारू, राप्रपा नेपालबाट राजु मुसहर, जनमत पार्टीबाट विनोदकुमार माझी, नागरिक उन्मुक्ति पार्टीबाट बुद्धिचन विश्वास थारू, समावेशी समाजवादी पार्टी नेपालबाट बोधनारायण माझी र जनता समाजवादी पार्टी, नेपालबाट सुरेशकुमार राजवंशीको उम्मेदवारीे परेको छ।