राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सहकारीको रकम अपचलनको आरोपमा प्रहरीले अनुसन्धान अघि बढाएपछि देशभर धेरैको ध्यान उनमा केन्द्रित छ।
सहकारीको रकम अपचलनमा प्रहरीले अनुसन्धान गरिरहेका राजनीतिकर्मीमध्ये सबैभन्दा धैरै ‘हाइप्रोफाइल’ लामिछानेनै हुन्, त्यसैले स्वभाविक रूपमा धेरैको ध्यान उनमा गएको छ।
तर अरू दलका नेता तथा कार्यकर्ता पनि सहकारी अपचलनमा प्रहरी हिरासत र थुनामा छन्।
सत्तारूढ नेपाली कांग्रेस र नेकपा (एमाले) कै कतिपय नेताहरू पनि २० अर्बभन्दा बढीको सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि थुनामा छन्।
एमालेबाट सांसद भइसकेका इच्छाराज तामाङ सिभिल सहकारी ठगी प्रकरणमा डिल्लीबजार कारागारमा छन्। उनी २०६७ सालदेखि २०७७ सालसम्म उक्त सहकारीका अध्यक्ष थिए।
सिभिल सहकारीलाई बागमती प्रदेश सरकारले समस्याग्रस्त घोषणा गरेको छ। उक्त सहकारीबाट तामाङ नेतृत्वको सिभिल समूहका तीन वटा कम्पनीलाई ७ अर्ब ४३ करोड ७३ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ। जबकि सिभिल सहकारीमा बचतकर्ताको ६ अर्ब बराबर रकम रहेको छ।
एमालेकै सहकारी विभाग सचिव भइसकेका कृष्णबहादुर उप्रेती (केबी उप्रेती) सहकारी ठगीको आरोपमा डिल्लीबजारमा थुनामा छन्। उनी आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारीको रकम अपचलनमा मुछिएका छन्। उक्त सहकारी आंशिक खुला छ भने सेवा केन्द्रहरू बन्द गरिएका छन्। संस्थामा ६ अर्ब २६ करोड बचत छ। कर्जा तथा पेश्की ६ अर्ब ८६ करोड छ।
संसदीय छानबिन समितिले किटानका साथ उक्त सहकारी केबी उप्रेतीको एकल निर्णय र गलत अभ्यासले समस्याग्रस्त बनेको लेखेको छ।
‘सहकारी नोक्सानीमा हुँदा पनि बोनस दिने, गैरबैंकिङ सम्पत्ति संस्थाको नाममा नल्याइ सञ्चालक र व्यवस्थापनको नाममा पास गर्ने र सञ्चालकनै ऋण नतिर्ने जस्तो कैफियत हुँदासमेत सहकारी अभियानको नेतृत्व गर्ने उप्रेतीले त्यसलाई प्रोत्साहन गर्दै गए’, समितिको प्रतिवेदनमा लेखिएको छ, ‘आफै अध्यक्ष रहेको सहकारी बैंकबाट संस्थामा ऋण दिलाउने काम गरे।’
त्यस्तै कांग्रेसको प्रदेश सभा निर्वाचन लडेका चन्द्रबहादुर तामाङ (सिबी लामा) मा पनि कान्तिपुर सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ ठगीको आरोपमा थुनामा छन्। उनलाई जगन्नाथदेवल कारागारमा राखिएको छ। उनी २०७४ र २०७९ मा काभ्रे १ (क) बाट उम्मेदवार बनेका थिए।
‘सञ्चालक समिति र सिबी लामाले मिलेर जग्गामा लगानी गर्ने र सञ्चालक तथा आफन्तको नाममा पास गर्ने काम गरे’, सहकारी छानबिन समितिको प्रतिवेदनमा भनिएको छ।
कान्तिपुर सेभिङ एण्ड सहकारी समस्याग्रस्त घोषणा हुँदा भने लामा हटेर हिमालयविक्रम मल्ल ठकुरी अध्यक्ष भइसकेका थिए। हिमालयबिक्रम पनि डिल्लीबजार कारागारमा छन्। उक्त सहकारीमा सर्वसाधारणको ७ अर्ब ९७ करोड बचत रहेको थियो। समस्याग्रस्त भएपछि ६ अर्ब ७८ करोडको मागदाबी बचतकर्ताले गरेका छन्।
