नेकपा (एमाले) निकट युवा विद्यार्थी विशेष जिल्ला कमिटीको पाँचौं अधिवेशन बुधबारबाट सुरू हुँदैछ।
बिहीबारसम्म चल्ने अधिवेशनको उद्घाटन पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो २ बजे पार्टी महासचिव शंकर पोखरेलले गर्नेछन्।
अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ।
युवा संघ, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनमा आबद्ध भई पार्टी सदस्यता लिएकाहरू यो कमिटीका सदस्य हुनेछन्।
युवा विद्यार्थी विशेष जिल्ला कमिटीमा १ हजार ७ सय ६४ सदस्य छन्।
आगामी नेतृत्वका लागि वर्तमान अध्यक्ष रामजी सापकोटा र सुदर्शन शिवाकोटीले आकांक्षा देखाएका छन्। सापकोटा युवा संघको उपाध्यक्ष हुँदै युवा विद्यार्थी विशेष जिल्ला कमिटीमा आएका हुन्।
शिवाकोटी अनेरास्ववियुको उपमहासचिव थिए। महासचिवमा पराजित भएका हुन्। शिवाकोटी युवा विद्यार्थी विशेष जिल्ला कमिटीमा अहिले उपाध्यक्ष छन्।
एमालेमा ७७ वटा भूगोल र ४ वटा गैरभूगोल जिल्ला कमिटी छ।
त्यसमध्ये इलाम, मोरङ, तेह्रथुम, धनुषा, सिराहा, सप्तरी, डोटी, अछाम, बझाङ जिल्ला कमिटीको अधिवेशन हुन बाँकी छ।
मनाङको केही दिनअघि अधिवेशन भइसकेको छ। डोल्पाको मंगलबारबाट अधिवेशन सुरू भएको छ। युवा विद्यार्थीको अधिवेशन बुधबारबाट आरम्भ हुँदैछ।
उद्योग व्यवसाय विशेष जिल्ला कमिटीको पनि अधिवेशनको मिति तोक्न बाँकी छ। बाँकी रहेको जिल्ला कमिटीको अधिवेशन मंसिर मसान्तभित्र गरिसक्न परिपत्र गरिएको एमाले निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले जानकारी दिए।