सिके राउत नेतृत्वको जनमत पार्टीले गोमा लाभ सापकोटाले पार्टी विभाजन गरेर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) जान लागेको आरोप लगाएको छ।
सांसद पदबाट निष्कासनका लागि संसद सचिवालयमा बुझाएको विवरणमा जनमत पार्टीले सांसद लाभले लोसपाका जासर यादवसँग भेटघाट गरेको उल्लेख गरेको छ। जनमत पार्टी धनुषाका पूर्वइन्चार्ज सञ्जयकुमार साहले उक्त सूचना पार्टी केन्द्रीय सचिवालयमा पठाएका छन्। उक्त सूचनालाई राजेशकुमार मण्डलले पार्टीको केन्द्रीय अनुसशान आयोगलाई दिएका छन्।
सांसद लाभले भने उक्त आरोप अस्वीकार गरेकी छन्।
‘जासर यादव भन्ने मान्छेलाई मैले चिनेको पनि छैन,’ लाभले भनिन्, ‘मैले भेटेको पनि छैन। त्यसमाथि कोही राजनीतिक दल र व्यक्तिसँग भेट्यो भन्दैमा यस्तो(पार्टी फुटाउन लागेको) हुन्छ र!’
सांसद लाभमाथि जनतम पार्टीले विभिन्न ठेक्कापट्टामा प्रतिशत तोकेर कमिसन मागेको आरोप लगाएको छ। वीरेन्द्र मण्डल, कुशवाह साहले सांसद लाभले ठेकेदारसँग पन्ध्र प्रतिशत कमिसन मागेको आफूले सुनेको भन्दै पार्टीमा उजुरी गरेका छन्।
उक्त उजुरीका आधारमा जनमत पार्टीले लाभलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ।
तर उजुरीकर्ताले कुन योजनाको ठेकेदारसँग पैसा मागेको भन्ने उल्लेख गरेका छैनन्।
सांसद लाभले भने ठेकेदारसँगको आफ्नो सम्पर्क पुष्टि गर्न चुनौती दिएकी छन्।
‘को ठेकेदार रहेछ। कहाँको रहेछ? त्यसको नाम पनि होला नि,’ लाभले भनिन्, ‘त्योसँग मेरो सम्पर्क छ कि छैन भन्ने पनि होला।’
जनमत पार्टीका राजेशकुमार मण्डलले सांसद लाभले पार्टीलाई लेबी नबुझाएको भन्दै केन्द्रीय अनुसशान आयोगलाई सूचना दिएका छन्। तर सांसद लाभले भने पार्टीको लेबी काटिएपछि मात्र संसद सचिवालयबाट तलब प्राप्त गर्ने बताएकी छन्।
जनमत पार्टीकी सांसद अनिता देवीले सांसद लाभ पार्टीको संसदीय दलको बैठकमा नआएको भन्दै पार्टी केन्द्रीय कार्यालय र अनुशासन आयोगमा सूचना दिएकी छन्। उनको सूचनामा तीन/चार पटक अनुपस्थित भएको उल्लेख छ। तर ठ्याक्कै कुन मितिको कुन कुन बैठक भन्नेसम्म उल्लेख गरेकी छैनन्।
सांसद लाभले भने आफूलाई संसदीय दलको बैठकको सूचना नै नदिइएको बताइन्।
‘बोलाएकै छैन। जानकारी नै गराएको छैन भने कसरी संसदीय दलको बैठकमा जाने,’ लाभले भनिन्, ‘बैठक छ भन्ने कुनै सूचना छैन। खबर नगर्ने, जानकारी नदिने अनि हामी पछाडि पछाडि किन जाने भन्ने हो।’
जनमत पार्टीले केन्द्रीय समितिले तोकेकोभन्दा विपरीत सांसद लाभले स्वकीय सचिव राखेको आरोप समेत लगाएको छ। जबकी संसद सचिवालयले सांसदले तोकेर दिएको व्यक्तिलाई स्वकीय सचिव राख्ने गरेको छ। सांसदले आफूलाई सहज हुने र योग्य व्यक्ति स्वकीय राख्न पाउँछन्।
सांसद लाभले आफूविरूद्ध लगाएको आरोप पुष्टि गर्न जनमत पार्टीलाई चुनौती दिएकी छन्।
‘मैले पार्टीविरूद्ध कुनै अहित हुने काम गरेको छैन,’ लाभले भनिन्, ‘आरोप लगाउने हो भने त प्रमाण पनि होला नि।’
उनले आफू एकल महिला भएका कारण निशाना साँधिएको महसुस भएको बताइन्।
‘एक्लो, सोझो महिला देखेर हेप्न खोजिएको हो कि,’ लाभले भनिन्, ‘मैले पार्टीका लागि महोत्तरीबाट समानुपातिकतर्फ ४० हजार मत ल्याएको छु।’
जनमत पार्टीले सांसद लाभलाई गत असोज १० गते यी सबै आरोपमाथि स्पष्टीकरण सोधेको थियो। उनले असोज १२ गते स्पष्टीकरण बुझाएकी छन्। असोज १६ गते जनमत पार्टीको केन्द्रीय कार्यकारी बैठकले उनलाई कारबाहीको निर्णय गरेको थियो।
जनतम पार्टीले सांसद लाभलाई पदबाट निकाल्न दिएको सूचना संसद सचिवालयमा भदौ २७ गते दर्ता भएको छ।
जनमत पार्टीले विगतमा जसपाकी सांसद सरिता गिरी र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठलाई पार्टीले निष्कासन गर्दा तत्कालै सभामुखले सूचना प्रकाशित गरेको उल्लेख गर्दै सांसद लाभलाई हटाइएको सूचना प्रकाशित गर्न सभामुखलाई दबाब दिएको छ।
तर सभामुख देवराज घिमिरेले भने लाभलाई हटाइएको सूचना प्रकाशित गर्ने पक्षमा नरहेको स्रोतले बतायो।
‘उहाँले पार्टीको ह्विप उल्लंघन गरेको, भ्रष्टाचार गरेको देखिँदैन,’ सभामुख निकट स्रोतले भन्यो, ‘उहाँहरूले पहिला दुई पटक लाभलाई सांसदबाट हटाउन खोज्नुभयो। अहिले पनि पुरानै आरोपमा निकाल्न खोजिएको छ। प्रथम दृष्टिमा नै यो बदनीयतपूर्ण देखिन्छ।’
सभामुख घिमिरेलाई जनमत पार्टीका अध्यक्ष सिके राउतले भेटेरै न्यायाधीश नबन्न चेतावनी दिएका छन्।
उनले सभामुखको भूमिका सूचना टाँस गर्ने मात्र भएको उल्लेख गर्दै न्यायालयको काम नगर्न भनेका थिए। जबाफमा सभामुख घिमिरेले ‘न्याय दिने ठाउँ सभामुख नभएको, भए किन आएको त?’ भन्दै प्रश्न सोधेका थिए।
पार्टी अध्यक्ष राउतले प्रधानमन्त्रीले फोन गर्दा सभामुखले ५ मिनेटमा काम गर्ने गरेको भन्दै आफ्नो पार्टी मधेस केन्द्रित भएकै कारण काम रोकिएको बताएका थिए।
सम्बन्धित समाचार