कान्तिपुर सेभिङ एण्ड क्रेडिट सहकारीबाट सिबी तामाङले मात्र विभिन्न व्यक्ति र आफन्तको नाममा एक अर्ब ४५ करोड बराबरको गरेको ऋण लिएका छन्।
सहकारी ठगीमै एमाले नेता तथा बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली थुनामा छन्। उनीमाथि इमेज बचत तथा ऋण सहकारी संस्थाको पैसा अपचलन गरेको आरोप छ। उनी कास्की कारागारमा छन्।
संसदीय छानबिन समितिको प्रतिवेदनमा मेयर नेपालीले बचकर्तालाई विभिन्न प्रलोभन देखाउँदै कर्मचारीमार्फत् निजी व्यवसाय र घरजग्गामा सहकारीको पैसा लगानी गरेको उल्लेख छ। इमेज सहकारीमा सर्वसाधारणको ४० करोड १९ लाख बचत छ। जसमध्ये २७ करोड ७६ लाख कर्जा लगानी गरिएको छ।
छानबिन समितिको प्रतिवेदनअनुसार सहकारीले गैरसदस्यलाई ऋण दिएको छ। बिनाधितो ऋण प्रवाह भएको छ। कानुनविपरीत कम्पनीलाई पनि ऋण दिइएको छ। त्यस्तै ब्याज असुल नगरी पुँजीकृत गर्ने काम गरेको छ।
संसदीय छानबिन समितिले सहकारी ठगीको विषयमा छानबिनको क्रममा ठगी प्रकरणमा थुनामा रहेका १८ जनाको बयान लिएको थियो। बयान लिएका कतिपय व्यक्ति दलको राजनीतिक नेतृत्वमा नभए पनि दलनजिक थिए।
सहकारी अपचलनसम्बन्धी छानबिन गर्न बनेको संसदीय विशेष समितिका सभापति सूर्य थापाका अनुसार कतिपय राजनीतिक दलका नेताहरू सहकारीको सञ्चालक समितिमा प्रत्यक्ष रूपमा संलग्न नभएका कारण वा सहकारीको पैसा लैजाने कम्पनीको नेतृत्वमा नभएका कारण अपचलनमा पक्राउ नपरेका हुन्।
तर अहिले पक्राउ परेका अरू कतिपय मानिसहरू पनि विभिन्न दलनिकट रहेको थापाले बताए। उनकाअनुसार हाल थुनामा रहेका सुप्रिम सहकारीका अध्यक्ष ओमप्रकाश गुरूङ एमालेनिकट हुन्।
आर्जन बचत तथा ऋण सहकारी संस्थाका दलबहादुर आले एमालेनिकट हुन्। त्यस्तै सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था पोखराका शिवबहादुर गुरूङ एमालेको युवा संगठनका पदाधिकारी थिए।
केही समय अघिमात्र धरौटीमा छुटेका लालीगुराँस बहुउद्देशीय सहकारीका सचिव सुरेन्द्र भण्डारी कांग्रेसको सहकारी विभागका पूर्वसचिव हुन्।
त्यस्तै सुप्रिम बचत तथा ऋण सहकारीका पूर्वसचिव दिपेश पुन पनि धरौटीमा छुटेका छन्। उनी पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा हुन् भने माओवादी केन्द्रको विद्यार्थी भातृ संगठनको अध्यक्षको दाबेदार छन्।
‘दलका कतिपय नेताहरूले सहकारी छाडेर गएका छन्’, थापाले भने, ‘त्यही भएर नेताभन्दा पनि दलनिकटका व्यक्तिहरूनै धेरै पक्राउ परेका छन्।’
मानिसहरूको ध्यान आफ्ना सभापति लामिछानेमाथि मात्रै केन्द्रित रहँदा रास्वापाले उनीमाथि राजनीतिक प्रतिशोध राखेको आरोप लगाएको छ। तर सत्तारूढ दलकै धेरै नेता कार्यकर्ता सहकारी अपचलनमा प्रहरी नियन्त्रणामा छन् र कतिपय फरार छन्।