नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले समाजलाई अराजकता र निरंकुशतातिर फर्काउने कसरत भइरहेको बताएका छन्।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला पटक-पटक संसद विघटन गरेको घटनाप्रति लक्ष्य गर्दै अध्यक्ष प्रचण्डले विगतमा संविधानको मर्म र भावना विपरीत संसद विघटन हुँदा लोकतन्त्रवादी, वामपन्थी मिलेर संघर्ष गर्दै असफल बनाएको पनि बताएका थिए।
‘समाजमा अलि बढी अराजकतातिर, निरंकुशतातिर फर्काउने कसरतहरू देखिएका छन्,’ काठमाडौंमा शुक्रबार भएको एक कार्यक्रममा प्रचण्डले भने, ‘हामीले स्थापित गरेको संघीय लोकतान्त्रिक गणतन्त्रको मूल्य, मान्यताबाट पछि हट्न खोज्ने हामीभित्रै कसैको मनशाय छ भने त्यसलाई पनि सफल हुन नदिनुपर्ने आवश्यकता छ।’
उनले संविधान आवश्यक मात्रामा संशोधन गर्नुपर्ने पनि बताए।
‘हामी कहीँ न कहीँ सजग हुनुपर्ने, शतर्क हुनुपर्ने आवश्यकता छ। फेरि कतै विगतको जस्तै संविधान मिच्ने, संसदलाई विघटन गर्ने कसरत कतै नहोस्। देशलाई फेरि एक पटक प्रतिगमनतिर लैजाने कसरत सफल हुन नपाओस् भन्ने कुरामा शतर्क हुनुपर्ने आवश्यकता छ,’ उनले भने।
(न्युज एजेन्सी नेपाल)